Text copied!
Bibles in Nepali (individual language)

१ राजाहरू 20:28-40 in Nepali (individual language)

Help us?

१ राजाहरू 20:28-40 in पवित्र बाइबल

28 तब एक जना परमेश्वरका जन नजिक आई इस्राएलका राजालाई भने, “परमप्रभु भन्नुहुन्छ, 'अरामीहरूले परमप्रभु पहाडहरूका ईश्वर हुनुहुँदोरहेछ, उपत्यकाको ईश्वर होइन रहेछ भनी भनेकाले म यो विशाल सेनालाई तेरो हातमा सुम्पिदिने छु, र म नै परमप्रभु हुँ भनी तैँले थाहा पाउने छस्' ।”
29 त्यसैले सेनाहरूले सात दिनसम्म एक-अर्काको सामुन्ने छाउनी हाले । अनि सातौँ दिनमा युद्ध सुरु भयो । इस्राएलका मानिसहरूले एकै दिनमा एक लाख पैदल अरामीलाई मारे ।
30 बाँकी रहेकाहरू अपेक सहरभित्र भागे, र सत्ताइस हजारमाथि पर्खाल ढलेर बज्र्यो । बेन-हदद भागेर सहरको भित्री कोठामा गए ।
31 बेन-हददका अधिकारीहरूले तिनलाई भने, “अब हेर्नुहोस्, इस्राएलको घरानाका राजाहरू कृपालु छन् भनी हामीले सुनेका छौँ । हाम्रा कम्मरको वरिपरि भाङ्ग्रा लगाएर शिरका वरिपरि फेटा बाँधेर इस्राएलका राजाकहाँ जाऔँ । सायद तिनले तपाईंको ज्यान जोगाउनुहुने छ ।”
32 त्यसैले तिनीहरूले आ-आफ्ना कम्मरवरिपरि भाङ्ग्रा लगाए, र शिरमा फेटा बाँधे अनि इस्राएलका राजाकहाँ आई भने, 'तपाईंका दास बेन-हददले भन्नुभएको छ, 'कृपया, मलाई बाँच्न दिनुहोस्' ।” आहाबले भने, “के तिनी अझै जिउँदै छन् ? तिनी त मेरा भाइ हुन् ।”
33 अब ती मानिसहरूले राजाबाट कुनै चिन्ह सुन्ने अपेक्षा गर्दै थिए । त्यसैले तिनीहरूले झट्टै उत्तर दिए, “ज्यू, हजुरका दास बेन-हदद जीवितै हुनुहुन्छ ।” तब बेन-हददले भने, “गएर तिनलाई ल्याओ ।” तब बेन-हदद तिनीकहाँ आए, र आहाबले तिनलाई आफ्नो रथमा चढाए ।
34 बेन-हददले आहाबलाई भने, “मेरा पिताले तपाईंका पिताबाट लिनुभएका सहरहरू म तपाईंलाई पुनर्स्थापित गरिदिने छु, र मेरा पिताले सामरियामा गरेझैँ तपाईंले आफ्नो लागि दमस्कसमा बजारहरू स्थापित गर्न सक्नुहुन्छ ।” आहाबले जवाफ दिए, “यो सम्झौतासहित म तिमीलाई छाडिदिने छु ।” त्यसैले आहाबले तिनीसित सम्झौता गरी तिनलाई जान दिए ।
35 अगमवक्ताका छोराहरूमद्ये कोही एक जनाले आफ्नो कुनै अगमवक्ता साथीलाई परमप्रभुको वचनद्वारा भने, “मलाई हिर्काऊ ।” तर ती मानिसले तिनलाई हिर्काउन इन्कार गरे ।
36 तब अगमवक्ताले आफ्ना मित्र अगमवक्तालाई भने, “तिमीले परमप्रभुको कुरा नमानेकाले तिमी मबाट जानेबित्तिकै एउटा सिंहले तिमीलाई मार्ने छ ।” ती मानिस प्रस्थान गर्नेबित्तिकै एउटा सिंह आएर तिनलाई मारिदियो ।
37 तब अगमवक्ताले अर्को मानिसलाई फेला पारी तिनलाई भने, “मलाई हिर्काऊ ।”
38 त्यसैले ती मानिसले तिनलाई हिर्काई घाइते बनाए । तब अगमवक्ता प्रस्थान गरे र बाटोनेर राजाको प्रतीक्षा गरे । तिनले आँखामा पट्टी बाँधेर गुप्त भेष बनाएका थिए ।
39 राजा त्यही बाटो भएर आउँदा अगमवक्ताले राजालाई बोलाएर भने, “तपाईंका दास युद्धको मुखैमा गएका थिए, र एक जना सिपाहीले मलाई रोकेर मकहाँ एक जना मानिस लिएर आई मलाई भन्यो, 'यो मानिसको रक्षा गर । कुनै कारणले गर्दा यो मानिस हरायो भने यसको सट्टामा तिमीले आफ्नो प्राण दिनुपर्ने छ वा तिमीले करिब चौँतिस किलोग्राम चाँदी तिर्नुपर्ने हुन्छ ।'
40 तर तपाईंका दास यताउता जाँदैमा व्यस्त भएकाले त्यो मानिस भाग्यो ।” तब इस्राएलका राजाले तिनलाई भने, “तेरो दण्ड यही हुने छ जुन तँ आफैले निधो गरिस् ।”
१ राजाहरू 20 in पवित्र बाइबल