26 इस्राएलका राजाले आफ्ना अधिकारीलाई हुकुम दिए, “मीकायालाई समात्, अनि त्यसलाई सहरका शासक र मेरो छोरा योआशकहाँ लैजा ।”
27 त्यसलाई भन्, ‘राजा भन्नुहुन्छः यो मानिसलाई झ्यालखानामा हाल्, र म सुरक्षितसाथ नफर्केसम्म त्यसलाई थोरै रोटी र थोरै पानी मात्र खुवाउनू' ।”
28 तब मीकायाले भने, “तपाईं सुरक्षितसाथ आउनुभयो भने परमप्रभुले मद्वारा बोल्नुभएको होइन ।” तब तिनले थपे, “हे सारा मानिस हो, यो कुरा सुन ।”
29 त्यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए ।
30 इस्राएलका राजाले यहोशापातलाई भने, “म भेष बद्लेर युद्धमा जाने छु, तर तपाईंले आफ्नो राजकीय पोशाक पहिरिनुहोस् ।” त्यसैले इस्राएलका राजाले भेष बद्ले, र तिनी युद्धमा गए ।
31 अरामका राजाले आफ्ना रथहरूका बत्तिस जना सेनापतिलाई यसो भनी आज्ञा दिएका थिए, “साना-ठुला जोसुकैलाई आक्रमण नगर्नू । बरु, इस्राएलका राजालाई मात्र आक्रमण गर्नू ।”
32 जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले भने, “निश्चय नै यिनी इस्राएलका राजा हुन् ।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्कंदा यहोशापात चिच्च्याए ।
33 तिनी इस्राएलका राजा होइनन् रहेछ भनी जब रथहरूका सेनापतिहरूले देखे तिनीहरू तिनको पिछा गर्नबाट फर्के ।
34 तर एक जना सेनापतिले जथाभावी काँड हाने, र त्यस काँडले इस्राएलका राजाको कवचको जोर्नीमा लाग्यो । तब आहाबले आफ्नो सारथीलाई भने, “फर्की, र मलाई युद्धबाट बाहिर लैजा, किनकि मलाई बेसरी चोट लागेको छ ।”