Text copied!
CopyCompare
पवित्र बाइबल - मत्ती

मत्ती 14

Help us?
Click on verse(s) to share them!
1त्यस समयमा शासक हेरोदले येशूको बारेमा समाचार सुने ।
2उनले आफ्ना नोकरहरूलाई भने, “यिनी बप्‍तिस्मा-दिने यूहन्‍ना हुन् जो मरेकाहरूबाट फेरि जीवित भएका छन् । त्यसकारण, यी शक्‍तिहरूले उनमा काम गरिरहेका छन् ।”
3किनकि हेरोदले आफ्ना भाइ फिलिपकी पत्‍नी हेरोदियासको कारण यूहन्‍नालाई समाती उनलाई बाँधेर झ्यालखानामा हालेका थिए ।
4किनकि यूहन्‍नाले तिनलाई भनेका थिए, “तिनलाई आफ्नी पत्‍नीको रूपमा राख्‍नु तपाईंको निम्ति उचित छैन ।”
5हेरोदले उनलाई मार्न सक्थे, तर उनी मानिसहरूसँग डराए, किनभने मानिसहरूले यूहन्‍नालाई अगमवक्‍ता मान्थे ।
6तर जब हेरोदको जन्म दिन आयो, हेरोदियासकी छोरीले मानिसहरूका माझमा नाचिन् र हेरोदलाई प्रसन्‍न बनाइन् ।
7त्यसको प्रतिक्रियामा तिनलाई जे मागे पनि दिनेछु भनेर हेरोदले वाचा गर्दै शपथ खाए ।
8आफ्नी आमाले सिकाएपछि तिनले भनिन्, “मलाई यहाँ एउटा थालमा बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर दिनुहोस् ।”
9राजा तिनको बिन्‍तीबाट निकै निराश भए, तर उनको आफ्नो शपथको कारण र उनीसँग रात्री भोजमा सामेल भएका सबै मानिसको कारणले गर्दा राजाले यस्तै होस् भनेर आज्ञा दिए ।
10हेरोदले मानिसहरू पठाए र झ्यालखानामा यूहन्‍नाको शिर काटिदिए ।
11अनि उनको शिर थालमा राखेर ल्याइयो र त्यस ठिटीलाई दिइयो र तिनले त्यो आफ्नी आमाकहाँ लगिन् ।
12अनि उनका चेलाहरू आई उनको शवलाई लगेर गाडे । त्यसपछि तिनीहरू गए, र येशूलाई बताइदिए ।
13जब येशूले यो कुरा सुन्‍नुभयो, उहाँले त्यस ठाउँलाई छोडेर डुङ्गाबाट एकान्त स्थानमा जानुभयो । जब भिडहरूले यो कुरा सुने, तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए ।
14त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भिड देख्‍नुभयो । उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो ।
15जब साँझ पर्‍यो, चेलाहरू उहाँकहाँ आएर भने, “यो त एउटा उजाड-स्थान हो र दिन बितिसक्यो । भिडलाई बिदा गरिदिनुहोस्, ताकि तिनीहरू गाउँहरूमा जान सकून् र आ-आफ्ना निम्ति खानेकुराहरू किन्‍न सकून् ।”
16तर येशूले उनीहरूलाई भन्‍नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन । यिनीहरूलाई तिमीहरूले केही खान देओ ।”
17उनीहरूले उहाँलाई भने, “हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन् ।”
18येशूले भन्‍नुभयो, “ती मकहाँ ल्याओ ।”
19अनि येशूले भिडलाई चौरमा बस्‍नको लागि आदेश दिनुभयो । उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो । माथि स्वर्गमा हेर्दै उहाँले धन्यवाद दिनुभयो र रोटीलाई भाँच्‍नुभयो अनि चेलाहरूलाई ती दिनुभयो । चेलाहरूले ती भिडहरूलाई दिए ।
20तिनीहरू सबैले खाए र टन्‍न भए । त्यसपछि उनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले ।
21त्यहाँ खाएकाहरूमध्ये महिला र बालबालिकाहरूबाहेक झन्डै पाँच हजार मानिस थिए ।
22उहाँले आफ्ना चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढेर उहाँभन्दा अगि अर्को पट्टि जान लगाउनुभयो, जब कि भिडलाई चाहिँ उहाँ आफैँले बिदा गर्न चाहनुभयो ।
23उहाँले भिडलाई पठाइसक्‍नुपछि उहाँ आफैँ डाँडामा प्रार्थना गर्न जानुभयो । जब पूर्ण रूपमा साँझ भयो, उहाँ त्यहाँ एकलै हुनुहुथ्यो ।
24तर त्यस बेला डुङ्गा भने समुद्रको बिचमा थियो, बतास विपरीत दिशाबाट आएको कारण छालले त्यो अनियन्‍त्रित भयो ।
25बिहान तिन बजेतिर येशू समुद्रमा हिँड्दै तिनीहरूका नजिक जानुभयो ।
26जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, तिनीहरू भयभीत भए र भने, “यो त भूत हो” र तिनीहरू डरले चिच्‍च्‍याउन थाले ।
27तर येशू तिनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “ढाडस गर ! मै हुँ ! नडराओ ।”
28पत्रुसले उहाँलाई जवाफ दिए र भने, “प्रभु, तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमा आउनलाई आदेश दिनुहोस् ।”
29येशूले भन्‍नुभयो, “आऊ ।” त्यसैले, पत्रुस डुङ्गाबाट बाहिर आए र येशूकहाँ जान पानीमा हिँडे ।
30तर जब पत्रुसले बतासलाई देखे, उनी डराए । जब उनी डुब्‍न थाले, उनले चिच्‍च्‍याउँदै भने, “प्रभु, मलाई बचाउनुहोस् !”
31येशूले तुरुन्तै आफ्नो हात फैलाउनुभयो; पत्रुसलाई समात्‍नुभयो र उनलाई भन्‍नुभयो, “ए अल्पविश्‍वासी ! तिमीले किन शङ्का गर्‍यौ ?”
32त्यसपछि जब येशू र पत्रुस डुङ्गामा जानुभयो, तब बतास रोकियो ।
33त्यसपछि डुङ्गामा रहेका चेलाहरूले येशूको आराधना गरे र भने, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”
34जब उहाँहरूले समुद्र पार गर्नुभयो, उहाँहरू गनेसरेतको भूमिमा आइपुग्‍नुभयो ।
35जब त्यस ठाउँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले वरपरका सबै क्षेत्रमा त्यो समाचार फैलाए र तिनीहरूले बिरामी भएकाहरू सबैलाई उहाँकहाँ ल्याए ।
36तिनीहरूले उहाँको कपडाको एउटा छेउ मात्र छुन पाऊँ भनी उहाँलाई बिन्ती गरे, र जतिले छोए सबै जना निको भए ।