15ताकि उहाँमा विश्वास गर्ने सबैले अनन्त जीवन पाऊन् ।
16किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् ।
17किनकि परमेश्वरले यस संसारलाई दण्ड दिन होइन, तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो ।
18उहाँमा विश्वास गर्ने दण्डित हुँदैन, तर उहाँमा विश्वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्वरका एक मात्र पुत्रको नाउँमा विश्वास गरेको छैन ।
19न्यायको कारण यही होः ज्योति संसारमा आउनुभएको छ, र मानिसहरूले ज्योतिभन्दा अन्धकारलाई नै रुचाए, किनभने तिनीहरूका कामहरू दुष्ट थिए ।
20किनकि दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् ।
21तापनि सत्य काम गर्ने ज्योतिमा आउँछ, ताकि परमेश्वरमा गरिएका त्यसका कामहरू प्रकट होऊन् ।
22त्यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्तिस्मा दिनुभयो ।
23अहिले यूहन्नाले पनि सालीम नजिकैको एनोनमा बप्तिस्मा दिइरहेका थिए, किनभने त्यहाँ धेरै पानी थियो । मानिसहरू उनीकहाँ आइरहेका थिए, र तिनीहरूले बप्तिस्मा लिँदै थिए ।
24किनकि यूहन्ना यस बेलासम्म झ्यालखानामा परेका थिएनन् ।
25त्यहाँ यूहन्नाका केही चेलाहरू र एक जना यहूदीबिच विधिवत् शुद्धिकरणको विषयमा विवाद भयो ।
26तिनीहरू यूहन्नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्तिले बप्तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”
27यूहन्नाले जवाफ दिए “मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै पनि कुरा प्राप्त गर्न सक्दैन ।
28तिमीहरू आफैँ गवाही दिन सक्छौ, कि मैले भनेँ, ‘म ख्रीष्ट होइनँ,’ तर बरु ‘म उहाँभन्दा अगि पठाइएको हुँ ।’
29दुलहीचाहिँ दुलहाको नै हो । दुलहाको छेउमा खडा हुने र उहाँको आवाज सुन्ने साथी दुलहाको आवाज सुनेर धेरै आनन्दित हुन्छ । तब मेरो आनन्द पुरा हुनेछ ।
30उहाँ बढ्नुपर्छ र म घट्नुपर्छ ।
31माथिबाट आउनुहुने सबैभन्दा माथि हुनुहुन्छ । जो पृथ्वीबाटको हो त्यो पृथ्वीकै हो, र त्यसले पृथ्वीका कुराहरू बोल्दछ । जो स्वर्गबाट आउनुहुन्छ, उहाँ सबैभन्दा माथि हुनुहुन्छ ।
32उहाँले जे देख्नु र सुन्नुभएको छ, त्यसको गवाही दिनुहुन्छ, तर उहाँको गवाही कसैले स्वीकार गर्दैन ।