11 यहूदीहरूले उहाँलाई चाडमा खोजिरहेका थिए र भने, “उनी कहाँ छन् ?”
12 त्यहाँ भिडहरूमा उहाँको बारेमा धेरै बहस भएको थियो । कसैले भने, “उनी असल मानिस हुन् ।” अरूहरूले भने, “होइन, यसले भिडहरूलाई बहकाउँछ ।”
13 तैपनि यहूदीहरूको डरको कारणले कसैले पनि खुलमखुल्ला बोलेन ।
14 जब चाड आधा सिद्धिएको थियो, येशू मन्दिरमा जानुभयो र सिकाउन सुरु गर्नुभयो ।
15 यहूदीहरू अचम्मित भएर यसो भने, “यो मानिसले कसरी यति धेरै जान्दछ ? यसलाई त कहिल्यै पनि शिक्षा दिइएको छैन ।”
16 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्नुभयो, “मैले दिएको शिक्षा मेरो होइन, तर उहाँको हो जसले मलाई पठाउनुभयो ।
17 यदि कसैले उहाँको इच्छा पालन गर्ने इच्छा गर्छ भने यो परमेश्वरबाट आएको हो वा म मेरो आफ्नै तर्फबाट बोल्छु भनी त्यसले यो शिक्षाबारे जान्नेछ ।
18 आफ्नै तर्फबाट बोल्नेले उसको आफ्नै महिमा खोज्दछ, तर जसले आफूलाई पठाउनुहुनेको महिमा खोज्दछ, त्यो व्यक्ति सत्य हो र उसमा कुनै अधार्मिकता हुँदैन ।
19 के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् र ? तैपनि तिमीहरू कसैले व्यवस्था पालन गर्दैनौ । तिमीहरू मलाई किन मार्न चाहन्छौ ?”
20 भिडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ । तिमीलाई कसले मार्न खोज्छ ?”
21 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्नुभयो, “मैले एउटा काम गरेँ, र यसको कारण तिमीहरू सबै चकित हुन्छौ ।
22 मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो) अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ ।
23 मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि एक जना मानिसले विश्रामको दिनमा खतना गर्न स्वीकार गर्छ भने तब मैले विश्रामको दिनमा एक जना मानिसलाई पूर्ण रूपमा स्वस्थ बनाएकोमा तिमीहरू मसँग किन रिसाउँछौ ?”