Text copied!
CopyCompare
पवित्र बाइबल - याकूब

याकूब 5

Help us?
Click on verse(s) to share them!
1अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आउन लागेका कष्‍टहरूको कारण रोओ र विलाप गर ।
2तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन् ।
3तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको छ । तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ । त्यसले तिमीहरूका शरीरलाई आगोले झैँ नाश पार्नेछ । तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारिराखेका छौ ।
4हेर, ती खेतालाहरूको ज्याला उच्‍च सोरमा कराइरहेको छ– त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ, र ती खेतालाहरूको चित्कार सेनाहरूका परमप्रभुका कानसम्म पुगेको छ ।
5तिमीहरू पृथ्‍वीमा सुख विलासमा बसेका छौ र आफैँलाई तृप्‍त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्‍टपुष्‍ट पारेका छौ ।
6तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ र हत्या गरेका छौ । त्यसले तिमीहरूको विरोध गर्दैन ।
7त्यसकारण, भाइहरू हो, प्रभुको आगमनसम्म धैर्य धारण गर । किसानले जमिनबाट मूल्यवान् फसल पाउनलाई प्रतीक्षा गरेको हेर । त्यसले अगिल्लो र पछिल्लो वर्षा नपाएसम्म उसले त्यो धैर्यसँग प्रतीक्षा गरिरहन्छ ।
8तिमीहरू पनि धैर्य धारण गर । तिमीहरूको हृदयलाई बलियो बनाओ, किनभने प्रभुको आगमन नजिकै छ ।
9भाइहरू हो, तिमीहरूको इन्साफ नहोस् भनेर एक अर्काको विरुद्धमा गनगन नगर । हेर, न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ ।
10भाइहरू हो, प्रभुको नाममा बोल्ने अगमवक्ताहरूको कष्‍ट र धैर्यबाट एउटा उदाहरण लेओ ।
11हेर, जसले धैर्य धारण गरे हामी तिनीहरूलाई आशिषित मान्छौँ । तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ, र प्रभु कति धेरै दयालु र कृपालु हुनुहुन्छ भन्‍ने विषयमा प्रभुको उद्देश्य तिमीहरूलाई थाहा छ ।
12यी सबै कुराभन्दा माथि, मेरा भाइहरू हो, स्वर्गद्वारा वा पृथ्वीद्वारा वा कुनै पनि कुराद्वारा शपथ नखाओ । बरु, तिमीहरू इन्साफमा नपर्नको निम्ति तिमीहरूको “हो” को अर्थ चाहिँ “हो” र “होइन” को अर्थ चाहिँ “होइन” नै होस् ।
13के तिमीहरूका माझमा कसैले कष्‍ट भोगिरहेको छ ? उसले प्रार्थना गरोस् । के कोही आनन्दित छ ? उसले प्रशंसाको गीत गाओस् ।
14के तिमीहरूका माझमा कोही बिरामी छ ? उसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, अनि उनीहरूले त्यसलाई प्रार्थना गरून् । प्रभुको नाममा उनीहरूले उसलाई तेलले अभिषेक गरून् ।
15विश्‍वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले उसलाई माथि उठाउनुहुनेछ । यदि उसले पाप गरेको छ भने, परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछ ।
16त्यसकारण, एक अर्कामा आफ्ना पापहरू मानिलेओ, र एक अर्काका निम्ति प्रार्थना गर, ताकि तिमीहरू निको हुन सक । धर्मी मानिसको प्रार्थना आफ्नो काममा धेरै शक्‍तिशाली हुन्छ ।
17एलिया पनि हामीजस्तै मानिस थिए । पानी नपरोस् भनी उनले नम्रतापूर्वक प्रार्थना गरे, र देशमा तिन वर्ष र छ महिनासम्म पानी परेन ।
18अनि एलियाले फेरि प्रार्थना गरे । आकाशले पानी दियो र पृथ्वीले त्यसको फल उब्जायो ।

19मेरा भाइहरू हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट तर्किएर जान्छ, र कसैले उसलाई फर्काएर ल्याउँछ भने,
20त्यस व्यक्‍तिले यो थाहा गरोस्, कि जसले कुनै पापीलाई त्यसको भड्‌किएको मार्गबाट फर्काउँछ, उसले त्यसलाई मृत्युबाट बचाउनेछ, र असङ्ख्य पापलाई ढाक्‍नेछ ।