Text copied!
Bibles in Nepali (individual language)

यूहन्‍ना 5:14-37 in Nepali (individual language)

Help us?

यूहन्‍ना 5:14-37 in पवित्र बाइबल

14 पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाउनुभयो र भन्‍नुभयो, “हेर, तिमी स्वस्थ भएका छौ । अब पाप नगर, ताकि तिमीमाथि योभन्दा झन् खराबी आइनपरोस् ।”
15 त्यो मानिस गयो र त्यसलाई स्वस्थ बनाउने येशू हुनुहुँदोरहेछ भनी त्यसले यहूदीहरूलाई बतायो ।
16 अब यी कुराहरूका कारणले यहूदीहरूले येशूलाई सताए, किनकि उहाँले यी कुराहरू विश्रामको दिनमा गर्नुभएको थियो ।
17 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा पिताले अहिले पनि काम गरिरहनुभएको छ र म पनि काम गरिरहेको छु ।”
18 यसले गर्दा यहूदीहरूले उहाँलाई झनै मार्न खोजे, किनकि उहाँले विश्राम दिन मात्र तोड्नुभएन, तर आफैँलाई परमेश्‍वर समान तुल्याएर परमेश्‍वरलाई पिता भन्‍नुभयो ।
19 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो, पिताले गरिरहनुभएको देख्‍नु बाहेक पुत्र आफैँले केही गर्न सक्दैन, किनकि पिताले जे गरिरहनुभएको छ पुत्रले पनि त्यही कुराहरू गर्छ ।
20 किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ अनि उहाँले उनलाई यी कुराहरूभन्दा पनि ठुला कुराहरू देखाउनुहुनेछ, ताकि तिमीहरू अचम्मित हुन सक ।
21 किनकि पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्छ, र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छ त्यसलाई जीवन दिन्छ ।
22 किनकि पिताले कसैको न्याय गर्नुहुन्‍न, तर उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ ।
23 त्यसैले, तिनीहरूले पितालाई आदर गरेझैँ, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उहाँलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन ।
24 साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ ।
25 साँचो, साँचो म तिमीहरूलाई भन्छु, समय आइरहेको छ र यो अहिले नै हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र ती सुन्‍नेहरू बाँच्‍नेछन् ।
26 किनकि जसरी पिता आफैँसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि ऊ आफैँसँग जीवन होस्,
27 र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ । किनकि ऊ मानिसका पुत्र हो ।
28 यस कुरामा तिमीहरू अचम्म नमान, किनकि चिहानमा हुनेहरूले उसको सोर सुन्‍ने समय आइरहेको छ,
29 र तिनीहरू चिहानबाट बाहिर आउनेछन्ः असल गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र दुष्‍ट काम गर्नेहरू न्यायको पुनरुत्थानको निम्ति ।
30 म आफैँले केही गर्न सक्दिनँ । म जस्तो सुन्छु त्यस्तै न्याय गर्छु र मेरो न्याय धार्मिक हुन्छ, किनकि मैले आफ्नो इच्छा खोजिरहेको छैनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोजिरहेको छु ।
31 यदि म आफैँले आफ्नै बारेमा गवाही दिने हो भने मेरो गवाही सत्य हुँदैनथ्यो ।
32 मेरो बारेमा गवाही दिनुहुने अर्को एक जना हुनुहुन्छ, र म जान्दछु, कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्य हुन्छ ।
33 तिमीहरूले यूहन्‍नाकहाँ पठाएका छौ र उनले सत्य गवाही दिएका छन् ।
34 तर मैले प्राप्‍त गर्ने त्यो गवाही मानिसबाट आएको होइन । तिमीहरूलाई बचाइयोस् भनी म यी कुराहरू भन्छु ।
35 यूहन्‍ना बोलिरहेका र चम्किरहेका बत्ती थिए र तिमीहरू उनको ज्योतिमा केही क्षणका लागि आनन्द मनाउन तत्पर थियौ ।
36 तैपनि मसँग भएको गवाही त्योभन्दा पनि महान् छ, किनकि पिताले मलाई पुरा गर्न दिनुभएका कामहरू र मैले गर्ने कामहरूले नै मलाई पिताले पठाउनुभएको हो भन्‍ने गवाही दिन्छन् ।
37 मलाई पठाउनुहुने पिता आफैँले मेरो विषयमा गवाही दिनुभएको छ । तिमीहरूले न उहाँको सोर सुनेका छौ न उहाँको रूप नै कहिल्यै देखेका छौ ।
यूहन्‍ना 5 in पवित्र बाइबल