Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 7

१ राजाहरू 7:15-48

Help us?
Click on verse(s) to share them!
15हुरामले दुईवटा काँसाका स्तम्भको रचना गरे । प्रत्येक स्तम्भको उचाइ अठार हात र परिधि बाह्र हातको थियो ।
16तिनले स्तम्भहरूमाथि शिर राख्न ढालेका काँसाका दुईवटा स्तम्भ-शिर पनि बनाए । हरेक स्तम्भ-शिरको उचाइ पाँच हात थियो ।
17हरेक स्तम्भमाथि भएको स्तम्भ-शिरको निम्ति जालीस्वरूप सातवटा झुण्डिएका सिक्री बनाइए ।
18यसरी हुरामले स्तम्भहरूका स्तम्भ-शिर सिँगार्नलाई प्रत्येक सिक्रीको जालीका वरिपरि दुईवटा पङ्क्ति भएको बुट्टादार दारिम बनाए ।
19दलानभित्रका स्तम्भका स्तम्भ-शिरहरू लिली फुलको आकारका चार हात उचाइका थिए ।
20दुवै स्तम्भका स्तम्भ-शिरमा जाली नजिकैको कचौराको आकार भएको भागमा स्तम्भ-शिरको चारैपट्टि पङ्क्ति-पङ्क्ति गरी दुई सय बुट्टादार दारिम बनाइए ।
21तिनले मन्दिरको दलानमा ती स्तम्भहरू खडा गरे । दाहिनेपट्टिको स्तम्भलाई याकीन र देब्रेपट्टिको स्तम्भलाई बोआज नाउँ राखियो ।
22स्तम्भ-शिरहरूलाई लिली फुलको आकारमा सजाइयो । यसरी स्तम्भहरूको काम सम्पन्न भयो ।
23हुरामले ढालेर बनाइएको धातुको विशाल खड्कुँलो बनाए जसको बिट एउटा किनारादेखि अर्को किनारासम्म दस हात थियो । यसको उचाइ पाँच हात थियो, र परिधि तिस हात थियो ।
24त्यस विशाल खड्कुँलोका चारैतिर बाहिरपट्टि बिटमुनि हरेक हातमा दसवटा लौका बनाइएका थिए, र खड्कुँलो र लौका दुवै एउटै टुक्रा धातुबाट बनाइएका थिए ।
25खड्कुँलोलाई बाह्रवटा गोरुमाथि राखिएको थियो– तिनवटा उत्तरतिर फर्केका, तिनवटा पश्चिमतिर फर्केका, तिनवटा दक्षिणतिर फर्केका र तिनवटा पूर्वतिर फर्केका थिए । खड्कुँलो तीमाथि राखिएको थियो, र तिनका सबै पछिल्ला भाग भित्रपट्टि फर्केका थिए ।
26खड्कुँलोको चौडाइ चार अङ्गुल थियो, र यसको बिटचाहिँ कचौराको बिटजस्तो फक्रेको लिली फुलजस्तो थियो । यसमा लगभग चवालिस हजार लिटर पानी अटाउँथ्यो ।
27हुरामले काँसाका दसवटा आधार बनाए । प्रत्येक आधार चार हात लामो, चार हात चौडा र तिन हात अग्लो थियो ।
28ती आधार यसरी बनाइएका थिएः तिनका वरिपरिका पाटाहरू ठाडो फ्रेममा जोडिएका थिए,
29र ती पाटा र फ्रेमहरूमा सिंह, गोरु र करूबहरू थिए । सिंह र गोरुहरूको माथि र तल ढलौटे मालाहरू थिए ।
30प्रत्येक आधारमा काँसाका धुरा भएका चारवटा चक्का थिए, र हरेकमा चार टेकामा अडेको एउटा बाटा थियो जसको चारैतिर ढलौटे मालाहरू थिए ।
