8 त्यो मानिस धन्यको हो, जसको विरुद्धमा परमेश्वरले पापको लेखा राख्नुहुन्न ।”
9 तब के यो आशिष् केवल ती खतना भएकाहरूका लागि मात्रै भनिएको हो वा ती खतना नगरिएकाहरूका लागि पनि भनिएको हो ? किनकि हामी भन्छौँ, “अब्राहामको निम्ति विश्वास धार्मिकताको रूपमा गनियो ।”
10 त्यसो हो भने, यो कसरी गनियो त ? अब्राहाम खतनामा हुँदा वा बेखतना हुँदा ? यो खतनामा हुँदा भएको थिएन, तर बेखतनामा हुँदा भएको थियो ।
11 अब्राहामले खतनाको चिन्ह पाए । यो विश्वासको धार्मिकताको छाप थियो, जुन उनी बेखतनाको हुँदा नै पाइसकेका थिए । यो चिन्हको परिणामचाहिँ तिनीहरू बेखतनामै भए तापनि उनी विश्वास गर्ने सबैका पिता भए । यसको मतलब यो हो, कि त्यो धार्मिकता तिनीहरूको निम्ति धार्मिकता गनिनेछ ।
12 यसको अर्थ यो हो, कि अब्राहाम खतनाबाट आएकाहरूका निम्ति मात्र होइन, तर हाम्रा पिता अब्राहामको कदम पछ्याउनेहरूका निम्ति पनि पिता भए । र उनी बेखतनामा हुँदा नै उनीसँग विश्वास थियो ।
13 किनकि अब्राहाम र उनका सन्तानहरूलाई दिइएको प्रतिज्ञा अर्थात् तिनीहरू संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा दिइएको थिएन । बरु, यो विश्वासको धार्मिकताद्वारा थियो ।
14 किनकि यदि ती व्यवस्थाकाहरू उत्तराधिकारीहरू हुन् भने विश्वासीलाई त रित्तो बनाइयो र प्रतिज्ञालाई रद्द गरियो ।
15 किनकि व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अनाज्ञाकारिता हुँदैन ।
16 यसैले, यो विश्वासद्वारा हुन्छ, ताकि त्यो अनुग्रहद्वारा हुन सकोस् । परिणामस्वरूप, प्रतिज्ञा सारा सन्तानहरूका निम्ति निश्चित छ । अनि यी सन्तानहरूले केवल व्यवस्था जान्नेहरूलाई मात्र होइन, तर ती अब्राहामको विश्वासबाट आएकाहरूलाई पनि समेट्छन् । किनकि उनी हामी सबैका पिता हुन् ।
17 जस्तो लेखिएको छ, “मैले तिमीलाई धेरै जातिहरूका पिता बनाएको छु ।” अब्राहाम आफूले भरोसा गरेका परमेश्वरको उपस्थितिमा थिए, जसले मरेकालाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई अस्तित्वमा ल्याउन सक्नुहुन्छ ।
18 यी सारा बाहिरी परिस्थितिहरूका बाबजुद पनि भविष्यको निम्ति अब्राहामले परमेश्वरमा दृढतासाथ भरोसा गरे । त्यसैले, उनी “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनिएअनुसार धेरै जातिहरूका पिता बने ।