24तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौँ, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौँ ।” धर्मशास्त्रको वचन पुरा होस् यसो भएको थियो, “तिनीहरूले मेरो वस्त्र आपसमा भाग लगाए; तिनीहरूले मेरो वस्त्रको लागि चिट्ठा हाले ।”
25सिपाहीहरूले यी कुराहरू गरे । येशूकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी येशूको क्रुसको छेउमा उभिरहेका थिए ।
26जब येशूले आफ्नी आमा र आफूले माया गर्नुभएका चेलालाई नजिकै उभिएको देख्नुभयो, उहाँले आफ्नी आमालाई भन्नुभयो, “हे नारी, हेर्नुहोस्, तपाईंका छोरा !”
27तब उहाँले ती चेलालाई भन्नुभयो, “हेर, तिम्री आमा !” त्यस बेलादेखि ती चेलाले तिनलाई आफ्नो घरमा लगे ।
28यसपछि येशूले सबै थोक पुरा गरिएको थियो भन्ने जान्नुभएको हुनाले धर्मशास्त्र पुरा हुनको लागि उहाँले भन्नुभयो, “मलाई तिर्खा लाग्यो ।”
29अमिलो मद्यले भरिएको एउटा भाँडा त्यहाँ राखिएको थियो । त्यसैले, तिनीहरूले अमिलो दाखमद्यले भरिएको स्पन्जलाई हिसपको हाँगामा चोपेर उहाँको मुखमा राखिदिए ।
30जब येशूले अमिलो लिनुभयो, उहाँले भन्नुभयो, “सिद्धियो ।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्मा त्याग्नुभयो ।
31यो तयारीको दिन भएको, र शबाथको अवधिमा शरीर क्रुसमा नरहोस् भन्ने हेतुले (किनकि शबाथ महत्त्वपूर्ण दिन थियो), यहूदीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर तिनीहरूलाई हटाउनलाई आग्रह गरे ।
32तब सिपाहीहरू आए, र येशूसँगै क्रुसमा टाँगिएका पहिलो र दोस्रो मानिसका खुट्टा भाँचीदिए ।
33जब तिनीहरू येशूकहाँ आए, तिनीहरूले उहाँको मृत्यु अगि नै भइसकेको देखे । त्यसैले, तिनीहरूले उहाँका खुट्टा भाँचेनन् ।
34तापनि सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखमा भालाले घोचे, र तत्कालै रगत र पानी निस्क्यो ।
35जसले यो देखे तिनले यो गवाही दिएका छन्, र तिनको गवाही सत्य छ । तिनले भनेको सत्य हो भनी तिनी जान्दछन् छन्, र तिमीहरूले विश्वास गर ।
36यी कुराहरू यस हेतुले भए, ताकि धर्मशास्त्र पुरा होस्, “उहाँको एउटै पनि हड्डी भाँचिनेछैन ।”
37फेरि, अर्को धर्मशास्त्रले भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे ।”
38यी कुराहरूपछि अरिमाथियाका योसेफ येशूका चेला भएका हुनाले (तर यहूदीहरूको डरले तिनी गुप्तमा मात्र चेला थिए) तिनले येशूको शरीरलाई लान पाऊँ भनी पिलातससँग अनुरोध गरे । पिलातसले तिनलाई अनुमति दिए । त्यसकारण योसेफ आए, र उहाँको शरीर लगे ।
39निकोदेमस पनि आए जो पहिले येशूकहाँ राति आएका थिए । तिनले झण्डै तेत्तिस किलो मूर्र र एलवाको मिश्रण ल्याए ।
40त्यसैले, तिनीहरूले येशूको शरीरलाई लगे र दफनको निम्ति यहूदीहरूको चलनअनुसार मसलासहित सुती कपडाले बेह्रे ।
41अब उहाँलाई क्रुसमा झुण्ड्याइएको ठाउँमा एउटा बगैँचा थियो, र त्यो बगैँचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कुनै व्यक्तिलाई गाडिएको थिएन ।