Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 18

१ राजाहरू 18:4-31

Help us?
Click on verse(s) to share them!
4किनकि ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा ओबदियाले एक सय अगमवक्तालाई लिएर तिनीहरूलाई पचास-पचास गरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएका थिए ।
5आहाबले ओबदियालाई भने, “देशको चारैतिर भएका खोलानाला र त्यसका मुहानहरूमा जाऊ । सायद हामीले घाँस पाउनेछौँ अनि घोडा र खच्चरहरूलाई जीवितै राख्न सक्छौँ । यसरी हामीले सबै पशु गुमाउने छैनौँ ।
6त्यसैले निरीक्षण र पानीको खोजीको लागि तिनीहरूले देश विभाजन गरे । आहाब एकलै एकातिर गए, र ओबदिया अर्कोतिर गए ।
7ओबदिया बाटोमा जाँदै गर्दा एलियाले अकस्मात् तिनलाई भेटे । ओबदियाले तिनलाई चिनिहाले र भुइँतिर शिर निहुराए । तिनले भने, “के तपाईं मेरा मालिक एलिया हुनुहुन्न र ?”
8एलियाले तिनलाई जवाफ दिए, “म नै हुँ । 'हेर, एलिया यहीँ छन्' भनी गएर तिम्रो मालिकलाई बताइदेऊ ।”
9ओबदियाले भने, “मैले के पाप गरेको छु, कि तपाईं आफ्ना दासलाई आहाबको हातमा मर्नलाई सुम्पनुहुन्छ ?”
10परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि यस्तो कुनै जाति वा राज्य छैन जहाँ मेरा मालिकले तपाईंलाई फेला पार्न मानिसहरू पठाएका छैनन् । 'एलिया यहाँ छैनन्' भनी कुनै जाति वा राज्यले बताउँदा तिनीहरूले फेला पार्न सकेनन् भनी आहाबले तिनीहरूलाई भाकल गर्न लगाउँछन् ।
11तथापि अहिले तपाईं भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।'
12म यहाँबाट जानेबित्तिकै परमप्रभुका आत्माले तपाईंलाई मैले नचिनेको ठाउँमा लैजानुहुने छ । तब मैले आहाबलाई गएर बताउँदा तिनले तपाईंलाई फेला नपारेपछि तिनले मलाई मार्ने छन् । तापनि म तपाईंका दासले त मेरो बाल्यकालदेखि नै परमप्रभुको आराधना गरेको छु ।
13हे मेरा मालिक, ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा मैले परमप्रभुका एक सय जना अगमवक्तालाई पचास-पचास गरी कसरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएँ भन्ने कुरो तपाईंलाई बताइएको छैन र ?
14अहिले तपाईं मलाई भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।' तिनले मलाई मार्ने छन् ।”
15तब एलियाले जवाफ दिए, “सर्वशक्तिमान् परमप्रभु जसको अगि म खडा छु, उहाँको नाउँमा शपथ खाएर म भन्दछु, कि निश्चय नै म आजै आहाबकहाँ देखा पर्ने छु ।”
16त्यसैले ओबदिया आहाबलाई भेट्न गए, र एलियाले भनेका कुरा तिनलाई बताए ।
17तब राजा एलियालाई भेट्न गए । जब आहाबले एलियालाई देखे, तिनले तिनलाई भने, “तिमी नै एलिया हौ ? इस्राएलमा कष्ट ल्याउने तिमी नै हौ!”
18एलियाले जवाफ दिए, “मैले इस्राएलमा कष्ट ल्याएको छैनँ, तर तपाईं र तपाईंको परिवारले परमप्रभुका आज्ञाहरू त्यागेर बाल देवताको पछि लागी कष्ट ल्याउनुभएको छ ।
