13परमप्रभुको भय खराबीलाई घृणा गर्नु हो । म घमण्ड, अहङ्कार, दुष्ट मार्ग र भड्काउने बोलीवचनलाई घृणा गर्दछु । म तिनीहरूलाई घृणा गर्दछु ।
14मसित असल सरसल्लाह र पक्का बुद्धि छ । म अन्तर्दृष्टि हुँ । मसित सामर्थ्य छ ।
15मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायपूर्ण व्यवस्था बनाउँछन् ।
16मद्वारा नै राजकुमारहरू र कुलीनहरूले शासन गर्छन्, अनि सबैले न्यायसित शासन चलाउँछन् ।
17मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्दछु, र मलाई परिश्रमसाथ खोज्नेहरूले मलाई भेट्टाउँछन् ।
18मसित रुपियाँ-पैसा र इज्जत, टिकिरहने धन-सम्पत्ति र धार्मिकता छन् ।