Text copied!
CopyCompare
पवित्र बाइबल - मत्ती

मत्ती 25

Help us?
Click on verse(s) to share them!
1तब स्‍वर्गको राज्‍य ती दस कन्‍याजस्‍तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्‌न गए ।
2तिनीहरूमध्ये पाँच जना निर्बुद्धि र पाँच जना बुद्धिमती थिए ।
3किनकि जब ती निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरू लिए, तिनीहरूले आफूसँग कत्ति पनि तेल लगेनन् ।
4तर बुद्धिमती कन्‍याहरू प्रत्‍येकले बत्तीहरूसँगै आ-आफ्ना तेलका भाँडाहरू पनि लगे ।
5दुलहा आउन ढिला भएको हुनाले तिनीहरू सबै निन्‍द्रामा परे र सुते ।
6तर मध्‍यरातमा एउटा आवाज आयो, ‘हेर, दुलहा ! बाहिर जाऊ अनि उनलाई भेट ।’
7त्‍यसपछि ती सबै कन्‍या उठे र आ-आफ्ना बत्तीहरूलाई ठिक्‍क पारे ।
8निर्बुद्धि कन्‍याहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका केही तेल देऊ किनभने हाम्रा बत्तीहरू निभ्‍न लागेका छन् ।’
9तर बुद्धिमती कन्‍याहरूले जवाफ दिए र भने, ‘तिमीहरू र हामी दुवैलाई प्रशस्‍त पुग्‍ने तेल नभएकोले, तेल बेच्नेहरूकहाँ जाओ र आफ्नो लागि तेल किन ।’
10जब तिनीहरू तेल किन्‍न बाहिर गए, दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए, अनि ढोका बन्‍द गरियो ।
11केही समयपछि अरू कन्‍याहरू पनि आएर भने, ‘प्रभु, प्रभु, हाम्रो लागि खोलिदिनुहोस्‌ ।’
12तर उनले जवाफ दिएर भने, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, म तिमीहरूलाई चिन्‍दिनँ ।’
13त्‍यसकारण, जागा रहो, किनकि त्‍यो दिन वा घडी तिमीहरूलाई थाहा छैन ।
14किनकि यो परदेश जानै लागेको मानिसजस्‍तै हो । उसले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्‍पत्तिको जिम्‍मा दिए ।
15उनले तिनीहरूमध्ये एक जनालाई पाँच सिक्‍का दिए; अर्कोलाई दुई सिक्‍का र फेरि अर्कोलाई उनले एक सिक्‍का दिए । प्रत्‍यकले आफ्नो क्षमताअनुसार ती रकमहरू लिए, अनि त्‍यो मानिस तुरुन्तै आफ्नो यात्रामा हिँड्यो ।
16पाँच सिक्‍का पाउने तुरुन्तै गयो र उसले त्यसलाई लगानी गर्‍यो, र त्‍यसबाट अर्को पाँच सिक्‍का कमायो ।
17त्यसै गरी, जसले दुई सिक्‍का पाएको थियो, उसले पनि त्‍यसबाट अर्का दुई सिक्‍का कमायो ।
18तर एउटा मात्र सिक्‍का पाएको नोकर गयो र उसले एउटा खाल्डो खन्यो, र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो ।

19अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए ।
20पाँच सिक्‍का पाएको नोकर आयो र उसले अर्को पाँचवटा सिक्‍का ल्यायो । उसले भन्यो, ‘मालिक, तपाईंले मलाई पाँचवटा सिक्‍का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्का पाँचवटा सिक्‍का कमाएको छु ।’
21उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर ! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’
22दुईवटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मालिक तपाईंले मलाई दुईवटा सिक्‍का दिनुभएको थियो । हेर्नुहोस्‌, मैले अर्का दुईवटा सिक्‍का कमाएको छु ।’
23उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर ! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल होऊ ।’
24त्यसपछि एउटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मलाई थाहा छ, कि तपाईं कडा स्‍वभावको मानिस हुनुहुन्‍छ । तपाईंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ ।
25मलाई डर थियो । त्‍यसकारण, म गएँ र तपाईंको सिक्‍कालाई जमिनमुनि लुकाइराखेँ । ‘हेर्नुहोस्, जे तपाईंको हो यसलाई लिनुहोस् ।’
26तर उसको मालिकले जवाफ दिए र भने, ‘ए दुष्‍ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो ।
27त्यसकारण, तैँले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो, र म आउँदा मैले आफ्नो पैसा ब्‍याजसहित पाउने थिएँ ।
28त्‍यसकारण, त्योसँग भएको एक सिक्‍का लेओ र जुन नोकरसँग दस सिक्‍का छ त्‍यसलाई देओ ।
29किनकि जससँग छ त्‍यसलाई अझ धेरै दिइनेछ अर्थात् अझ प्रशस्त गरी दिइनेछ । तर जससँग छैन, त्‍यससँग भएको पनि त्यसबाट खोसिनेछ ।
30त्यो बेकम्मा नोकरलाई बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’
31जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्‍वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् ।
32उनको सामुन्‍ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ, त्‍यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन् ।
33उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि र बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्‍नेछन् ।
34त्‍यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्‍टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्‍यलाई अधिकार गर ।
35किनकि म भोकाएको थिएँ, अनि तिमीहरूले मलाई खान दियौ; म प्यासी थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ;
36म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्‍ता गर्‍यौ; म झ्‍यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ ।’

37त्‍यसपछि धर्मी जनहरूले जवाफ दिई भन्‍नेछन्, ‘प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्‍यौँ र तपाईंलाई खुवायौँ ? वा तिर्खाउनुभएको देख्यौँ र तपाईंलाई पिउन दियौँ ?
38र हामीले कहिले तपाईंलाई परदेशी भएको देख्‍यौँ र तपाईंलाई भित्र ल्यायौँ ?
39र हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानामा कहिले देख्यौँ र हामी तपाईंकहाँ आयौँ ?’
40र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्‍दा सानोलाई जे-जति गर्‍यौ, त्यो मेरो निम्ति नै गर्‍यौ ।’
41त्‍यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन दुष्‍ट र त्यसका दूतहरूका लागि तयार गरिएको हो,
42किनभने म भोकाएको थिएँ, तर तिमीहरूले मलाई खान दिएनौ; म तिर्खाएको थिएँ, तर तिमीहरूले मलाई पिउन दिएनौ;
43म परदेशी थिएँ, तर तिमीहरूले मलाई भित्र लगेनौ; नाङ्गो थिएँ, तर तिमीहरूले मलाई पहिराएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ, तर तिमीहरूले मेरो वास्ता गरेनौ ।’
44त्‍यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् र भन्‍नेछन्, ‘प्रभु, हामीले तपाईंलाई भोकाउनुभएको, वा तिर्खाउनुभएको, वा परदेशी, वा नाङ्गो, वा बिरामी हुनुभएको, वा झ्यालखानामा कहिले देख्‍यौँ र हामीले तपाईंको सेवा गरेनौँ ?’
45अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सानोभन्‍दा सानोलाई तिमीहरूले जे गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’
46यिनीहरू अनन्‍तको दण्‍डमा जानेछन् तर धर्मीहरूचाहिँ अनन्‍त जीवनमा प्रवेश गर्नेछन् ।”