1पावल डर्बी र लुस्त्रामा पनि आए, त्यहाँ तिमोथी नाउँ गरेका एक जना चेला पनि थिए । उनी एउटी विश्वासी यहूदी स्त्रीका छोरा थिए भने उनका बाबुचाहिँ ग्रीक थिए ।
2लुस्त्रा र आइकोनियमका भाइहरूले तिमोथीका बारेमा असल कुरा भन्थे ।
3पावलले तिमोथीलाई आफूसँगै यात्रामा लान चाहन्थे, यसकारण उनले तिमोथीलाई आफूसँगै लगे र तिनको खतना गरे किनभने ती इलाकाहरूमा यहूदीहरू पनि थिए र उनका बाबु ग्रीक हुन् भनेर तिनीहरू सबैलाई थाहा थियो ।
4ती सहरहरूको यात्रा गर्दैजाँदा उनीहरूले मण्डलीहरूमा पालन गर्नुपर्ने निर्देशनहरू दिए जुन निर्देशनहरू प्रेरितहरूले र अगुवाहरूले यरूशलेममा लेखेर दिएका थिए ।
5यसरी मण्डलीहरू विश्वासमा बलियो हुँदै र दिन प्रतिदिन संख्यामा वृद्धि हुँदै गइरहे ।
6एसियामा वचन प्रचार गर्न उनीहरूलाई पवित्र आत्माले मनाही गर्नुभएको हुँदा, पावल र उनका साथीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरू हुँदै अगि बढे ।
7जब उनीहरू माइसियाको नजिक आइपुगे उनीहरूले बिथिनिया जान प्रयास गरे, तर येशूका आत्माले उनीहरूलाई रोक्नुभयो ।
8त्यसैले माइसियाहुँदै अगाडि बढ्दै जाँदा, उनीहरू त्रोआस सहरमा झरे ।
9रातको समयमा पावलले एउटा दर्शन देखे जसमा माकेडोनियाका एकजना व्यक्ति उभिएर उनलाई यसो भनिरहेका थिए, “माकेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस् ।”
10पावलले त्यो दर्शन देखेपछि, परमेश्वरले हामीलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो भन्ने निष्कर्ष निकालेर हामीहरू तुरुन्तै माकेडोनियाको बाटोतर्फ लाग्यौँ ।
11त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौँ र अर्को दिन हामी नियापोलिस पुग्यौँ,
12त्यहाँबाट रोमी उपनिवेशको एकदमै महत्त्वपूर्ण जिल्लाको फिलिप्पी गयौँ जुनचाहिँ माकेडोनियाको एउटा सहर हो । हामी त्यस सहरमा धेरै दिनसम्म बस्यौँ ।
13सबाथ-दिनमा हामी सहरको ढोकाबाट बाहिर नदी किनारमा पुग्यौँ जहाँ प्रार्थना गर्ने ठाउँ होला भन्ने हामीले ठान्यौँ । हामी बस्यौँ र जम्मा भएका स्त्रीहरूसँग कुरा गर्यौँ ।
14त्यहाँ थिआटिरा सहरमा बसोबास गर्ने लिडिया नाउँ गरेकी एउटी स्त्री थिइन् जो वैजनी रङको वस्त्रको व्यापारी थिइन् । जसले परमेश्वरको आराधना गर्थिन् र हाम्रो कुरालाई ध्यान दिएर सुनिन् । पावलले भनेका कुरा तिनले ध्यानपूर्वक सुनून् भनेर परमप्रभुले तिनको हृदय खोलिदिनुभयो ।
15तिनी र तिनका परिवार सबैजनालाई बप्तिस्मा दिएपछि तिनले हामीलाई यसो भन्दै आग्रह गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुप्रति विश्वासयोग्य ठान्नुहुन्छ भने मेरो घरमा आएर बस्नुहोस् ।” भनी हामीलाई मनाइन् ।
16हामीहरू प्रार्थना गर्ने स्थानतर्फ जाँदै गर्दा, जोखना हेर्ने एउटी जवान स्त्रीसँग हाम्रो सामना भयो । त्यसले जोखना हेरेर आफ्ना मालिकहरूका निम्ति धेरै धन कमाइदिन्थी ।
17त्यो स्त्री यसो भन्दै पावल र हाम्रो पछि लागी, “यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन् । यिनीहरूले तपाईंहरूलाई मुक्तिको बाटो घोषणा गर्छन् ।”
18त्यसले धेरै दिनसम्म त्यसो गरिरही । तर त्यसबाट धेरै झिजो मानेर पावलले पछाडितिर फर्केर त्यो आत्मालाई भने, “येशू ख्रीष्टको नाउँमा म तँलाई यसबाट निस्केर जाने आज्ञा दिन्छु ।” र त्यो तुरुन्तै निस्केर गयो ।
19जब त्यस स्त्रीका मालिकहरूले आफ्नो कमाइको आशा गुम्नेभयो भन्ने थाहा पाए, तिनीहरूले पावल र सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अगि लगे ।
20तिनीहरूले पावल र सिलासलाई न्यायाधीशहरूकहाँ ल्याएर भने, “यिनीहरू यहूदीहरू हुन् र हाम्रो सहरमा एकदमै समस्या खडा गरिरहेका छन् ।