26 येशूले त्यसलाई भन्नुभयो, “तिमीसँग कुराकानी गरिरहने, म उही नै हुँ ।”
27 त्यही बेला उहाँका चेलाहरू आइपुगे । उहाँ स्त्रीसित किन कुराकानी गर्दै हुनुहुन्थ्यो भनी तिनीहरू चकित भइरहेका थिए, तर “तपाईं के चाहनुहुन्छ ?” वा “किन तपाईं त्यससँग कुराकानी गर्दै हुनुहुन्छ ?” भनी कसैले पनि भनेन ।
28 त्यसैले, ती स्त्रीले आफ्नो गाग्रो छोडेर सहरतिर गइन् र मानिसहरूलाई भनिन्,
29 “आओ, मैले गरेका सबै कुराहरू मलाई बताइदिनुहुने मानिसलाई हेर । उहाँ नै ख्रीष्ट हुन सक्छ, हुन सक्दैन त ?”
30 तिनीहरू सहरबाट उहाँकहाँ आए ।
31 त्यसै बेला चेलाहरूले उहाँलाई यसो भन्दै अनुरोध गरिरहेका थिए, “रब्बी, खानुहोस् ।”
32 तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मसँग खानेकुरा छ जुन तिमीहरू जान्दैनौ ।”
33 त्यसकारण, चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्याएको छैन, ल्याएको छ र ?”
34 येशूले तिनीहरूलाई भन्नुभयो, “जसले मलाई पठाउनुभयो, उहाँको इच्छा र उहाँको काम पुरा गर्नु नै मेरो खानेकुरा हो ।
35 अझ पनि चार महिना छ र त्यसपछि कटनी गर्ने समय आउनेछ भनी के तिमीहरू भन्दैनौ ? म तिमीहरूलाई भन्दै छु, हेर र खेतलाई देख, किनकि तिनीहरू कटनीको निम्ति अगि नै पाकिसकेका छन् ।
36 जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्त जीवनको निम्ति फल बटुल्छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् ।
37 किनकि एउटाले छर्छ र अर्काले कटनी गर्छ भन्ने यो भनाइ यसैमा साँचो छ ।
38 तिमीहरूले काम नगरेका कुरा कटनी गर्न मैले तिमीहरूलाई पठाएँ । अरूहरूले काम गरेका छन्, र तिमीहरू उनीहरूका श्रममा प्रवेश गरेका छौ ।”
39 “मैले गरेका सबै कुरा उहाँले मलाई भन्नुभयो” भनी स्त्रीले दिएको गवाहीले गर्दा त्यस सहरमा बसोबास गर्ने धेरै सामरीहरूले उहाँमा विश्वास गरे ।
40 त्यसैले, जब सामरीहरू उहाँकहाँ आए, तिनीहरूले उनीहरूसँग बस्न आग्रह गरे र उहाँ त्यहाँ दुई दिन बस्नुभयो ।
41 उहाँको वचनको कारणले गर्दा धेरै जनाले विश्वास गरे ।