6 (तर येशूले फिलिपलाई जाँच्न यसो भन्नुभएको थियो, किनकि उहाँ आफैँले के गर्न गइरहनुभएको थियो सो उहाँ आफैँलाई थाहा थियो ।)
7 फिलिपले उहाँलाई जवाफ दिए, “दुई सय चाँदीका सिक्काको रोटी पनि हरेकलाई थोरै-थोरै दिनलाई पर्याप्त हुँदैन ।”
8 चेलाहरूमध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियासले येशूलाई भने,
9 “यहाँ एक जना केटोसँग जौका पाँचवटा रोटी र दुईवटा माछा छन्, तर यत्ति धेरैका बिचमा यी कति नै हुन्छन् र ?”
10 येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लगाऊ ।” (त्यस ठाउँमा धेरै घाँस थियो ।) त्यसैले झण्डै पाँच हजार जति सङ्ख्यामा मानिसहरू बसे ।
11 तब येशूले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि उहाँले त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहे जति दिनुभयो र उहाँले माछा पनि त्यसै गर्नुभयो ।
12 जब मानिसहरू भर पेट भए, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “बाँकी रहेका टुक्रा-टाक्री सबै बटुल, ताकि कुनै पनि थोक खेर नजाओस् ।”
13 यसैले तिनीहरूले बटुले, र पाँचवटा जौका रोटीबाट बाँकी रहेका टुक्रा-टाक्री अर्थात् तिनीहरूले खाएर बचेका टुक्राहरू बार्ह डाला भरे ।
14 जब मानिसहरूले उहाँले गर्नुभएका यी चिह्नहरू देखे, तिनीहरूले भने, “उहाँ साँच्चै यो संसारमा आउनुपर्ने अगमवक्ता हुनुहुन्छ ।”
15 जब उहाँलाई पक्रेर बलजफतीसँग राजा बनाउन तिनीहरू आउन लागेका थिए भन्ने उहाँले महसुस गर्नुभयो, उहाँ फेरि पनि एकलै डाँडातर्फ लाग्नुभयो ।
16 जब साँझ पर्यो, उहाँका चेलाहरू समुद्रतिर झरे ।
17 तिनीहरू एउटा डुङ्गामा चढे, र समुद्रको पारि कफर्नहुममा गइरहेका थिए । यस बेला अँध्यारो भइसकेको थियो र अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन ।
18 र ठुलो आँधीबेहरी चलिरहेको थियो र समुद्रका छालहरू उर्लंदै थिए ।
19 जब तिनीहरू डुङ्गा खियाएर करिब पाँच किलोमिटर टाढा पुगेका थिए, तिनीहरूले येशूलाई समुद्रमा हिँडिरहनुभएको र उहाँ डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए ।
20 तर पनि उहाँले तिनीहरूलाई भन्नुभयो, “म नै हुँ, नडराओ ।”
21 तब तिनीहरू उहाँलाई डुङ्गामा ल्याउन तत्पर भए, र डुङ्गा जमिनमा तुरुन्तै पुग्यो जहाँ तिनीहरू गइरहेका थिए ।
22 अर्को दिन, समुद्रको पारिपट्टि उभिरहेको भिडले त्यहाँ त्यो एउटा डुङ्गाबाहेक अरू कुनै पनि डुङ्गा थिएन, र त्यसमा येशू उहाँका चेलाहरूसँग नचढ्नुभएको र उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएका थिए भन्ने देखे ।