31आधारभित्र खुला भाग थियो, जसको गोलाकार साढे एक हात थियो, र त्यसभित्र एक हात अग्लो मुकुट थियो । त्यसको खुला भागको वरिपरि बुट्टाहरू कुँदिएका थिए, र आधारका पाटाहरू गोलाकार नभई वर्गाकार थिए ।
32चारवटा चक्का पाटाहरूको मुनि थिए, र चक्काहरूका धुरा आधारसँग गाँसिएका थिए । हरेक चक्काको उचाइ साढे एक हात थियो ।
33ती चक्काहरू रथका चक्काजस्ता थिए । तिनका धुरा, बिट, सुइरा र नाभि सबै ढालेर बनाइएका धातुका थिए ।
34हरेक आधारका चारवटा समात्ने बिँड एउटा-एउटा कुनामा थिए, जुन आधारबाट बाहिर निस्केका थिए ।
35आधारहरूको टुप्पामा आधा हात गहिरो गोलाकार धातुको फित्ता थियो, अनि आधारका टेका र पाटाहरू त्यसकै टुप्पासँग गाँसिएका थिए ।
36पाटा र टेकाहरूका खाली ठाउँमा हुरामले करूबहरू, सिंहहरू र खजूरका रुखहरूको चित्र कुँदी त्यसको वरिपरि मालाहरू लगाए ।
37यसरी नै तिनले दसवटा आधार बनाए । ती सबै एउटै नाप र एउटै आकार भएका ढालेर बनाइएका थिए ।
38हुरामले काँसाका दसवटा बाटा बनाए । एउटा बाटामा आठ सय असी लिटर पानी अटाउँथ्यो । हरेक बाटा चार हातको थियो, र दसवटै आधारका लागि एउटा-एउटा बाटा थियो ।
39तिनले पाँचवटा आधार मन्दिरको दक्षिणपट्टि र पाँचवटा आधार उत्तरपट्टि राखे । तिनले खड्कुँलोचाहि मन्दिरको दक्षिणपट्टि फर्कने गरी पूर्वी किनारामा राखे ।
40हुरामले बाटाहरू, बेल्चाहरू र छर्कने बाटाहरू बनाए । यसरी तिनले परमप्रभुको मन्दिरमा सोलोमन राजाको लागि सबै काम सिद्ध्याए ।
41तिनले दुईवटा स्तम्भ, स्तम्भको टुप्पामा कचौरा आकारका दुईवटा स्तम्भ-शिर माथिका स्तम्भ-शिरहरू सजाउने दुईवटा बुट्टादार जाली बनाए ।
42तिनले दुईवटा सजाउने जालीका निम्ति चार सयवटा दारिम (दुईवटा स्तम्भका कचौराको आकार भएका स्तम्भ-शिरलाई ढाक्ने प्रत्येक जालीको निम्ति दुई पङ्क्ति दारिम),
43दसवटा आधार र आधारमाथि राख्नलाई दसवटा बाटा बनाए ।
44तिनले खड्कुँलो भनिने विशाल बाटा र त्यसको मुन्तिर बाह्रवटा गोरु,
45भाँडाकुँडाहरू, बेल्चाहरू, बाटाहरू अनि सबै चिजहरू बनाए । हुरामले परमप्रभुको मन्दिरको लागि सोलोमन राजाको निम्ति टल्काइएका काँसाबाट बनाएका थिए ।
46राजाले ती यर्दनको मैदानमा सुक्कोत र सार्तानको बिचमा ढालेर बनाउन लगाएका थिए ।
47सोलोमनले धेरै भाँडाकुँडा बनाएकाले तिनले जोखेनन् । तिनले काँसाको ओजन निधो गरेनन् ।
48सोलोमनले परमप्रभुको मन्दिरमा राखिने सबै सजाउने सामान सुनबाट बनाएका थिएः सुनको वेदी, उपस्थितिको रोटी राखिने सुनको टेबुल,

Read १ राजाहरू 7१ राजाहरू 7
Compare १ राजाहरू 7:15-48१ राजाहरू 7:15-48