1जब येशू डाँडाबाट तल ओर्लनुभएको थियो, ठुलो भिडले उहाँलाई पछ्यायो ।
2हेर, एक जना कुष्ठरोगी उहाँको नजिक आयो र उहाँको अगि घोप्टो पर्यो, र भन्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने, मलाई शुद्ध पार्न सक्नुहुन्छ ।”
3येशूले आफ्नो हात पसार्नुभयो र उसलाई छुनुभयो, र भन्नुभयो, “म चाहन्छु । तिमी शुद्ध होऊ ।” तब तुरून्तै आफ्नो कुष्ठरोगबाट ऊ शुद्ध भयो ।
4येशूले उसलाई भन्नुभयो, “हेर, कुनै पनि मानिसलाई केही नभन्नू । आफ्नो बाटो लाग; आफैँलाई पुजारीकहाँ प्रकट गराऊ र तिनीहरूको अगि गवाही होस् भनेर मोशाले आज्ञा गरेअनुसार भेटी चढाऊ ।”
5जब येशू कर्फनहुममा प्रवेश गर्नुभएको थियो, एक जना कप्तान उहाँकहाँ आएर उहाँलाई सोधे,
6“हे प्रभु, मेरो एक जना नोकर पक्षाघातले ग्रसित भएर घरमा पल्टिरहेको छ र ऊ भयानक पीडामा छ ।”
7येशूले तिनलाई भन्नुभयो, “म आएर उसलाई निको पार्नेछु ।”
8कप्तानले जवाफ दिए र भने, “प्रभु, तपाईं मेरो घरको छानामुनि आउनको निम्ति म योग्यको छैनँ । तपाईंले केवल वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ ।
9किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु, र मेरो मुनि पनि सिपाहीहरू छन् । म एक जनालाई ‘जाऊ’ भन्छु र ऊ जान्छ, र अर्कोलाई ‘आऊ’ भन्छु र ऊ आउँछ, अनि मेरो नोकरलाई ‘त्यो गर’ भन्छु र उसले त्यो गर्छ ।”
10जब येशूले यो सुन्नुभयो, उहाँ छक्क पर्नुभयो र उहाँलाई पछ्याउनेहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, इस्राएलमा पनि मैले यस्तो विश्वास भएको कोही पाएको थिइनँ ।
11म तिमीहरूलाई भन्छु, धेरै जना पूर्व र पश्चिमबाट आउनेछन्, अनि तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग स्वर्गीय राज्यको भोजमा बस्नेछन् ।
12तर राज्यका छोराहरू बाहिर अन्धकारमा फालिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।”
13येशूले त्यस कप्तानलाई भन्नुभयो, “जाऊ । तिमीले विश्वास गरेजस्तै तिम्रो निम्ति गरियोस् ।” अनि त्यही घडी तिनको नोकर निको भयो ।
14जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्वरोले बिरामी भई थला परिरहेकी देख्नुभयो ।
15येशूले तिनको हातमा छुनुभयो, अनि ज्वरोले तिनलाई छोड्यो । त्यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन् ।
16जब साँझ पर्यो, मानिसहरूले भूतात्मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्याए । उहाँले एउटै वचनबाट भूतात्माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो ।
17यसरी यशैया अगमवक्ताद्वारा भनिएको यस्तो वचन पुरा भयो, “उहाँ आफैँले नै हाम्रा बिमारीहरू लिनुभयो र हाम्रा रोगहरू वहन गर्नुभयो ।”
18जब येशूले भिडलाई आफ्नो वरिपरि देख्नुभयो, उहाँले गालील समुद्रको अर्कोपट्टि जानको निम्ति निर्देशन दिनुभयो ।
19त्यसपछि एक जना शास्त्री आएर उहाँलाई भने, “गुरुज्यू, तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई त्यहीँ पछ्याउनेछु ।”
20येशूले तिनलाई भन्नुभयो, “स्यालहरूका दुला छन्, र आकाशका चराचुरूङ्गीहरूका गुँडहरू छन्, तर मानिसका पुत्रको त आफ्नो शिर राख्ने ठाउँ कहीँ छैन ।”
21चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, पहिले मलाई गएर मेरो बुबालाई गाड्न दिनुहोस् ।”
22तर येशूले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ, र मुर्दाले नै मुर्दालाई गाड्न छोडिदेऊ ।”
23जब येशू डुङ्गामा चढ्नुभएको थियो, उहाँका चेलाहरूले पनि उहाँलाई भित्रसम्म पछ्याए ।
24हेर, समुद्रमा प्रचण्ड आँधीबेहरी चल्यो, अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो । तर येशू सुतिरहनुभएको थियो ।
25चेलाहरू उहाँकहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्, हामी मर्नै लागेका छौँ !”
26येशूले तिनीहरूलाई भन्नुभयो, “ए अल्पविश्वासीहरू, तिमीहरू किन डराउँछौँ ?” त्यसपछि उहाँ उठ्नुभयो अनि आँधी र समुद्रलाई हकार्नुभयो । त्यसपछि त्यहाँ पुरै शान्ति छायो ।
27ती मानिसहरू छक्क परे र भने, “उहाँ कस्तो मानिस हुनुहुन्छ, कि समुद्र र आँधीले पनि उहाँको आज्ञा मान्छन् ?”
28जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभएको थियो, दुई जना भूतात्मा लागेका मानिसले उहाँलाई भेटे । तिनीहरू चिहानबाट निस्केर आइरहेका थिए र धेरै हिंसात्मक थिए । त्यसकारण, त्यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो ।
29हेर, तिनीहरूले ठुलो स्वरले कराए र भने, “हे परमेश्वरका पुत्र, तपाईंसँग हाम्रो के सरोकार ? के तोकिएको समयभन्दा पहिले नै तपाईं यहाँ हामीलाई दुःख दिन आउनुभएको हो ?
30त्यहाँ नजिकै धेरै सुँगुरहरूको एउटा बथान चरिरहेको थियो ।
31ती भूतात्माहरूले उहाँलाई बिन्ती गरिरहे र भने, “यदि तपाईंले हामीलाई बाहिर निकाल्नुहुन्छ भने, हामीलाई सुँगुरहरूको बथानमा पठाइदिनुहोस् ।”
32येशूले तिनीहरूलाई भन्नुभयो, “जा !” ती भूतात्माहरू बाहिर निस्के र सुँगुरहरूभित्र पसे । अनि हेर, सबै सुँगुर त्यो भिरालो पहाडको तल दौडे र समुद्रमा खसे अनि तिनीहरू पानीमा डुबेर मरे ।
33सुँगुरहरू चराइरहेका मानिसहरू त्यहाँबाट दौडेर गए । अनि जब तिनीहरू सहरमा गए, तिनीहरूले सबै कुरा बताइदिए, र विशेष गरी भूतात्मा लागेका मानिसहरूलाई के भएको थियो सो बताइदिए ।
34हेर, पुरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्यहाँबाट जान अनुरोध गरे ।