Text copied!
CopyCompare
पवित्र बाइबल - मर्कूस

मर्कूस 1

Help us?
Click on verse(s) to share them!
1यो परमेश्‍वरको पुत्र प्रभु येशू ख्रीष्‍टको सुसमाचारको सुरुवात हो ।
2जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरा समाचारवाहकलाई तिम्रोअगि पठाउँदै छु, जसले तिम्रो बाटो तयार पार्नेछ ।”
3“उजाड-स्थानमा कोही बोलाउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका बाटाहरू सिधा बनाओ’ ।”
4यूहन्‍ना उजाड-स्थानमा बप्‍तिस्मा दिँदै र पाप-क्षमाको निम्ति पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए ।
5यहूदियाको पुरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए । तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्मा लिए ।
6यूहन्‍नाले ऊँटको रौँबाट बनेको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्‍थे र तिनले सलहहरू र वन मह खान्थे ।
7उनले प्रचार गरे र भने, “मपछि कोही आउँदै हुनुहुन्छ जो मभन्दा शक्‍तिशाली हुनुहन्छ, र म त उहाँको चप्पलको फित्ता फुकाल्न निहुरन योग्य पनि छैन ।
8मैले तिमीहरूलाई पानीले बप्‍तिस्मा दिएँ, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ ।”
9ती दिनहरूमा यसो भयो, कि येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिनुभयो ।
10जसै येशू पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आइरहनुभएको देख्‍नुभयो ।
11अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ । तिमीसँग म अति प्रसन्‍न छु ।”
12त्यसपछि पवित्र आत्माले उहाँलाई उजाड-स्थानमा जान बाध्य गराउनुभयो ।
13उहाँ शैतानद्वारा परीक्षित हुँदै चालिस दिनसम्म उजाड-स्थानमा रहनुभयो । उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवा गरे ।
14अब यूहन्‍ना पक्राउ परेपछि परमेश्‍वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो ।
15र भन्‍नुभयो, “समय पुरा भएको छ, र परमेश्‍वरको राज्य नजिकै छ । पश्‍चात्ताप गर र सुसमाचारमा विश्‍वास गर ।
16गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्‍नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए ।
17येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।”
18तुरुन्तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे ।

19जसै येशू हिँडेर अलि अगाडि पुग्‍नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र उनका भाइ यूहन्‍नालाई देख्‍नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए ।
20उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले तिनीहरूको पितालाई भाडाका नोकरहरूसँग डुङ्गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे ।
21र उहाँहरू कफर्नहुममा आउनुभयो, अनि शबाथ-दिनमा येशू सभाघरमा जानुभयो र शिक्षा दिनुभयो ।
22तिनीहरू उहाँको शिक्षामा छक्‍क परे, किनकि उहाँले तिनीहरूलाई शास्‍त्रीहरूले जस्तो होइन, तर अधिकार भएको व्यक्‍तिले जस्तै सिकाइरहनुभएको थियो ।
23त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो । त्यो चिच्‍च्यायो र
24भन्‍यो, “हे नासरतका येशू, तपाईंसँग हाम्रो के सरोकार ? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो ? तपाईं को हुनुहुन्छ भनी म चिन्छु । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ ।”
25येशूले भूतलाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग्, र त्यसबाट निस्की आइज !”
26अनि अशुद्ध आत्माले त्यसलाई पछार्‍यो, र त्यो अशुद्ध आत्मा ठुलो स्वरमा चिच्‍च्याउँदै त्यसबाट निस्कियो ।
27अनि सबै मानिस छक्‍क परेर एक आपसमा भन्‍न लागे, “यो के हो ? अधिकारसहितको एउटा नयाँ शिक्षा ! उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्छ र तिनीहरूले उहाँको आज्ञा मान्छन् !”
28उहाँको बारेमा भएको समाचार तुरुन्तै गालीलका सबै क्षेत्रमा जताततै फैलियो ।
29सभाघरबाट बाहिर निस्‍कनुभएपछि उहाँहरू याकूब र यूहन्‍नासँगै सिमोन र अन्द्रियासको घरमा जानुभयो ।
30अब सिमोनकी सासू जरो आएर सुतिरहेकी थिइन् । तिनीहरूले तिनको विषयमा येशूलाई बताए ।
31यसकारण, उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो; जरोले तिनलाई छोडिहाल्यो, र तिनले उहाँहरूको सेवा गर्न थालिन् ।
32त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका र बिरामी भएका सबैलाई उहाँकहाँ ल्याए ।
33सारा सहर नै त्यो घरको ढोकामा भेला भए ।
34उहाँले विभिन्‍न प्रकारका रोगी र बिमारीहरूलाई निको पार्नुभयो र धेरै भूत निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे ।
35उहाँ बिहान सबेरै अँध्यारो हुँदा नै उठ्नुभयो; र उहाँ एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो ।
36सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे ।

37तिनीहरूले उहाँलाई भेट्टाए र भने, “सबैले तपाईंलाई खोजिरहेका छन् ।”
38उहाँले भन्‍नुभयो, “हामी कतै वरिपरि सहरहरूमा जाऔँ, ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ । त्यसैको लागि म यहाँ आएँ ।
39उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो ।
40एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो । त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो; त्यसले घुँडा टेक्‍यो र उहाँलाई भन्यो, “यदि तपाईंले चाहनुभयो भने, तपाईंले मलाई शुद्ध गर्न सक्‍नुहुन्छ ।”
41येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो, अनि भन्‍नुभयो, “म चाहन्छु । तिमी शुद्ध होइजाऊ ।”
42तुरुन्तै कुष्‍ठ रोगले त्यसलाई छोड्‍यो र त्यो शुद्ध भयो ।
43येशूले त्यसलाई कडाइका साथ चेतावनी दिनुभयो र त्यसलाई पठाउनुभयो ।
44उहाँले त्यसलाई भन्‍नुभयो, “कसैलाई केही नभन, तर जाऊ र पुजारीकहाँ आफैँलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम तिनीहरूलाई गवाहीको रूपमा तिम्रो शुद्धिकरणको निम्ति बलि चढाऊ ।”
45तर त्यो व्‍यक्‍ति गयो र सबैलाई भन्‍न थाल्यो अनि कुरा यति धेरै फैलियो, कि येशू कुनै पनि सहरमा खुलमखुला जान सक्‍नुभएन । यसकारण, उहाँ एकान्त ठाउँहरूमा बस्‍नुभयो, र मानिसहरू उहाँकहाँ आए ।