2विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो ।
3जब दाखमद्य सकियो, येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन ।”
4येशूले जवाफ दिनुभयो, “हे नारी, तपाईं किन मकहाँ आउनुहुन्छ ? मेरो समय अझ आइसकेको छैन ।”
5उहाँकी आमाले नोकरहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे गर भन्नुहुन्छ, त्यही गर” ।
6त्यहाँ यहूदी विधिअनुसार शुद्धिकरणको लागि हरेकमा झण्डै एक सय लिटर अटाउने छ वटा ढुङ्गाका भाँडाहरू थिए ।
7येशूले तिनीहरूलाई भन्नुभयो, “भाँडाहरूमा पानी भर ।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए ।
8तब उहाँले नोकरहरूलाई भन्नुभयो, “अब अलिकति लगेर मुख्य व्यक्तिलाई देऊ” । तिनीहरूले त्यसै गरे ।
9मुख्य व्यक्तिले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्ने उनलाई थाहा थिएन (तर पानी भर्ने नोकरहरूलाई थाहा थियो) । तब उनले दुलहालाई बोलाए
10र तिनलाई भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र उनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन् । तर तिमीले त असल दखमद्य अझसम्म राखेका छौ ।”
11गालीलको कानामा येशूले गर्नुभएको यो पहिलो चिह्न थियो, र उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि त्यसैले उहाँका चेलाहरूले उहाँलाई विश्वास गरे ।
12यसपछि येशू, उहाँकी आमा, उहाँका भाइहरू, उहाँका चेलाहरू कर्फनहुममा झरे, र त्यहाँ उनीहरू केही दिनसम्म बसे ।
13यहूदीहरूको निस्तार-चाड आउन लागेको थियो, र येशू यरूशलेम जानुभयो ।
14उहाँले त्यहाँ गोरुहरू, भेडाहरू र परेवाहरू बेच्नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू पनि त्यहाँ बसिरहेका थिए ।
15त्यसकारण, उहाँले डोरीको कोर्रा बनाएर भेडाहरू र गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो । उहाँले पैसा साट्नेहरूको पैसा छरपष्ट पारिदिनुभयो र तिनीहरूका टेबलहरू पल्टाइदिनुभयो ।
16परेवा बेच्नेहरूलाई उहाँले भन्नुभयो, “यिनीहरूलाई यहाँबाट लैजाओ । मेरा पिताको घरलाई बजार बनाउन छोड ।”
17उहाँका चेलाहरूले यस्तो लेखिएको कुरा सम्झे, “तपाईंको घरको जोसले मलाई जलाउँछ ।”
18तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए, र यसो भने, “तिमीले यी कुराहरू गरिरहेका हुनाले तिमीले हामीलाई के चिह्न देखाउँछौ ?”