36तिम्रा पिता कृपालु हुनुभएझैँ तिमी पनि कृपालु होऊ ।
37कसैको न्याय नगर र तिम्रो न्याय गरिनेछैन । दोष नलगाऊ र तिमी दोषी ठहरिनेछैनौ; अरूलाई क्षमा देऊ र तिमीलाई पनि क्षमा गरिनेछ ।
38अरूहरूलाई देऊ र तिमीहरूलाई पनि दिइनेछ । प्रशस्त परिमाणमा खाँदी-खाँदी, हल्लाई-हल्लाई पोखिने गरी, तिनीहरूले तिमीहरूका पोल्टामा खन्याउनेछन् । जुन नापले तिमीहरू नाप्तछौ, त्यहीँ नापले तिमीहरू पनि नापिनेछौ ।”
39त्यसपछि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो, “के एक जना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्याउन सक्छ ? त्यसो गरे दुवै जना खाल्डोमा पर्दैनन् र ?
40एउटा चेला आफ्नो गुरुभन्दा महान् हुन सक्दैन । तर हेरक जसले तालिम प्राप्त गर्छ, तब ऊ आफ्नो गुरुजस्तै हुनेछ ।
41तिमीले तिम्रो भाइको आँखामा मात्र किन सानो कसिङ्गर देख्तछौ तर आफ्नै आँखामा भएको मुढाचाहिँ किन देख्दैनौ ?
42कसरी तिमीले आफ्नो भाइलाई भन्न सक्छौ, भाइ मलाई तिम्रा आँखामा भएको कसिङ्गर निकाल्न देऊ जब कि तिमीले आफ्नै आँखामा भएको मुढा देख्दैनौ ? हे पाखण्डी हो ! पहिले तिम्रा आँखाबाट मुढा निकाल तब तिमीले तिम्रो भाइको आँखामा भएको कसिङ्गर निकाल्न स्पष्टसँग देख्नेछौ ।
43किनकि कुनै असल रुखले कुहिएको फल फलाउँदैन, न त कुहिएको रुखले असल फल फलाउन सक्छ ।
44किनभने प्रत्येक रुख त्यसको फलले नै चिनिन्छ । किनकि काँडाको रुखबाट कसैले अञ्जीर बटुल्न सक्दैन, न त काँडे झाडीबाट अङ्गुर बटुल्न सक्छ ।
45असल मान्छेले आफ्नो हृदयको भण्डारबाट असल कुरा निकाल्छ र खराब मान्छेले आफ्नो हृदयको भण्डारबाट खराब कुरा नै निकाल्दछ । किनकि उसले आफ्नो हृदयको प्रशस्तबाट त्यही बोल्दछ र जे भण्डार गरी राखेको छ, त्यहीँ निकाल्छ ।
46तिमीहरू मलाई किन “प्रभु, प्रभु” भन्दछौ, जब कि मैले भनेका कुराहरूचाहिँ तिमीहरूले पालना गर्दैनौ ?