16बुद्धिमान् मानिस डराएर दुष्टताबाट टाढै बस्छ, तर मूर्खले निश्चयतासाथ चेताउनीलाई खारेज गरिदिन्छ ।
17झट्ट रिसाउनेले मूर्ख कुराहरू गर्छ, र दुष्ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ ।
18बेसमझ मानिसले मूर्खता कमाउँछ, तर समझदार मानिसले ज्ञानको मुकुट पहिरिन्छ ।
19खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्ट मानिसहरू धर्मात्माका ढोकाहरूमा झुक्ने छन् ।
20आफ्नै मित्रहरूबाट समेत गरिब मानिसलाई घृणा गरिन्छ, तर धनी मानिसका धेरै साथीहरू हुन्छन् ।
21आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गरिरहेको हुन्छ, तर गरिबलाई स्नेह देखाउने आशिषित् हुन्छ ।
22के खराब युक्ति रच्नेहरू बरालिँदैनन् र ? तर असल गर्ने योजना बनाउनेहरूले करारको विश्वसनीयता र भरोसा प्राप्त गर्ने छन् ।
23सबै कडा परिश्रमले लाभ ल्याउँछ, तर कुरा मात्र गर्नाले गरिबीमा पुर्याउँछ ।
24बुद्धिमान् मानिसहरूको मुकुट तिनीहरूको सम्पत्ति हो, तर मूर्खहरूको मूर्खताले तिनीहरूमा झन् बढी मूर्खता ल्याउँछ ।
25विश्वासयोग्य साक्षीले जीवन बचाउँछ, तर झुटो साक्षीले झुटा कुराहरू ओकल्छ ।
26परमप्रभुको भय मान्नेसित बढी निश्चयता हुन्छ । त्यस मानिसको छोराछोरीका निम्ति यो सुरक्षाको एउटा बलियो स्थानझैँ हुने छ ।
27परमप्रभुको भय जीवनको फुहारा हो, जसद्वारा मानिस मृत्युका जालहरूबाट उम्कन्छ ।