Text copied!
Bibles in Nepali (individual language)

१ राजाहरू 22:11-33 in Nepali (individual language)

Help us?

१ राजाहरू 22:11-33 in पवित्र बाइबल

11 केनानका छोरा सिदकियाहले चाहिँ फलामका सिङहरू बनाएका थिए । तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'अरामीहरू नष्ट नभएसम्म तिमीहरूले तिनीहरूलाई यसैले दण्ड दिनू' ।”
12 तब सबै अगमवक्ताले यसो भनी अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गरी विजयी हुनुहोस् किनकि परमप्रभुले यो राजाको हातमा सुम्पिदिनुभएको छ ।”
13 मीकायालाई बोलाउन गएका सन्देशवाहकले तिनलाई भने, “अब हेर्नुहोस्, अगमवक्ताहरूका वचनहरूले एउटै मुखले राजालाई असल कुरा भन्छन् । तपाईंको वचन तिनीहरूको जस्तै होस् र असल कुराहरू भन्नुहोस् ।”
14 मीकायले जवाफ दिए, “परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, कि परमप्रभुले मलाई जे भन्नुहुन्छ, म त्यही भन्ने छु ।”
15 जब तिनी राजाकहाँ आए राजाले तिनलाई भने, “मीकाया, हामी युद्धको लागि रामोत-गिलादमा जाऊँ कि नजाऊँ ?” मीकायाले तिनलाई जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस् । परमप्रभुले यो तपाईंको हातमा सुम्पिदिनुहुने छ ।”
16 तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा अरू कुरा नभनी साँचो कुरा मात्र भन्नू भनी म तिमीलाई कति पटक शपथ खान लगाऊँ ?”
17 तब मीकायाले भने, “मैले गोठाला नभएका भेडाझैँ सारा इस्राएल पहाडहरूतिर तितर-बितर भएको देखेँ, र परमप्रभुले भन्नुभयो, 'तिनीहरूसित कुनै गोठालो छैन । हरेक मानिस शान्तिसित आफ्नै घरमा फर्कोस्' ।”
18 त्यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल कुरा नभई केवल विपत्तिको बारेमा अगमवाणी बोल्छन् भनी के मैले तपाईंलाई भनेको होइन र ?”
19 तब मीकायाले भने, “त्यसकारण परमप्रभुको वचन सुन्नुहोस्: मैले परमप्रभुलाई उहाँको सिंहासनमा विराजमान हुनुभएको अनि उहाँको दाहिने र देब्रे हातपट्टि उहाँनेर सबै स्वर्गीय सेना उभिरहेका देखेँ ।
20 परमप्रभुले भन्नुभयो, 'आहाब रामोत-गिलादमा उक्लेर गई त्यहाँ त्यसको पतन होस् भन्नाका लागि त्यसलाई कसले बहकाउने छ ?’ एउटाले एउटा कुरा भन्यो र अर्कोचाहिँले अर्कै कुरा भन्यो ।
21 तब एउटा आत्मा अगाडि बढी त्यो परमप्रभुको सामु उभियो । त्यसले भन्यो, 'म तिनलाई उक्साउने छु ।' परमप्रभुले त्यसलाई भन्नुभयो, 'कसरी ?’
22 आत्माले जवाफ दियो, 'म बाहिर जाने छु, र तिनका सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा बन्ने छु ।' परमप्रभुले भन्नुभयो, 'तैँल त्यसलाई बहकाउने छस्, र तँ सफल पनि हुने छस् । अब जा र त्यसै गर् ।'
23 त्यसैले अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा हालिदिनुभएको छ, र परमप्रभुले तपाईंको लागि विपत्तिको घोषणा गर्नुभएको छ ।”
24 तब केनानका छोरा सिदकियाह माथि उक्लेर आई मीकायाको गालामा थप्पड हानेर भने, “तिमीसित बोल्न परमप्रभुका आत्मा मबाट कुनचाहिँ बाटो भएर जानुभयो त ?”
25 मीकायाले भने, “हेर, तिमी भित्र कोठामा लुक्न जाँदा त्यस दिन तिमी आफैले देख्ने छौ ।”
26 इस्राएलका राजाले आफ्ना अधिकारीलाई हुकुम दिए, “मीकायालाई समात्, अनि त्यसलाई सहरका शासक र मेरो छोरा योआशकहाँ लैजा ।”
27 त्यसलाई भन्, ‘राजा भन्नुहुन्छः यो मानिसलाई झ्यालखानामा हाल्, र म सुरक्षितसाथ नफर्केसम्म त्यसलाई थोरै रोटी र थोरै पानी मात्र खुवाउनू' ।”
28 तब मीकायाले भने, “तपाईं सुरक्षितसाथ आउनुभयो भने परमप्रभुले मद्वारा बोल्नुभएको होइन ।” तब तिनले थपे, “हे सारा मानिस हो, यो कुरा सुन ।”
29 त्यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए ।
30 इस्राएलका राजाले यहोशापातलाई भने, “म भेष बद्लेर युद्धमा जाने छु, तर तपाईंले आफ्नो राजकीय पोशाक पहिरिनुहोस् ।” त्यसैले इस्राएलका राजाले भेष बद्ले, र तिनी युद्धमा गए ।
31 अरामका राजाले आफ्ना रथहरूका बत्तिस जना सेनापतिलाई यसो भनी आज्ञा दिएका थिए, “साना-ठुला जोसुकैलाई आक्रमण नगर्नू । बरु, इस्राएलका राजालाई मात्र आक्रमण गर्नू ।”
32 जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले भने, “निश्चय नै यिनी इस्राएलका राजा हुन् ।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्कंदा यहोशापात चिच्च्याए ।
33 तिनी इस्राएलका राजा होइनन् रहेछ भनी जब रथहरूका सेनापतिहरूले देखे तिनीहरू तिनको पिछा गर्नबाट फर्के ।
१ राजाहरू 22 in पवित्र बाइबल