Text copied!
Bibles in Nepali (individual language)

यहोशू 10:16-33 in Nepali (individual language)

Help us?

यहोशू 10:16-33 in पवित्र बाइबल

16 अब पाँच जना राजा उम्केका र आफै मक्‍केदाको गुफामा लुकेका थिए ।
17 यहोशूलाई यसो भनियो, “पाँच जना राजा मक्‍केदाको गुफामा लुकेको भेट्टाइए ।”
18 यहोशूले भने, “गुफाको मुखमा ठुला-ठुला ढुङ्गाहरू गुडाएर राख र उनीहरूको सुरक्षाको निम्ति सिपाहीहरू खटाओ ।
19 तिमीहरूचाहिँ नबस । तिमीहरूका शत्रुहरूको पिछा गर र पछाडिबाट आक्रमण गर । उनीहरूको सहरमा पस्‍न नदेओ किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूका हातमा दिनुभएको छ ।”
20 उनीहरू झण्डै पूर्ण रूपमा नष्‍ट नभएसम्म नै यहोशू र इस्राएलका सन्तानहरूले उनीहरूलाई ठुलो संहारको साथ संहार गरिसिद्ध्याएका थिए; केही बचेकाहरू मात्र उम्केर किल्ला भएको सहरमा पुगे ।
21 त्यसपछि सबै फौज मक्‍केदाको छाउनीमा यहोशूकहाँ शान्तिसँग फर्के । इस्राएलका मानिसहरूका विरुद्ध कसैले एक शब्द पनि बोल्ने आँट गरेन ।
22 यहोशूले भने, “गुफाको मुख खोल । गुफाबाट यी राजाहरूलाई लिएर आओ ।”
23 तिनीहरूले तिनले भनेझैँ गरे । तिनीहरूले यरूशलेमका राजा, हेब्रोनका राजा, यार्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा अर्थात् यी पाँच जना राजालाई गुफाबाट बाहिर ल्याए ।
24 जब तिनीहरूले राजाहरूलाई यहोशूकहाँ ल्याए, तिनले इस्राएलका सबै मानिसलाई बोलाए । तिनले तिनीसँग युद्धमा जाने सेनाहरूका सेनापतिहरूलाई भने, “उनीहरूको गर्दनमा तिमीहरूको खुट्टाले टेक ।” त्यसैले तिनीहरू आए र उनीहरूका गर्दनमाथि तिनीहरूका खुट्टाले टेके ।
25 अनि तिनले तिनीहरूलाई भने, “नडराओ, र निराश नहोओ । बलियो र साहसी होओ । तिमीहरूले लड्न गइरहेका तिमीहरूका शत्रुहरूलाई परमप्रभुले यसै गर्नुहुन्छ ।”
26 अनि यहोशूले आक्रमण गरी राजाहरूलाई मारे । तिनले उनीहरूलाई पाँचवटा रुखमा झुण्ड्याए । तिनीहरूले उनीहरूलाई साँझसम्म झुण्ड्याए ।
27 घाम अस्ताउँदा यहोशूले आज्ञा दिए र तिनीहरूले उनीहरूलाई रुखबाट तल झारे अनि उनीहरू लुकेका गुफाभित्र नै उनीहरूलाई फ्याँकिदिए । तिनीहरूले गुफाको मुखमा ठुला-ठुला ढुङ्गाहरू राखे । ती ढुङ्गाहरू आजसम्म पनि छन् ।
28 यसरी, यहोशूले त्यस दिन मक्‍केदा कब्जा गरे र यसका राजासहित त्यहाँ भएका सबैलाई तरवारले मारे । तिनले यसमा भएका सबैलाई पूर्ण रूपमा नष्‍ट पारे । तिनले कसैलाई पनि जीवित छोडेनन् । तिनले मक्‍केदाका राजालाई यरीहोका राजालाई झैँ गरे ।
29 यहोशू र सारा इस्राएल मक्‍केदाबाट लिब्‍नातिर गए । तिनले लिब्‍नाविरुद्ध लडे ।
30 परमप्रभुले यसलाई उनीहरूका राजासहित इस्राएलको हातमा दिनुभयो । यहोशूले यसलाई र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनले यसमा कसैलाई जीवित छाडेनन् । तिनले यसका राजालाई यरीहोका राजालाई झैँ गरे ।
31 यहोशू र तिनीसँग भएका सबै इस्राएल लिब्‍नाबाट लाकीशतिर अगि बढे । तिनले यसको नजिकै छाउनी हाले र यसविरुद्ध लडे ।
32 परमप्रभुले लाकीशलाई इस्राएलको हातमा दिनुभयो । यहोशूले यसलाई दोस्रो दिनमा कब्जा गरे र तिनले लिब्‍नालाई गरेजस्तै यसलाई र यसमा भएका सबैलाई तरवारले प्रहार गरे ।
33 त्यसपछि गेजेरका राजा होराम लाकीशलाई सहायता गर्न आए । यहोशूले उनलाई र उनीसँग भएका फौजलाई एक जना पनि जीवित नराखी आक्रमण गरे ।
यहोशू 10 in पवित्र बाइबल