Text copied!
CopyCompare
पवित्र बाइबल - यूहन्‍ना - यूहन्‍ना 5

यूहन्‍ना 5:9-47

Help us?
Click on verse(s) to share them!
9त्यो मानिस तुरुन्तै निको भयो र त्यसले आफ्नो ओछ्यान उठायो, र हिँड्यो । अब त्यो विश्रामको दिन थियो ।
10त्यसैले, यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “यो विश्रामको दिन हो, र तिमीलाई तिम्रो चकटी बोकेर हिँड्ने अनुमति छैन ।”
11त्यसले जवाफ दियो, “जसले मलाई स्वस्थ बनाउनुभयो, उहाँले नै मलाई ‘तिम्रो चकटी उठाऊ र हिँड’ भन्‍नुभयो ।”
12उनीहरूले त्यसलाई भने, “तिमीलाई ‘तिम्रो यो उठाऊ र हिँड’ भन्‍ने त्यो मानिस को हो ?”
13तापनि येशू सुटुक्‍क गइसक्‍नुभएकोले जो निको भएको थियो, त्यसलाई उहाँ को हुनुहुन्थ्यो भन्‍ने थाहा थिएन, किनकि त्यहाँ भिड लागेको थियो ।
14पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाउनुभयो र भन्‍नुभयो, “हेर, तिमी स्वस्थ भएका छौ । अब पाप नगर, ताकि तिमीमाथि योभन्दा झन् खराबी आइनपरोस् ।”
15त्यो मानिस गयो र त्यसलाई स्वस्थ बनाउने येशू हुनुहुँदोरहेछ भनी त्यसले यहूदीहरूलाई बतायो ।
16अब यी कुराहरूका कारणले यहूदीहरूले येशूलाई सताए, किनकि उहाँले यी कुराहरू विश्रामको दिनमा गर्नुभएको थियो ।
17येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा पिताले अहिले पनि काम गरिरहनुभएको छ र म पनि काम गरिरहेको छु ।”
18यसले गर्दा यहूदीहरूले उहाँलाई झनै मार्न खोजे, किनकि उहाँले विश्राम दिन मात्र तोड्नुभएन, तर आफैँलाई परमेश्‍वर समान तुल्याएर परमेश्‍वरलाई पिता भन्‍नुभयो ।
19येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो, पिताले गरिरहनुभएको देख्‍नु बाहेक पुत्र आफैँले केही गर्न सक्दैन, किनकि पिताले जे गरिरहनुभएको छ पुत्रले पनि त्यही कुराहरू गर्छ ।
20किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ अनि उहाँले उनलाई यी कुराहरूभन्दा पनि ठुला कुराहरू देखाउनुहुनेछ, ताकि तिमीहरू अचम्मित हुन सक ।
21किनकि पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्छ, र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छ त्यसलाई जीवन दिन्छ ।
22किनकि पिताले कसैको न्याय गर्नुहुन्‍न, तर उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ ।
23त्यसैले, तिनीहरूले पितालाई आदर गरेझैँ, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उहाँलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन ।
24साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ ।
25साँचो, साँचो म तिमीहरूलाई भन्छु, समय आइरहेको छ र यो अहिले नै हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र ती सुन्‍नेहरू बाँच्‍नेछन् ।
26किनकि जसरी पिता आफैँसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि ऊ आफैँसँग जीवन होस्,
27र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ । किनकि ऊ मानिसका पुत्र हो ।
28यस कुरामा तिमीहरू अचम्म नमान, किनकि चिहानमा हुनेहरूले उसको सोर सुन्‍ने समय आइरहेको छ,
29र तिनीहरू चिहानबाट बाहिर आउनेछन्ः असल गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र दुष्‍ट काम गर्नेहरू न्यायको पुनरुत्थानको निम्ति ।
30म आफैँले केही गर्न सक्दिनँ । म जस्तो सुन्छु त्यस्तै न्याय गर्छु र मेरो न्याय धार्मिक हुन्छ, किनकि मैले आफ्नो इच्छा खोजिरहेको छैनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोजिरहेको छु ।
31यदि म आफैँले आफ्नै बारेमा गवाही दिने हो भने मेरो गवाही सत्य हुँदैनथ्यो ।
32मेरो बारेमा गवाही दिनुहुने अर्को एक जना हुनुहुन्छ, र म जान्दछु, कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्य हुन्छ ।
33तिमीहरूले यूहन्‍नाकहाँ पठाएका छौ र उनले सत्य गवाही दिएका छन् ।
34तर मैले प्राप्‍त गर्ने त्यो गवाही मानिसबाट आएको होइन । तिमीहरूलाई बचाइयोस् भनी म यी कुराहरू भन्छु ।
35यूहन्‍ना बोलिरहेका र चम्किरहेका बत्ती थिए र तिमीहरू उनको ज्योतिमा केही क्षणका लागि आनन्द मनाउन तत्पर थियौ ।
36तैपनि मसँग भएको गवाही त्योभन्दा पनि महान् छ, किनकि पिताले मलाई पुरा गर्न दिनुभएका कामहरू र मैले गर्ने कामहरूले नै मलाई पिताले पठाउनुभएको हो भन्‍ने गवाही दिन्छन् ।
37मलाई पठाउनुहुने पिता आफैँले मेरो विषयमा गवाही दिनुभएको छ । तिमीहरूले न उहाँको सोर सुनेका छौ न उहाँको रूप नै कहिल्यै देखेका छौ ।
38तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गरिरहेका छैनौ ।
39तिमीहरू धर्मशास्‍त्रमा खोज्दछौ, किनकि तिनमा तिमीहरूको निम्ति अनन्त जीवन छ भन्‍ने सोच्दछौ र यी नै धर्मशास्‍त्रहरूले मेरो विषयमा गवाही दिन्छन्,
40र तिमीहरू जीवन पाउन मकहाँ आउन तत्पर छैनौ ।
41म मनिसहरूबाट प्रशंसा प्राप्‍त गर्दिनँ,
42तर म जान्दछु, तिमीहरू आफैँमा परमेश्‍वरको प्रेम छैन ।
43म मेरा पिताको नाउँमा आएको छु, र तिमीहरू मलाई स्‍वीकार गर्दैनौ । यदि आफ्नै नाउँमा अर्को कोही आउने हो भने तिमीहरूले त्यसलाई स्वीकार गर्छौ ।
44एक अर्कोबाट प्रशंसा खोज्‍ने तर परमेश्‍वरबाट मात्र आउने प्रशंसा नखोज्‍नलाई तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ ?
45पिताको सामु तिमीहरूलाई म आफैँले दोष लगाउँछु भन्‍ने तिमीहरू नसोच । तिमीहरूले आशा राखेका मोशाले नै तिमीहरूलाई दोष लगाउँछन् ।
46यदि तिमीहरूले मोशामा विश्‍वास गर्थ्यौ भने तिमीहरूले ममा पनि विश्‍वास गर्ने थियौ, किनकि उनले मेरो विषयमा लेखे ।
47यदि तिमीहरूले उनले लेखेका कुराहरूमा विश्‍वास गर्दैनौ भने तिमीहरूले मेरो वचनमा कसरी विश्‍वास गर्छौ र ?”

Read यूहन्‍ना 5यूहन्‍ना 5
Compare यूहन्‍ना 5:9-47यूहन्‍ना 5:9-47