15पावललाई डोर्याइरहेका मानिसहरूले उनलाई एथेन्स सहरसम्म लगे । पावललाई त्यहाँ छोडेर फर्कंदा पावलले तिनीहरूसँग सिलास र तिमोथीलाई जति सक्दो छिट्टो उनीकहाँ आउनू भन्ने निर्देशन दिएर पठाए ।
16पावलले सिलास र तिमोथीलाई एथेन्समा पर्खंदै गर्दा, त्यो सहर मूर्ती नै मूर्तीले भरिएको देखेर उनको आत्मा उनीभित्र वेचैन भयो ।
17यसैकारण उनले यहूदीहरू र परमेश्वरको आराधना गर्नेहरूसँग सभाघरहरूमा र बजारमा दिनहुँ भेटिने मानिसहरूसँग पनि यसको बारेमा बहस गरे ।
18तर त्यहाँ कतिजना एपिक्युरी र स्तोइकी दार्शनिकहरूसँग पनि उनको विवाद भयो । र केहीले यसो भने, “यो बकबकेले के भन्न खोज्दैछ ?” अरूहरूले भने, “ऊ त विदेशी देवताहरूको प्रचारक जस्तो देखिन्छ ।” किनभने उनले येशू र उहाँको पुनरुत्थानको बारेमा प्रचार गर्दै थिए ।
19तिनीहरूले पावललाई अरिओपागसमा ल्याए, र उनलाई सोधे, “के हामी तपाईंले बताइरहनुभएको नयाँ शिक्षाको बारेमा जान्न सक्छौँ ?
20किनभने तपाईंले केही अनौठा कुराहरू हाम्रो कानमा ल्याउँदै हुनुहुन्छ । त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्न चाहन्छौँ ।”
21(अब सबै एथेन्सबासीहरू र त्यहाँ बस्ने परदेशीहरूले अरूलाई नयाँ कुराहरू बताउने र नयाँ कुराहरूको बारेमा सुन्ने बाहेक अन्य केही कुरामा समय बिताउँदैनथे । )
22त्यसैले पावल अरिओपागसको बिचमा उभिए र यसो भने, “एथेन्सबासी हो, तपाईंहरू हरेक क्षेत्रमा धार्मिक हुनुहुन्छ भन्ने कुरा मैले देखेँ ।
23किनिक यहाँ हिँड्दै गर्दा मैले तपाईंहरूले पुज्ने वस्तुहरू देखेँ । मैले यस्तो एउटा वेदी पनि देखेँ, जसमा ʻअज्ञात ईश्वरका निम्तिʼ भन्ने कुँदिएको थियो । यसकारण जसलाई तपाईंहरूले नजानिकन पुज्नुहुन्छ, तिनै ईश्वरको बारेमा म तपाईंहरूलाई बताउँछु ।
24परमेश्वर जसले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको कारण उहाँ मानिसका हातहरूले बनाएका मन्दिरहरूमा बस्नुहुन्न ।
25न त उहाँलाई केही कुराको खाँचो परेजस्तै मानिसका हातद्वारा सेवा गरिनुपर्छ, किनकि उहाँले नै मानिसहरूलाई जीवन, सास र सबै थोक दिनुहुन्छ ।
26उहाँले एउटा मानिसबाट पृथ्वीमा रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू र तिनीहरू बस्ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो ।
27यसैकारण उनीहरूले तिनै परमेश्वरलाई खोजून् र सायद तिनीहरूले उहाँलाई खोजेर पाउनेछन् । वास्तवमा उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्न ।
28किनकि हामी उहाँमा नै जिउँछौँ र हिँडडुल गर्छौं र उहाँमै हाम्रो अस्तित्व छ, जसरी तपाईंहरूका आफ्नै कविहरूले भनेका छन्: ʻकिनकि हामीहरू पनि उहाँकै सन्तान हौँ ।ʼ
29यसकारण हामी परमेश्वरका सन्तान भएका हुनाले परमेश्वरलाई मानिसको कला वा विचारअनुसार सुन वा चाँदी वा ढुङ्गाबाट खोपेर बनाइएको चीज हो भनी ठान्नु हुँदैन ।
30यसकारण परमेश्वरले पहिलेको अज्ञानताको समयलाई ध्यान दिनुभएन, तर अहिले परमेश्वरले सबै ठाउँका सारा मानिसहरूलाई आफ्नो पापको पश्चात्ताप गर्ने आज्ञा गर्नुहुन्छ ।
31किनभने उहाँले एक दिन निश्चित गर्नुभएको छ, जुन दिन आफूले चुन्नु भएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई यी मानिसको बारेमा प्रमाण दिनुभएको छ ।”
32जब एथेन्सका मानिसहरूले मृत्त व्यक्तिको पुनरुत्थानको बारेमा सुने, कसै-कसैले पावललाई गिज्याए तर अरूहरूले यसो भने, “हामी यो विषयमा तपाईंबाट फेरि सुन्नेछौँ ।”
33त्यसपछि पावलले तिनीहरूलाई छोडेर गए ।