4स्वर्ग उक्लेर को तल झरेको छ र ? आफ्ना हातको मुट्ठीमा कसले बतासलाई बटुलेको छ र ? कसले पानीलाई आफ्नो खास्टोमा जम्मा गरेको छ र ? कसले पृथ्वीका कुना-कुनालाई स्थापित गरेको छ र ? उहाँको नाउँ के हो र उहाँका पुत्रको नाउँ के हो ? निश्चय नै तँलाई थाहा होला!
5परमेश्वरको हरेक वचन जाँचिएको छ । उहाँमा शरण लिनेहरूका लागि उहाँ ढाल हुनुहुन्छ ।
6उहाँका वचनहरूमा नथप् नत्रता उहाँले तँलाई अनुशासनमा राख्नुहुने छ, र तँ झुटो ठहरिने छस् ।
7म तपाईंबाट दुईवटा कुरा माग्दछु । म मर्नुअगि ती मबाट नरोक्नुहोस् ।
8व्यर्थता र झुटलाई मबाट पर राखिदिनुहोस् । मलाई दरिद्रता वा धन-सम्पत्ति नदिनुहोस् । मलाई आवश्यक पर्ने भोजन मात्र दिनुहोस् ।
9किनकि मसित धेरै भए भने मैले तपाईंलाई इन्कार गरेर भनूँला, “परमप्रभु को हो र ?” वा गरिब भएँ भने, मैले चोरेर मेरा परमेश्वरको नाउँ अपवित्र तुल्याउँला ।
10मालिकको सामु त्यसको नोकरको निन्दा नगर्, नत्रता त्यसले तँलाई सराप्ने छ, र तँ दोषी बन्ने छस् ।
11आफ्ना बुबाहरूलाई सराप्ने र आमाहरूलाई आशिष् नदिने पुस्ता पनि छ ।
12आफ्नै दृष्टिमा शुद्ध हुने पुस्ता पनि छ, तापनि तिनीहरू आफ्नो फोहोरबाट सफा भएका छैनन् ।
13अहङ्कारी आँखा भएकाहरूको पुस्ता पनि छ, जसको हेराइ अति घृणास्पद हुन्छ ।
14यस्तो पुस्ता पनि छ जसका दाँत तरवारहरू हुन्, र तिनीहरूका बङ्गारा छुराजस्तै छन्, ताकि तिनीहरूले देशबाट गरिबहरूलाई र मानव-जातिबाट खाँचोमा परेकाहरूलाई निल्न सकून् ।
15जूकाका दुई छोरी छन् । “देऊ, देऊ” भन्दै तिनीहरू चिच्च्याउँछन् । तिनवटा कुरा छन् जुन कहिल्यै सन्तुष्ट हुँदैनन्, र चारवटा कुरा जसले कहिल्यै “पुग्यो” भन्दैनन् ।
16पाताल, बाँझी स्त्री, पानीले कहिल्यै सन्तुष्ट नहुने जमिन र कहिल्यै “पुग्यो” नभन्ने आगो ।