Text copied!
Bibles in Nepali (individual language)

लुका 6:27-44 in Nepali (individual language)

Help us?

लुका 6:27-44 in पवित्र बाइबल

27 तर म तिमीहरूलाई भन्दछु जसले सुनिरहेका छौ, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर ।
28 तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष्‌‌ देऊ र तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर ।
29 तिम्रो एउटा गालामा हिर्काउनेलाई अर्को पनि थापिदेऊ । यदि कसैले तिम्रो कोट खोस्‍छ भने उसलाई दौरा पनि दिइहाल ।
30 तिमीसँग माग्‍ने सबैलाई देऊ । यदि कसैले तिम्रो केही कुरा लगेमा त्यससँग फिर्ता नमाग ।
31 मानिसहरूले तिमीलाई जसो गरेको चाहन्छौ, तिमीले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ ।
32 तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने के लाभ भयो र ? किनकि पापीहरूले पनि तिनीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छन् ।
33 यदि तिमीहरूलाई असल गर्नेलाई मात्र असल गर्छौ भने के लाभ भयो र ? पापीहरूले पनि त त्यसै गर्छन् ।
34 यदि तिमीले तिनीहरूले फिर्ता गर्न सक्छन् भन्‍ने आशामा मात्र ऋण दिन्छौ भने तिमीलाई के लाभ भयो र ? पापीहरूले पनि पापीहरूलाई ऋण दिन्छन् र उत्तिकै मात्रामा फिर्ता पाउने आशा राख्दछन् ।
35 तर तिम्रा शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर । पैँचो माग्‍नेहरूलाई केही पनि फिर्ता पाउने आशा नगरीकन देऊ ताकि तिम्रो इनाम ठुलो हुनेछ । तिमी सर्वोच्‍चका छोराहरू हुनेछौ, किनकि उहाँ आफैँ अधन्यवादी र खराब मानिसहरूप्रति कृपालु हुनुहुन्छ ।
36 तिम्रा पिता कृपालु हुनुभएझैँ तिमी पनि कृपालु होऊ ।
37 कसैको न्याय नगर र तिम्रो न्याय गरिनेछैन । दोष नलगाऊ र तिमी दोषी ठहरिनेछैनौ; अरूलाई क्षमा देऊ र तिमीलाई पनि क्षमा गरिनेछ ।
38 अरूहरूलाई देऊ र तिमीहरूलाई पनि दिइनेछ । प्रशस्त परिमाणमा खाँदी-खाँदी, हल्लाई-हल्लाई पोखिने गरी, तिनीहरूले तिमीहरूका पोल्टामा खन्याउनेछन् । जुन नापले तिमीहरू नाप्‍तछौ, त्यहीँ नापले तिमीहरू पनि नापिनेछौ ।”
39 त्यसपछि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त पनि भन्‍नुभयो, “के एक जना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्‍याउन सक्छ ? त्यसो गरे दुवै जना खाल्डोमा पर्दैनन् र ?
40 एउटा चेला आफ्नो गुरुभन्दा महान् हुन सक्दैन । तर हेरक जसले तालिम प्राप्‍त गर्छ, तब ऊ आफ्नो गुरुजस्तै हुनेछ ।
41 तिमीले तिम्रो भाइको आँखामा मात्र किन सानो कसिङ्गर देख्‍तछौ तर आफ्नै आँखामा भएको मुढाचाहिँ किन देख्दैनौ ?
42 कसरी तिमीले आफ्नो भाइलाई भन्‍न सक्छौ, भाइ मलाई तिम्रा आँखामा भएको कसिङ्गर निकाल्न देऊ जब कि तिमीले आफ्नै आँखामा भएको मुढा देख्दैनौ ? हे पाखण्डी हो ! पहिले तिम्रा आँखाबाट मुढा निकाल तब तिमीले तिम्रो भाइको आँखामा भएको कसिङ्गर निकाल्न स्पष्‍टसँग देख्‍नेछौ ।
43 किनकि कुनै असल रुखले कुहिएको फल फलाउँदैन, न त कुहिएको रुखले असल फल फलाउन सक्छ ।
44 किनभने प्रत्येक रुख त्यसको फलले नै चिनिन्छ । किनकि काँडाको रुखबाट कसैले अञ्‍जीर बटुल्न सक्दैन, न त काँडे झाडीबाट अङ्गुर बटुल्न सक्छ ।
लुका 6 in पवित्र बाइबल