1कैसरिया सहरमा कर्नेलियस नाउँका एक जना मानिस थिए जो इटालिया नामक पल्टनका कप्तान थिए ।
2तिनी ईश्वरभक्त मानिस थिए । तिनी र तिनका सारा घरानाले परमेश्वरको आराधना गर्थे । तिनले यहूदीहरूलाई धेरै रूपैयाँ-पैसा सहयोग गरे र तिनले सधैँ परमेश्वरलाई प्रार्थना चढाइरहन्थे ।
3दिउँसो तिन बजेतिर तिनले दर्शनमा परमेश्वरका एक स्वर्गदूत आफूतिर आइरहेको देखे । स्वर्गदूतले भने, “ए कर्नेलियस ”
4कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे र भयभीत हुँदै भने, “हजुर, भन्नुहोस् ।” स्वर्तदूतले तिनलाई भने, “तिम्रा प्रार्थना र तिमीले गरिबहरूलाई दिएका दान सम्झनायोग्य बलिको रूपमा परमेश्वरको उपस्थितिमा पुगेका छन् ।
5पत्रुस पनि भनेर चिनिने सिमोन भनिने मानिसलाई ल्याउन योप्पा शहरमा मानिसहरू पठाऊ ।
6तिनी सिमोन नामक चर्मकारसित बसिरहेका छन् जसको घर समुद्रको छेउमा छ ।”
7आफूसित बोल्ने स्वर्गदूत गएपछि कर्नेलियसले आफ्नो घरका दुई जना नोकर र तिनको सेवा गर्ने सिपाहीहरूमध्ये परमेश्वरलाई पुज्ने एक जना सिपाहीलाई बोलाए ।
8कर्नेलियसले तिनीहरूलाई सबै कुरा बताएर तिनीहरूलाई योप्पा पठाए ।
9भोलिपल्ट लगभग दिउँसोको बाह्र बजेको थियो । तिनीहरू यात्रा गरेर शहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले ।
10तिनी भोकाए र तिनलाई केही खान मन लाग्यो । तर मानिसहरूले खानेकुरा पकाइरहँदा तिनीले एउटा दर्शन देखे ।
11तिनले आकास खुलेको र एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे जुन चारै कुनामा बाँधिएको एउटा ठुलो तन्नाजस्तो थियो ।
12त्यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू, पृथ्वीमा घस्रने जन्तुहरू र आकासका चराचुरुङ्गीहरू थिए ।
13त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “पत्रुस, उठ अनि मारेर खाऊ ।”
14तर पत्रुसले भने, “हुँदैन प्रभु । किनकि मैले कहिल्यै अशुद्ध र अपवित्र कुराहरू खाएको छैनँ ।”
15तर त्यो आवाज दोस्रो पटक पनि तिनीकहाँ आयोः “परमेश्वरले जेलाई शुद्ध पार्नुभएको छ तिमीले त्यसलाई अशुद्ध नभन ।”
16तिन पटकसम्म यसै भयो । त्यसपछि त्यो तन्नाजस्तो वस्तु तुरुन्तै आकासतिर लगियो ।
17आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस अन्योलमा परिरहँदा कर्नेलियसले पठाइएका मानिसहरू ढोकाको सामु खडा भए । तिनीहरू घर खोज्दै त्यहाँ आइपुगेका थिए ।
18पत्रुस भनिने सिमोन त्यहाँ बसिरहेका छन् कि छैनन् भनी तिनीहरूले सोधे ।
19पत्रुसले दर्शनको बारेमा अझै सोचिरहेकै बेला पवित्र आत्माले तिनलाई भन्नुभयो, “हेर, तिन जना मानिसले तिम्रो खोजी गर्दैछन् ।
20उठ र तल जाऊ अनि तिनीहरूसँगै लाग । तिनीहरूसँगै जानदेखि नडराऊ किनकि मैले नै तिनीहरूलाई पठाएको हुँ ।”
21त्यसैले, पत्रुस ती मानिसहरूकहाँ ओर्ले र तिनले भने, “तपाईंहरूले खोजिरहनुभएको व्यक्ति मै हुँ । तपाईंहरू किन आउनुभएको ?”
22तिनीहरूले भने, “परमेश्वरको आराधना गर्ने कर्नेलियस नाउँ गरेका कप्तान धर्मी मानिस हुनुहुन्छ जो सारा यहूदी जातिको बिचमा प्रसिद्ध हुनुहुन्छ । परमेश्वरका पवित्र स्वर्गदूतले तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई आज्ञा दिए ताकि उहाँले तपाईंको सन्देश सुन्न सकून् ।”
23त्यसैले, पत्रुसले तिनीहरूलाई भित्र आई तिनी र तिनका मानिसहरूसित बस्न निमन्त्रणा दिए । भोलिपल्ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए । योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे ।
24अर्को दिन तिनीहरू कैसरिया आइपुगे । कर्नेलियसले तिनीहरूको प्रतीक्षा गर्दै थिए । तिनले आफ्ना नातेदारहरूसाथै घनिष्ठ मित्रहरूलाई पनि बोलाएका थिए ।