30 तिनीहरू सहरबाट उहाँकहाँ आए ।
31 त्यसै बेला चेलाहरूले उहाँलाई यसो भन्दै अनुरोध गरिरहेका थिए, “रब्बी, खानुहोस् ।”
32 तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मसँग खानेकुरा छ जुन तिमीहरू जान्दैनौ ।”
33 त्यसकारण, चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्याएको छैन, ल्याएको छ र ?”
34 येशूले तिनीहरूलाई भन्नुभयो, “जसले मलाई पठाउनुभयो, उहाँको इच्छा र उहाँको काम पुरा गर्नु नै मेरो खानेकुरा हो ।
35 अझ पनि चार महिना छ र त्यसपछि कटनी गर्ने समय आउनेछ भनी के तिमीहरू भन्दैनौ ? म तिमीहरूलाई भन्दै छु, हेर र खेतलाई देख, किनकि तिनीहरू कटनीको निम्ति अगि नै पाकिसकेका छन् ।
36 जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्त जीवनको निम्ति फल बटुल्छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् ।
37 किनकि एउटाले छर्छ र अर्काले कटनी गर्छ भन्ने यो भनाइ यसैमा साँचो छ ।
38 तिमीहरूले काम नगरेका कुरा कटनी गर्न मैले तिमीहरूलाई पठाएँ । अरूहरूले काम गरेका छन्, र तिमीहरू उनीहरूका श्रममा प्रवेश गरेका छौ ।”
39 “मैले गरेका सबै कुरा उहाँले मलाई भन्नुभयो” भनी स्त्रीले दिएको गवाहीले गर्दा त्यस सहरमा बसोबास गर्ने धेरै सामरीहरूले उहाँमा विश्वास गरे ।
40 त्यसैले, जब सामरीहरू उहाँकहाँ आए, तिनीहरूले उनीहरूसँग बस्न आग्रह गरे र उहाँ त्यहाँ दुई दिन बस्नुभयो ।
41 उहाँको वचनको कारणले गर्दा धेरै जनाले विश्वास गरे ।
42 तिनीहरूले ती स्त्रीलाई भने, “तिमीले भनेकी कारणले हामी विश्वास गर्दैनौँ, किनकि हामी आफैँले सुनेका छौँ र हामी जान्दछौँ, कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्छ ।”
43 दुई दिनपछि उहाँ त्यहाँबाट गालील प्रस्थान गर्नुभयो ।
44 किनकि येशू आफैँले घोषणा गर्नुभयो, कि अगमवक्तालाई उसको आफ्नै गाउँमा आदर गरिँदैन ।
45 जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्वागत गरे । यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए ।
46 अब उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको गालीलको काना सहरमा उहाँ फेरि आउनुभयो । त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थिए ।
47 जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनका मर्न लागेका छोरालाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्ती गरे ।
48 तब येशूले तिनलाई भन्नुभयो, “चिह्नहरू र आश्चर्यकर्महरू नदेखेसम्म तिमीहरूले विश्वास गर्नेछैनौ ।”
49 ती अधिकारीले उहाँलाई भने, “महाशय, मेरो छोरो मर्नुअगावै आउनुहोस् ।”
50 येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो छोरा बाँच्छ ।” येशूले तिनलाई भन्नुभएको वचन तिनले विश्वास गरे, र तिनी आफ्नो बाटो लागे ।
51 तिनी जाँदै गर्दा, तिनका छोरो जीवित भए भन्दै तिनका नोकरहरूले तिनलाई भेटे ।
52 यसकारण, उसको सुधार कति बेलादेखि भएको थियो भनी तिनले तिनीहरूलाई सोधे । तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौँ घडीमा उसलाई ज्वरोले छोड्यो ।”
53 त्यसपछि यो येशूले “तिम्रो छोरा बाँच्छ” भन्नुभएको घडी थियो भन्ने ती बुबाले महसुस गरे । यसकारण तिनी र तिनका आफ्ना सम्पूर्ण घरानाले विश्वास गरे ।
54 येशू यहूदियाबाट गालीलमा आउँनुहुँदा उहाँले गर्नुभएको यो दोस्रो चिह्न थियो ।