13येशूले तिनलाई जवाफ दिनुभयो, र भन्नुभयो, “हरेक जसले यो पानी पिउँछ, त्यो फेरि तिर्खाउनेछ,
14तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्यसको अन्तस्करणमा अनन्त जीवनसम्मै उम्रिरहने पानीको मूल बन्नेछ ।”
15स्त्रीले उहाँलाई भनिन्, “महाशय, मलाई यो पानी दिनुहोस्, ताकि म फेरि तिर्खाउनेछैन र यहाँ पानी लिन आउनुपर्नेछैन ।”
16येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो लोग्नेलाई बोलाऊ, र यहाँ आऊ ।”
17स्त्रीले उहाँलाई जवाफ दिइन् र भनिन्, “मेरो लोग्ने छैन ।” येशूले जवाफ दिनुभयो, “‘मेरो लोग्ने छैन’ भनी तिमीले साँचो भनेकी छ्यौ ।
18किनकि तिम्रा पाँच जना लोग्ने भइसकेका छन् र अहिले भएको पनि तिम्रो लोग्ने होइन । तिमीले भनेकी कुरो साँचो हो ।”
19स्त्रीले उहाँलाई भनिन्, “महाशय, तपाईं अगमवक्ता हुनुहुन्छ भनी म देख्छु ।
20हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे, तर मानिसहरूले आराधना गर्नुपर्ने स्थान यरूशलेम नै हो भनी तपाईंहरू भन्नुहुन्छ ।”
21येशूले तिनलाई भन्नुभयो, “हे नारी, मलाई विश्वास गर । समय आइरहेको छ, तिमीहरूले पितालाई न यो पर्वतमा न त यरूशलेममा नै आराधना गर्नेछौ ।
22तिमीहरूले जे जान्दैनौ, त्यसैको आराधना गर्छौ । हामी जे जान्दछौँ, त्यसैको आराधना गर्छौं, किनकि उद्धार यहूदीहरूबाट नै आउँछ ।
23तापनि, साँचा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्ने बेला आइरहेको छ र त्यो अहिले नै हो, किनकि पिताले आफ्ना आराधकहरू हुन यस्ता मानिसहरूको खोजी गर्दै हुनुहुन्छ ।
24परमेश्वर आत्मा हुनुहुन्छ र उहाँलाई आराधना गर्ने मानिसहरूले उहाँलाई आत्मा र सत्यतामा आराधना गर्नुपर्छ ।”
25स्त्रीले उहाँलाई भनिन्, “(ख्रीष्ट भनिने) मसीह आउँदै हुनुहुन्छ भन्ने मलाई थाहा छ, जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ ।”