8अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए ।
9जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे ।
10येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ ।”
11तब सिमोन पत्रुस गए, र एक सय त्रिपन्नवटा ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए । त्यहाँ यति धैरै माछाहरू थिए, तर पनि जाल च्यातिएन ।
12येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, र खाजा खाओ ।” कुनै पनि चेलाले “तपाईं को हुनुहुन्छ ?” भनी उहाँलाई सोध्ने साहस गरेन ।
13येशू आउनुभयो र रोटी लिनुभयो, र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो ।
14मृत्युबाट जीवित हुनुभएपछि येशूले आफूलाई चेलाहरूकहाँ प्रकट गर्नुभएको यो तेस्रो पटक थियो ।
15तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ ।”
16उहाँले तिनलाई फेरि दोस्रो पटक भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्नुभयो, “मेरा भेडाहरूको हेरचाह गर ।”
17उहाँले तिनलाई तेस्रो पटक भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ ?” भनी तेस्रो पटक सोध्नुभएको थियो । तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।”