1बेठिक तराजुलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठिक तौलमा उहाँ आनन्द मनाउनुहुन्छ ।
2जब घमण्ड आउँछ, तब अपमान आउँछ, तर विनम्रतासित बुद्धि आउँछ ।
3सोझाहरूको निष्ठाले तिनीहरूलाई अगुवाइ गर्छ, तर विश्वासघातीहरूका टेडा मार्गहरूले तिनीहरूलाई नष्ट गर्छन् ।
4क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ, तर ठिक गर्नाले मृत्युबाट जोगाउँछ ।
5खोटरहित व्यक्तिको ठिक आचरणले उसको मार्ग सिधा बनाउँछ, तर दुष्टहरूको दुष्टताको कारण तिनीहरूको पतन हुने छ ।
6परमेश्वरलाई खुसी पार्नेहरूको ठिक आचरणले तिनीहरूलाई सुरक्षित राख्छन्, तर विश्वासघातीहरू तिनीहरूकै अभिलाषाद्वारा पासोमा पर्छन् ।
7दुष्ट मानिस मर्दा त्यसको आशा नष्ट हुन्छ, र त्यसको शक्तिमा भएको आशा निरर्थक हुन्छ ।
8धर्मात्मा सङ्कष्टबाट बचाइन्छ, र त्यसको साटो यो दुष्टमाथि आइपर्छ ।
9ईश्वरहीन व्यक्तिले आफ्नो मुखले त्यसको छिमेकीलाई नष्ट गर्छ, तर धर्मी मानिसहरू ज्ञानद्वारा सुरक्षित हुन्छन् ।
10धर्मी मानिसहरूले उन्नति गर्दा सहर नै रमाउँछ, तर दुष्टहरू नष्ट हुँदा रमाहट हुन्छ ।
11परमेश्वरलाई खुसी पार्नेहरूका असल उपहारहरूद्वारा सहर महान् हुन्छ, तर दुष्टहरूको मुखद्वारा सहर भताभुङ्ग हुन्छ ।
12आफ्नो साथीलाई तिरस्कार गर्ने मानिस बेसमझको हुन्छ, तर समझशक्ति भएको मानिस चुप लागेर बस्छ ।
13चारैतिर बदख्याइँ गर्दै हिँड्नेले गोप्य कुराहरू प्रकट गर्छ, तर विश्वासयोग्य व्यक्तिले विषयलाई लुकाएर राख्छ ।
14बुद्धिमान् निर्देशन नहुँदा देशको पतन हुन्छ, तर धेरै परामर्शदाताहरूको कारण विजय आउँछ ।
15परदेशीको लागि ऋणको जमानी बस्नेले निश्चय नै हानि भोग्ने छ, तर त्यस किसिमको प्रतिज्ञामा जमानीलाई इन्कार गर्ने सुरक्षित हुन्छ ।