13तर म तिमीहरूलाई यो भन्छु, कि एलिया आइसकेका छन्, र वचनमा तिनको बारेमा लेखिएअनुसार तिनीहरूले एलियालाई जे चाहे त्यही गरे ।”
14जब उहाँ चेलाहरूकहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि ठुलो भिड देख्नुभयो, र शास्त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए ।
15जब तिनीहरूले उहाँलाई देखे, सबै भिड छक्क परे र सबै उहाँलाई अभिवादन गर्न दौडेर गए ।
16उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ ?”
17भिडमध्येका कसैले उहाँलाई जवाफ दियो, “गुरुज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएँ । त्यसलाई भूत लागेको छ जसले त्यसलाई बोल्न दिँदैन,
18र यसले यसलाई पक्रन्छ, पछार्छ मुखमा फिँज काढ्छ र दाह्रा किट्छ र अरट्ठ पर्छ । मैले तपाईंका चेलाहरूलाई यसलाई निकाल्नलाई बिन्ती गरेँ, तर तिनीहरूले निकाल्न सकेनन् ।”
19उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “हे अविश्वासी पुस्ता हो, कति समयसम्म म तिमीहरूसँग बस्नुपर्नेछ ? कति समयसम्म म तिमीहरूलाई सहनु ? त्यसलाई मकहाँ ल्याओ ।”
20तिनीहरूले त्यस केटोलाई उहाँकहाँ ल्याए । जब दुष्ट आत्माले येशूलाई देख्यो, त्यो आत्माले त्यस केटोलाई जोरले काम्न लगायो । त्यो केटो भुइँमा लड्यो र मुखमा फिँज काढ्यो ।
21येशूले त्यसको बुबालाई सोध्नुभयो, “यस्तो भएको कति भयो ?” बुबाले भने, “बाल्यकालदेखि नै हो ।
22यसले उसलाई प्रायः आगो वा पानीमा फ्याँकेको छ र उसलाई मार्न खोज्थ्यो । यदि तपाईंले कुनै कुरा गर्न सक्नुहुन्छ भने हामीमाथि दया देखाउनुहोस् र सहायता गर्नुहोस् ।”
23येशूले तिनलाई भन्नुभयो, “‘यदि तपाईंले गर्न सक्नुहुन्छ भने’ ? विश्वास गर्नेको निम्ति सबै कुरा सम्भव छ ।”
24तुरुन्तै त्यस बालकको बुबा चिच्च्याए र भने, “म विश्वास गर्छु ! मेरो अविश्वासमा सहायता गर्नुहोस् ।”
25जब येशूले भिड दौडदै उहाँहरूतिर आइरहेको देख्नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई हप्काउनुभयो र भन्नुभयो, “तँ गुँगा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर ।”
26यो चिच्च्यायो र डरलाग्दो गरी लछारपछार गर्यो अनि निस्क्यो । त्यो केटा मरेकोजस्तै देखियो । त्यसैले, धेरैले भने, “ऊ मर्यो ।”
27तर येशूले त्यस केटालाई हातले समातेर उठाउनुभयो, र त्यो केटा उभियो ।
28जब येशू घरभित्र पस्नुभयो, चेलाहरूले उहाँलाई गुप्तमा सोधे, “हामीले यसलाई किन निकाल्न सकेनौँ ?”
29उहाँले तिनीहरूलाई भन्नुभयो, “यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्न सकिँदैन ।”
30उहाँहरू त्यहाँबाट जानुभयो र गालील हुँदै जानुभयो । उहाँहरू कहाँ हुनुहुन्छ कसैलाई थाहा नहोस् भन्ने उहाँले चाहनुभयो,
31किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनुभएको थियो । उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछ र तिनीहरूले उसलाई मार्नेछन् । जब उसलाई मारिनेछ त्यसको तिन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ ।”
32तर तिनीहरूले यो भनाइलाई बुझेनन् र उहाँलाई सोध्न तिनीहरू डराए ।
33अनि उहाँहरू कफर्नहुममा आइपुग्नुभयो । जब उहाँ घरमा हुनुहुन्थ्यो उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ ?”
34तर सबै चुपचाप भए । किनभने तिनीहरूले “कोचाहिँ सबैभन्दा ठुलो हो” भनी बहस गरिरहेका थिए ।
35उहाँ बस्नुभयो र बाह्र जनालाई बोलाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने त्यो सबैभन्दा अन्तिम र सबैको दास हुनुपर्छ ।”
36उहाँले एउटा सानो बालकलाई लिएर तिनीहरूका माझमा राख्नुभयो । उहाँले त्यसलाई हातमा लिनुभयो र तिनीहरूलाई भन्नुभयो,