Text copied!
Bibles in Nepali (individual language)

यूहन्‍ना 6:22-44 in Nepali (individual language)

Help us?

यूहन्‍ना 6:22-44 in पवित्र बाइबल

22 अर्को दिन, समुद्रको पारिपट्टि उभिरहेको भिडले त्यहाँ त्यो एउटा डुङ्गाबाहेक अरू कुनै पनि डुङ्गा थिएन, र त्यसमा येशू उहाँका चेलाहरूसँग नचढ्नुभएको र उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएका थिए भन्‍ने देखे ।
23 तापनि प्रभुले धन्यवाद चढाएर तिनीहरूले रोटी खाएका नजिकैको ठाउँ तिबेरियासबाट आएका केही डुङ्गाहरू त्यहाँ थिए ।
24 जब त्यस भिडले न येशू न उहाँका चेलाहरू नै त्यहाँ थिए भन्‍ने कुरा पत्ता लगाए, तिनीहरू आफैँ डुङ्गा चढे र येशूलाई खोज्दै कफर्नहुमतिर गए ।
25 तिनीहरूले उहाँलाई त्यस समुद्रको पारिपट्टि भेटेपछि उहाँलाई भने “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो ?”
26 येशूले तिनीहरूलाई यसो भनेर जवाफ दिनुभयो, “साँचो, साँचो, तिमीहरूले चिह्न‍हरू देखेको कारणले तिमीहरूले मलाई खोजेका होइनौ, तर तिमीहरूले केही रोटी खाएर अघाएकाले गर्दा हो ।
27 नष्‍ट हुने खानाको निम्ति काम नगर, तर मानिसका पुत्रले तिमीहरूलाई दिने अनन्त जीवनसम्म रहने खानाको निम्ति काम गर, किनकि परमेश्‍वर पिताले आफ्नो मोहोर उहाँमा लगाउनुभएको छ ।”
28 तब तिनीहरूले उहाँलाई भने, “परमेश्‍वरका कामहरू गर्न हामीले के गर्नुपर्छ ?”
29 येशूले जवाफ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको काम यही होः उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्नू ।”
30 यसैले तिनीहरूले उहाँलाई भने, “तपाईंले कस्तो किसिमको चिह्न‍ गर्नुहुनेछ, ताकि हामीले देख्‍न र तपाईंलाई विश्‍वास गर्न सकौँ ? तपाईंले के गर्नुहुनेछ ?
31 हाम्रा पिताहरूले मरुभूमिमा मन्‍न खाए । यस्तो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानको निम्ति स्वर्गबाट रोटी दिनुभयो’ ।”
32 तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो स्वर्गबाट तिमीहरूलाई रोटी दिने मोशा थिएनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिइरहनुहुने मेरा पिता हुनुहुन्छ ।
33 किनकि परमेश्‍वरको रोटी त्यही हो, जो स्वर्गबाट आउँछ र संसारलाई जीवन दिँदछ ।”
34 यसैले तिनीहरूले उहाँलाई भने, “महाशय, हामीलाई यो रोटी सदैव दिनुहोस् ।”
35 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म जीवनको रोटी हुँ, जो मकहाँ आउँछ त्यो कहिल्यै भोकाउनेछैन र जसले मलाई विश्‍वास गर्छ त्यो कहिल्यै तिर्खाउनेछैन ।
36 तर वास्तवमा तिमीहरूले मलाई देखेका छौ भनी मैले तिमीहरूलाई भनेँ र पनि तिमीहरू विश्‍वास गर्दैनौ ।
37 पिताले मलाई दिनुभएका सबै मकहाँ आउनेछन् र जो मकहाँ आउँछ म निश्‍चय नै त्यसलाई बाहिर फ्याँक्‍नेछैनँ ।
38 किनकि म स्वर्गबाट आएको छु, मेरो आफ्नो इच्छा पुरा गर्नलाई होइन, तर मलाई पठाउनुहुनेको इच्छा पुरा गर्नलाई हो ।
39 र मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका सबैमध्ये एक जना पनि मैले नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ ।
40 किनकि मेरा पिताको इच्छा यही हो, कि पुत्रलाई देख्‍ने र उहाँमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन् र अन्तिम दिनमा तिनीहरूलाई म जीवित पारूँ ।”
41 तब यहूदीहरूले उहाँको बारेमा गनगन गरे, किनकि उहाँले यसो भन्‍नुभएको थियो, “म स्वर्गबाट आएको रोटी हुँ ।”
42 तिनीहरूले भने, “के यिनी योसेफका पुत्र येशू होइनन्, जसका बुबा र आमालाई हामी चिन्छौँ ? तब ‘म स्वर्गबाट आएको हुँ’ भनी अहिले यसले कसरी भन्‍न सक्छ ?”
43 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू माझ गनगन गर्न छोड ।”
44 मलाई पठाउनुहुने पिताले नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन र त्यसलाई अन्तिम दिनमा म जीवित पार्नेछु ।
यूहन्‍ना 6 in पवित्र बाइबल