Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 14:6-34 in Nepali (individual language)

Help us?

लेवीहरू 14:6-34 in पवित्र बाइबल

6 पुजारीले त्यसपछि जीवित चरा र देवदारुको काठ, र सिन्दुरे रङ्गको धागो र हिसप लिने छ, र यी सबैलाई ताजा पानीमाथि मारिएको चराको रगतमा चोप्‍ने छ ।
7 त्यसपछि पुजारीले यस पानीलाई रोगबाट शुद्धिकरण गरिनुपर्ने मानिसमाथि सात पटक छर्कने छ, र त्यसलाई शुद्ध घोषणा गर्ने छ । त्यसपछि पुजारीले जीवित चरालाई भने खुला ठाउँमा छोडिदिने छ ।
8 शुद्धिकरण भइरहेको मानिसले आफ्‍ना लुगाहरू धुने छ, आफ्‍नो सबै कपाल खौरने छ, र पानीले नुहाउने छ, र त्यो शुद्ध हुने छ । त्यसपछि त्यो छाउनीभित्र आओस्, तर त्यो सात दिनसम्‍म आफ्नो पालभन्दा बाहिरै बसोस् ।
9 सातौँ दिनमा त्यसले आफ्नो शिरको कपाल, र आफ्‍नो दाह्री र आँखीभुइँ खौरोस् । त्यसले आफ्‍नो सबै कपाल खौरोस्, र आफ्‍ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो शुद्ध हुने छ ।
10 आठौँ दिनमा त्यसले दुईवटा निष्‍खोट भेडाका पाठा, एउटा निष्‍खोट एक वर्षे भेडाको पाठी, र अन्‍नबलिको निम्ति तेलसँग मुछिएको डेढ पाथी मसिनो पिठो, र आधा माना तेल ल्याओस् ।
11 शुद्ध गर्ने पुजारीले शुद्ध गरिनुपर्ने मानिसलाई ती सर-सामानहरूसँगै परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा खडा गराओस् ।
12 पुजारीले दुईवटा भेडाका पाठामध्ये एउटा लिने छ र आधा माना तेलसँगै दोषबलि अर्पण गर्ने छ, र परमप्रभुको अगि डोलाइने बलिको रूपमा उसले त्यो डोलाउने छ ।
13 उसले त्यो भेडाको पाठोलाई पवित्रस्थानमा पापबलिहरू र होमबलिहरू मारिने ठाउँमा मारोस्, किनभने पापबलि र दोषबलि पुजारीको भागको हो, कारण त्यो अति पवित्र हो ।
14 पुजारीले दोषबलिको केही रगत लिने छ र शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पोमा, दाहिने हातको बुढी औँलामा, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ ।
15 पुजारीले मानाबाट तेल लिएर आफ्नै देब्रे हातको हत्‍केलामा खन्‍याउने छ र
16 र आफ्नो देब्रे हातमा भएको तेलमा आफ्नो दाहिने औँला चोपेर परमप्रभुको अगि केही तेल सात पल्‍ट छर्कने छ ।
17 पुजारीले आफ्नो हातमा बाँकी रहेको तेललाई शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ ।
18 अनि पुजारीले आफ्नो हातमा बाँकी रहेको तेलचाहिँ शुद्ध गरिनुपर्ने मानिसको शिरमा खन्याउने छ, र पुजारीले परमप्रभुको अगि त्यो मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ ।
19 अनि पुजारीले पापबलिलाई अर्पण गर्ने छ र आफ्नो अशुद्धताको कारण शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र पछि उसले होमबलिलाई मार्ने छ ।
20 त्यसपछि पुजारीले होमबलि र अन्‍नबलिलाई वेदीमा अर्पण गर्ने छ । पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, अनि त्यो शुद्ध हुने छ ।
21 तर यदि त्यो मानिस गरिब छ, र यी बलिदानहरू ल्याउने त्यसको औकात छैन भने, त्यसले एउटा भेडाको पाठोलाई डोलाइनको निम्ति दोषबलिको रूपमा आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई ल्याओस्, र अन्‍नबलिको निम्ति तेलमा मुछिएको आधा पाथी मसिनो पिठो, र आधा माना तेल,
22 र आफूले ल्याउन सक्‍ने जति दुईवटा ढुकुर वा परेवाका दुई बचेरा ल्याओस् । एउटा चराचाहिँ पापबलि हुने छ र अर्कोचाहिँ होमबलि हुने छ ।
23 आठौँ दिनमा त्यसले यी सबै आफ्नो शुद्धिकरणको निम्ति पुजारीकहाँ परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस् ।
24 पुजारीले बलिदानको निम्ति भेडाको बच्‍चा लिने छ, र त्यससँगै उसले आधा माना जैतूनको तेल लिने छ, र उसले ती माथि उठाएर परमप्रभुको अगि अर्पण गर्ने छ ।
25 उसले दोषबलिको निम्ति भेडाको बच्‍चालाई मार्ने छ, र दोषबलिको केही रगत लिएर शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ ।
26 त्यसपछि पुजारीले केही तेल आफ्नो देब्रे हातको हत्‍केलामा खन्‍याउने छ,
27 र उसले आफ्नो दाहिने हातको औँलाले आफ्नो देब्रे हातमा भएको तेलबाट केही परमप्रभुको अगि सात पटकसम्‍म छर्कने छ ।
28 त्यसपछि पुजारीले आफ्नो हातमा भएको तेलबाट केही लिएर दोषबलिको रगत जहाँ-जहाँ लगाएको थियो अर्थात् शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ ।
29 परमप्रभुको अगि शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्नलाई उसले आफ्नो हातमा भएको बाँकी तेल त्यस मानिसको शिरमा लगाइदिने छ ।
30 उसले ढुकुरहरूमध्ये वा परेवाका बचेराहरूमध्ये एउटालाई आफ्नो क्षमताअनुसार अर्पण गरोस्-
31 अन्‍नबलिसँगै उसले एउटाचाहिँ पापबलि र अर्को होमबलिको निम्ति अर्पण गरोस् ।
32 छालामा सरुवा रोग भएको मानिस जसले आफ्नो शुद्धिकरणको निम्ति आवश्‍यक बलि ल्याउन सक्‍दैन, त्यसको निम्ति विधि यी नै हुन् ।”
33 परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो,
34 “मैले तिमीहरूलाई अधिकार गर्न दिएको कनान देशमा पुगेपछि तिमीहरूको अधिकार हुने त्यस देशमा यदि मैले तिमीहरूका घरमा फैलिने ढुसी पठाएँ भने,
लेवीहरू 14 in पवित्र बाइबल