2भोजको घरमा जानुभन्दा शोकको घरमा जानु उत्तम हुन्छ, किनकि जीवनको अन्त्यमा सबै मानिसका शोक आउँछ । जीवित मानिसहरूले यसलाई मनमा राख्नैपर्छ ।
3हाँसोभन्दा अफसोस उत्तम हो, किनकि शोकित अनुहारपछि हृदयको प्रसन्नता आउँछ ।
4बुद्धिमान्को हृदय शोकको घरमा हुन्छ, तर मूर्खहरूको हृदय भोजको घरमा हुन्छ ।
5मूर्खहरूको गीत सुन्नुभन्दा बुद्धिमान्को हप्की सुन्नु उत्तम हो ।
6किनभने मूर्खहरूको हाँसो भाँडामुनि पड्कने काँढाको आगोझैँ हुन्छ । यो पनि बाफ हो ।
7करकापले निश्चय नै बुद्धिमान् मानिसलाई मूर्ख बनाउँछ, र घुसले हृदयलाई भ्रष्ट पार्छ ।
8कुनै पनि कुरो सुरुभन्दा अन्त्य राम्रो हो, र हृदयमा घमण्ड हुनुभन्दा हृदयमा धैर्यवान् हुनु उत्तम हुन्छ ।
9आत्मामा क्रोधित हुन हतार नगर्, किनकि क्रोधले मूर्खहरूको हृदयमा बास गर्छ ।
10यसो नभन्, “यीभन्दा पाकाहरूका दिन किन उत्तम हुन्छ ?” किनकि बुद्धिको कारण तैँले यो प्रश्न सोधेको होइन ।
11पैतृक-सम्पत्तिजस्तै बुद्धि राम्रो कुरो हो । यसले सूर्य देख्नेहरूलाई लाभ दिन्छ ।
12किनकि रुपियाँ-पैसाले सुरक्षा दिएजस्तै बुद्धिले पनि सुरक्षा दिन्छ, तर ज्ञानको फाइदा यही हो, कि बुद्धि भएको मानिसलाई यसले जीवन दिन्छ ।
13परमेश्वरका कामहरूलाई विचार गर्: उहाँले बाङ्गो बनाउनुभएकोलाई कसले सिधा पार्न सक्छ ?
14समय राम्रो हुँदा त्यस राम्रो समयमा खुसी भएर बस्, तर समय नराम्रो हुँदा यो कुरा विचार गर्: परमेश्वरले दुवैलाई आमनेसामने रहने अनुमति दिनुभएको छ । यही कारणले गर्दा मानिसको पछि के हुँदै छ भनी कसैले पत्ता लगाउने छैन ।
15मेरा बेकम्मा दिनहरूमा मैले धेरै कुराहरू देखेको छु । धर्मात्माहरूको धार्मिकताको बाबजुत पनि तिनीहरू नष्ट हुन्छ, र दुष्टहरूको दुष्टताको बाबजुत पनि तिनीहरू धेरै वर्षसम्म बाँच्छन् ।
16स्वधर्मी नबन्; तेरो आफ्नै दृष्टिमा बुद्धिमान् नबन् । तँ किन आफैलाई नष्ट गर्छस् ?
17ज्यादै दुष्ट र मूर्ख नबन् । तेरो समय आउनुअगि नै तँ किन मर्छस् ?