19अब मलाई कर्मेल डाँडामा भेट गर्न सारा इस्राएलीलाई बोलाउनुहोस् । ईजेबेलको टेबुलमा बसेर खाने बालका चार सय पचास अगमवक्ता र अशेराका चार सय अगमवक्तालाई पनि ल्याउनुहोस् ।”
20त्यसैले आहाबले सारा इस्राएलीलाई भेल हुन खबर पठाए, र तिनीहरू अगमवक्ताहरूसँगै कर्मेल डाँडामा जम्मा भए ।
21एलिया सबै मानिसका नजिक आई भने, “कहिलेसम्म तिमीहरू आफ्नो मन बद्लिरहन्छौ ? परमप्रभु नै परमेश्वर हुनुहुन्छ भने उहाँको पछि लाग । तर बाल परमेश्वर हो भने त्यसको पछि लाग ।” तापनि मानिसहरूले तिनलाई जवाफ दिएनन् ।
22तब एलियाले मानिसहरूलाई भने, “परमप्रभुको अगमवक्ताको रूपमा म एकलै छाडिएको छु, तर बालका अगमवक्ताहरू ४५० जना छन् ।
23तिनीहरूले हामीलाई दुईवटा साँढे देऊन् । तिनीहरू आफैले एउटा साँढेको छनोट गरी त्यसलाई टुक्राटुक्रा पारून्, अनि त्यसलाई दाउरामाथि राखून्, तर त्यसको मुनि आगो भने नलगाऊन् । त्यसपछि म अर्को साँढेलाई तयार पार्ने छु, र त्यसलाई दाउरामाथि राख्ने छु, तर त्यसको मुनि आगो भने लगाउँदिनँ ।
24तिमीहरूले आफ्नो देवतालाई पुकार गर, र म परमप्रभुलाई पुकार्ने छु । जसले आगोद्वारा जवाफ दिनुहुन्छ उहाँ नै परमेश्वर हुनुहुने छ ।” सबै मानिसले भने, “यो असल कुरो हो ।”
25त्यसैले एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरूले एउटा साँढे छनोट गरी त्यसलाई तयार पार किनकि तिमीहरू सङ्ख्यामा धेरै छौ । त्यसपछि आफ्नो देवतालाई पुकार गर, तर साँढेको मुनि आगो नलगाओ ।”
26तिनीहरूले तिनीहरूलाई दिइएको एउटा साँढे लिएर त्यसलाई तयार पारे, र बिहानदेखि दिउँसोसम्म यसो भन्दै बाललाई पुकार गरे, “हे बाल, हाम्रा कुरा सुन्नुहोस् ।” तर त्यहाँ कुनै आवाज आएन, न त कसैले जवाफ दियो । तिनीहरूले बनाएका वेदीको वरिपरि तिनीहरू नाचे ।
27मध्यान्हमा एलियाले तिनीहरूको खिसी गर्दै भने, “अझै चर्को गरी कराओ । त्यो पो देवता हो! उसले सोचविचार गर्दै होला वा काममा व्यस्त होला वा यात्रामा होला वा सुतिहरको छ होला । त्यसैले उसलाई ब्युँझाइनुपर्छ ।”
28त्यसैले तिनीहरू अझै चर्को गरी चिच्च्याए, र तिनीहरूको आदतअनुसार तिनीहरूले आ-आफूलाई तरवार र भालाले प्रहार गरे ।
29मद्यदिन बितेर गयो, र तिनीहरू साँझको बलिदान चढाउने बेलासम्म तिनीहरू बरबराउँदै थिए, तर त्यहाँ कुनै आवाज सुनिएन न त कसैले जवाफ दियो । तिनीहरूका बिन्तीलाई ध्यान दिने कोही भएन ।
30तब एलियाले मानिसहरूलाई भने, “मेरो नजिक आओ ।” सबै मानिस तिनको नजिक आए । त्यसपछि तिनले परमप्रभुको भत्केको वेदी मर्मत गरे ।
31एलियाले बाह्रवटा ढुङ्गा लिए । प्रत्येकले याकूबका बाह्र छोराको प्रतिनिधित्व गर्थ्यो । यी तिनै याकूब हुन् जसकहाँ परमप्रभुको यस्तो वचन आएको थियो, “तेरो नाउँ इस्राएल हुने छ ।”

Read १ राजाहरू 18१ राजाहरू 18
Compare १ राजाहरू 18:4-31१ राजाहरू 18:4-31