Text copied!
Bibles in Nepali (individual language)

लुका 12:6-35 in Nepali (individual language)

Help us?

लुका 12:6-35 in पवित्र बाइबल

6 के पाँचवटा भङ्गेरा दुई सिक्‍कामा बेचिँदैनन् र ? परमेश्‍वरको दृष्‍टिबाट एउटा पनि बिर्सेको हुँदैन ।
7 तर उहाँले तिम्रा कपालका सबै रौँको पनि गणना गर्नुभएको छ । उहाँसित नडराओ, किनकि तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान् छौ ।
8 म तिमीलाई भन्दछु, कि हरेक जसले मानिसहरूका अगि मलाई स्वीकार गर्दछ, परमप्रभुका दूतहरूका अगि मानिसका पुत्रले पनि उसलाई स्वीकार गर्नेछन् ।
9 तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्दछ, परमप्रभु परमेश्‍वरका दूतहरूले उसलाई पनि इन्कार गर्नेछन् ।
10 हरेक जसले परमेश्‍वरका पुत्रको विरुद्धमा बोल्दछ, उसलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, उसलाई क्षमा गरिनेछैन ।
11 जब तिनीहरूले तिमीहरूलाई सभाघरको शासक र अधिकारीहरूको अगि ल्याउनेछन, कसरी प्रतिकार गर्ने र के बोल्ने भन्‍ने विषयमा चिन्तित नहोओ ।
12 पवित्र आत्माले तिमीहरूलाई त्यही घडी के भन्‍नुपर्ने हो भनी सिकाउनुहुनेछ ।
13 त्यसपछि भिडबाट एक जनाले उहाँलाई यसो भन्यो, “गुरुज्यू, मेरो भाइलाई सम्पत्तिको भागबन्डा गरिदिनुहोस् भनी बताइदिनुहोस् ।”
14 येशूले त्यसलाई भन्‍नुभयो, “हे मानिस, कसले मलाई तिमीहरूमाथि न्यायधीश र मध्यस्तकर्ता बनायो ?”
15 र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर आफैँलाई लोभी इच्छाहरूबाट अलग राख, किनभने कसैको पनि जीवन उसको प्रशस्त धन सम्पत्तिको कारणले गर्दा जीवन प्रशस्ततामा रहन सक्दैन ।”
16 तब येशूले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो,
17 र उसले मनमनै भन्‍न लाग्यो, ‘म के गरूँ, किनकि मसँग अन्‍नको भण्डारण गर्ने प्रशस्त ठाउँ छैन ?‘
18 उसले भन्यो, ‘म भकारीहरूलाई भत्काउनेछु र ठुलो बनाउनेछु । त्यहीँ नै सबै अन्‍नहरू र अन्य सामग्री भण्डारण गर्नेछु ।’
19 म मेरो प्राणलाई भन्‍नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर, खा, पी र आनन्दित हो ।’
20 तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘मूर्ख मानिस, आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने, तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ ?’
21 यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछन् र यो परमेश्‍वरकहाँ पुग्दैन ।”
22 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको विषयमा के खाऔँला वा के पहिरौँला भनी चिन्ता नगर ।
23 जीवन खानेकुरा भन्दा र शरीर लगाउने कुराभन्दा अझ बढी उत्तम छ ।
24 कागहरूलाई विचार गर, तिनीहरूले न त छर्छन् न त बटुल्दछन् । उनीहरूका भण्डारणहरू छैनन् अथवा भकारी पनि छैन, तर परमेश्‍वरले उनीहरूलाई खुवाउनुहुन्छ । तिमी चराहरूभन्दा धेरै मूल्यवान् छौ ।
25 र के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो जीवनको आयुमा एकपल पनि थप्‍न सक्छौ र ?
26 तिमीहरू सबैभन्दा सानो काम गर्न योग्यका छैनौ भने बाँकी कुराहरूको लागि किन चिन्तित हुन्छौ ?
27 मैदानका लिली फुलहरूलाई विचार गर, तिनीहरू कसरी बढ्छन् ? न त तिनीहरूले परिश्रम गर्छन्, न त मेहनत नै गर्छन, म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्ना सबै महिमामा यिनीहरूझैँ आभूषित थिएनन् ।
28 यदि परमेश्‍वरले जमिनका घाँसलाई सुशोभित पार्नुहुन्छ जुन आज अस्तित्वमा छ, तर भोली आगोमा फालिनेछ भने, हे अल्प विश्‍वासी हो, त्यो भन्दाबढी तिमीहरूलाई कति धेरै सशोभित गर्नुहुनेछ ।
29 के खाऔँला र के पिऔँला भनी नभौतारिओ र चिन्ता नगर ।
30 संसार भरका सबै राष्‍ट्रहरूले यही कुराको खोजी गर्दछन् र तिम्रा पिताले तिम्रा सबै आवश्‍यकताहरू जान्‍नुहुन्छ ।
31 तर उहाँको राज्यको खोजी गर, र यी सबै थोकहरू तिमीलाई थपिनेछन् ।
32 सानो बगाल हो, नडराओ, किनकि तिम्रा पिताले तिमीलाई राज्य दिन अति खुसी हुनुहुन्छ ।
33 आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ । तिनलाई नखिइने थैलीभित्री राख; स्वर्गमा धन संचय गर, जहाँ चोरले चोर्न सक्दैन, र किराले हानि पुर्‍याउँदैन, न त खिया नै लाग्दछ ।
34 जहाँ तिम्रो धन छ, त्यहीँ नै तिम्रो मन पनि हुनेछ ।
35 तिम्रो लामो पोसाक कम्मरको पेटीसम्म होस् र तिम्रा बत्तीहरू बलिरहून् ।
लुका 12 in पवित्र बाइबल