1तिनीहरूसँग यसो भन्दै येशू दृष्टान्तमा बोल्नुभयो,
2“स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे ।
3उनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन् ।
4फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए, ‘ती निम्त्याइएकाहरूलाई यसो भन्नू, ‘मैले मेरो भोज तयार पारेको छु । मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्, र सबै कुरा तयार छन् । विवाहको भोजमा आओ ।’
5तर तिनीहरूले केही वास्ता नै गरेनन्, र एउटा आफ्नो खेतबारी, र अर्को आफ्नो व्यवसायतिर लाग्यो ।
6अरूहरूले चाहिँ राजाका नोकरहरूलाई पक्रे; तिनीहरूसँग लाजमर्दो व्यवहार गरे, र तिनीहरूलाई मारे ।
7तर राजा रिसाए । उनले आफ्ना सेनाहरू पठाए; ती हत्याराहरूलाई मारे, र तिनीहरूको सहर जलाइदिए ।
8त्यसपछि उनले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको निम्ति सबै तयार छन्, तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन् ।
9त्यसैले, तिमीहरू सडकहरूमा जाओ र तिमीहरूले सक्ने जति सबै मानिसलाई विवाह भोजमा सहभागी हुन बोलाओ ।’
10ती नोकरहरू सडकहरूमा गए र तिनीहरूले भेट्टाए जति असल र खराब दुवै थरीका मानिसलाई एकसाथ भेला गरे । त्यसैले, विवाहको घर पाहुनाहरूले भरियो ।
11तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, त्यहाँ एक जना मानिस विवाहको पोशाक नलगाईकन भोजमा आएको उनले देखे ।
12राजाले उसलाई भने, ‘मित्र, विवाहको पोशाक नलगाईकन तिमी यहाँ भित्र कसरी आयौ ?’ अनि त्यस व्यक्तिले केही बोल्न सकेन ।
13त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’
14किनकि बोलाइएकहरू धेरै छन्, तर चुनिएकाहरू थोरै छन् ।”
15त्यसपछि फरिसीहरू त्यहाँबाट गए, र येशूले भन्नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्ने बारेमा योजना बनाए ।
16त्यसपछि तिनीहरूले आफ्ना चेलाहरू र हेरोदी दलका केही मानिसहरूलाई उहाँकहाँ पठाए । तिनीहरूले येशूलाई भने, “गुरुज्यू, हामीलाई थाहा छ, कि तपाईं सत्य हुनुहुन्छ, र तपाईंले परमेश्वरको मार्गलाई सत्यतामा सिकाउनुहुन्छ । तपाईं कसले के सोच्छ भन्ने कुरालाई वास्ता गर्नुहुन्न, र मानिसहरूका बिचमा तपाईंले पक्षपात गर्नुहुन्न ।
17त्यसैले, हामीलाई भन्नुहोस्, कि तपाईं के भन्नुहुन्छ ? कैसरलाई कर तिर्नु उचित हो कि होइन ?”
18तर येशूले तिनीहरूको दुष्टता थाहा पाउनुभयो, र भन्नुभयो, “पाखण्डी हो, “तिमीहरू मलाई किन जाँच्दछौ ?
19कर तिर्ने सिक्का मलाई देखाओ ।” त्यसपछि तिनीहरूले उहाँकहाँ एक दिनार ल्याए ।
20येशूले तिनीहरूलाई भन्नुभयो, “यी कसका नाम र छाप हुन् ?”
21तिनीहरूले उहाँलाई भने, “कैसरको ।” त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए, जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्वरका हुन्, ती परमेश्वरलाई देओ ।”
22जब तिनीहरूले यो सुने, तिनीहरू छक्क परे । त्यसपछि तिनीहरू उहाँबाट अलग्गिएर त्यहाँबाट गए ।
23त्यही दिनमा केही सदुकीहरू उहाँकहाँ आए, जसले पुनरुत्थान हुँदैन भनेर भन्दथे । तिनीहरूले उहाँलाई सोधे,
24“गुरुज्यू, मोशाले भनेका थिए, ‘यदि कुनै पुरुष बालक नजन्माईकन मर्यो भने, उसको भाइले त्यसकी पत्नीलाई विवाह गर्नुपर्छ र आफ्ना दाजुको निम्ति सन्तान जन्माउनुपर्छ ।
25तिनीहरू सात जना दाजुभाइ थिए । पहिलोले विवाह गर्यो । कुनै पनि सन्तान नभईकन उसले आफ्नी पत्नी आफ्नो भाइलाई छोड्यो ।
26त्यसपछि दोस्रो भाइले त्यस्तै गर्यो, त्यसपछि तेस्रोले, र सातौँ भाइसम्म यस्तै हुँदै गयो ।
27तिनीहरू सबै मरेपछि त्यो स्त्री पनि मरी ।
28अब पुनरुत्थानमा ती सात दाजुभाइमध्ये त्यो स्त्री कुन चाहिँको पत्नी हुन्छे ? किनकि तिनीहरू सबैले ऊसँग विवाह गरिसकेका छन् ।”
29तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “तिमीहरू भुलमा परेका छौ, किनभने तिमीहरू धर्मशास्त्र वा परमेश्वरको शक्तिलाई जान्दैनौ ।
30किनकि पुनरुत्थानमा तिनीहरू न त विवाह गर्दछन्, न त तिनीहरूलाई विवाहको निम्ति दिइन्छ । बरु, तिनीहरू स्वर्गमा हुने दूतहरूजस्तै हुन्छन् ।
31तर मृतकहरूको पुनरुत्थानको बारेमा परमेश्वरद्वारा यसरी तिमीहरूलाई भनिएको के तिमीहरूले पढेका छैनौ,
32‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ ?’ परमेश्वर मृतकहरूको परमेश्वर हुनुहुन्न, तर उहाँ जीवितहरूका परमेश्वर हुनुहुन्छ ।”
33जब भिडले यो सुन्यो, तिनीहरू उहाँको शिक्षामा छक्क परे ।
34तर येशूले सदुकीहरूलाई चुप पार्नुभएको जब फरिसीहरूले सुने, तिनीहरू भेला भए ।
35तिनीहरूमध्येका एक जना व्यवस्थाका गुरुले उहाँको जाँच गर्दै एउटा प्रश्न सोधे,
36“गुरुज्यू, व्यवस्थामा सबैभन्दा महान् आज्ञाचाहिँ कुन हो ?”
37येशूले उनलाई भन्नुभयो, “तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नू ।
38योचाहिँ पहिलो र महान् आज्ञा हो ।
39अनि दोस्रो आज्ञा पनि यस्तै छ– ‘तैँले आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू ।’
40सारा व्यवस्था र अगमवक्ताहरू यी दुईवटा आज्ञामाथि आधारित छन् ।”
41फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्न सोध्नुभयो ।
42उहाँले भन्नुभयो, “तिमीहरू ख्रीष्टको बारेमा के विचार गर्दछौ ? ख्रीष्ट कसका पुत्र हुन् ?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र ।”
43येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए, दाऊद पवित्र आत्माले भरिँदा तिनले किन उहाँलाई यसरी प्रभु भनी पुकारे,
44‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, “जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस ।’ ?”
45यदि दाऊदले ख्रीष्टलाई ‘प्रभु’ भन्दछन् भने, उनी कसरी दाऊदका पुत्र हुन सक्छन् त ?”
46तिनीहरू कसैले पनि जवाफमा एउटा शब्द पनि बोल्न सकेन, र त्यस दिनपछि उहाँलाई कसैले पनि अरू प्रश्नहरू सोध्ने साहस गरेन ।