Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 23:23-38 in Nepali (individual language)

Help us?

लेवीहरू 23:23-38 in पवित्र बाइबल

23 परमप्रभुले मोशालाई भन्‍नुभयो,
24 “इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूका निम्ति पवित्र विश्रामको दिन हुने छ, र त्यो दिन तुरही फुकेर सम्झना गरिने छ र पवित्र सभा हुने छ ।
25 तिमीहरूले आफ्ना दैनिक काम नगर्नू, र तिमीहरूले परमप्रभुका निम्ति आगोद्वारा बलि अर्पण गर्नू’ ।”
26 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,
27 “सातौँ महिनाको दसौँ दिन प्रायश्‍चित्तको दिन हो । त्यस बेला एउटा पवित्र सभा होस्, र तिमीहरूले आफैलाई नम्र बनाएर परमप्रभुको निम्ति आगोद्वारा बलि अर्पण गर्नू ।
28 त्यस दिन तिमीहरूले काम नगर्नू, किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरको अगि आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई त्यो दिन प्रायश्‍चित्तको दिन हो ।
29 त्यस दिन आफैलाई नम्र नबनाउने मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।
30 त्यस दिन कुनै पनि काम गर्ने मानिसलाई म परमप्रभुले नै त्यसका मानिसहरूका बिचमा नष्‍ट गर्ने छु ।
31 तिमीहरूले त्यस दिन कुनै पनि प्रकारको काम नगर्नू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका सबै वंशमा सदाको निम्ति यो विधि बनोस् ।
32 यो दिन तिमीहरूका निम्ति पवित्र विश्रामको शबाथ होस्, र त्यस महिनाको नवौँ दिनको साँझ तिमीहरूले आफैलाई नम्र बनाउनू । अर्को दिनको साँझसम्म तिमीहरूले शबाथ मान्‍नू ।”
33 परमप्रभुले मोशालाई भन्‍नुभयो,
34 “इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति छाप्रो-बासको चाड हुने छ । त्यो सात दिनसम्म रहने छ ।
35 पहिलो दिनमा पवित्र सभा होस् । तिमीहरूले आफ्ना दैनिक काम नगर्नू ।
36 सात दिनसम्म परमप्रभुलाई आगोद्वारा बलिदान अर्पण गर्नू । आठौँ दिनमा पवित्र सभा होस्, र तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिदान अर्पण गर्नू । यो एउटा पवित्र सभा हो, र तिमीहरूले आफ्ना दैनिक काम नगर्नू ।
37 यी परमप्रभुका निम्ति तोकिएका चाडहरू हुन्, जसलाई तिमीहरूले आगोद्वारा गरिने बलिदान, होमबलि र अन्‍नबलि, बलिदानहरू र अर्घबलिहरू आ-आफ्नै दिनमा अर्पण गर्नको निम्ति पवित्र सभाहरू भनेर घोषणा गर्नुपर्छ ।
38 परमप्रभुका निम्ति शबाथ, र तिमीहरूले परमप्रभुलाई दिने तिमीहरूका उपहारहरू, तिमीहरूका भाकलहरू, र तिमीहरूका सबै स्वेच्छा भेटीहरू बाहेक यी चाडहरू हुने छन् ।
लेवीहरू 23 in पवित्र बाइबल