Text copied!
Bibles in Nepali (individual language)

मर्कूस 9:28-47 in Nepali (individual language)

Help us?

मर्कूस 9:28-47 in पवित्र बाइबल

28 जब येशू घरभित्र पस्‍नुभयो, चेलाहरूले उहाँलाई गुप्‍तमा सोधे, “हामीले यसलाई किन निकाल्न सकेनौँ ?”
29 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्‍न सकिँदैन ।”
30 उहाँहरू त्यहाँबाट जानुभयो र गालील हुँदै जानुभयो । उहाँहरू कहाँ हुनुहुन्छ कसैलाई थाहा नहोस् भन्‍ने उहाँले चाहनुभयो,
31 किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनुभएको थियो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछ र तिनीहरूले उसलाई मार्नेछन् । जब उसलाई मारिनेछ त्यसको तिन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ ।”
32 तर तिनीहरूले यो भनाइलाई बुझेनन् र उहाँलाई सोध्‍न तिनीहरू डराए ।
33 अनि उहाँहरू कफर्नहुममा आइपुग्‍नुभयो । जब उहाँ घरमा हुनुहुन्थ्यो उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ ?”
34 तर सबै चुपचाप भए । किनभने तिनीहरूले “कोचाहिँ सबैभन्दा ठुलो हो” भनी बहस गरिरहेका थिए ।
35 उहाँ बस्‍नुभयो र बाह्र जनालाई बोलाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने त्यो सबैभन्दा अन्तिम र सबैको दास हुनुपर्छ ।”
36 उहाँले एउटा सानो बालकलाई लिएर तिनीहरूका माझमा राख्‍नुभयो । उहाँले त्यसलाई हातमा लिनुभयो र तिनीहरूलाई भन्‍नुभयो,
37 “जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ, उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने उसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्छ ।”
38 यूहन्‍नाले उहाँलाई भने, “गुरुज्यू, हामीले कसैलाई तपाईंको नाममा भूतात्मा धपाउँदै गरेको देख्यौँ र हामीले त्यसलाई रोक्यौँ, किनकि त्यसले हामीलाई पछ्याउँदैन ।”
39 तर येशूले भन्‍नुभयो, “त्यसलाई नरोक, किनकि कसैले पनि मेरो नाउँमा शक्‍तिशाली काम गरेर तत्कालै मेरो बारेमा कुनै खराब कुरा भन्‍न सक्दैन ।
40 जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो हो ।
41 तिमीहरू ख्रीष्‍टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँचो साँचो म भन्दछु, कि उसले आफ्नो इनाम गुमाउनेछैन ।
42 ममा विश्‍वास गर्ने यी सानामध्ये एक जनालाई ठेस खान लगाउनुभन्दा त, त्यसलाई त्यसको घाँटीमा ठुलो जाँतोको ढुङ्गा बाँधेर समुद्रमा फ्याँक्‍नु राम्रो हुने थियो ।
43 यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा हात लिएर कहिल्यै ननिभ्‍ने आगोको नरकमा जानुभन्दा अपाङ्ग भएर जीवनमा प्रवेश गर्नु नै राम्रो हुन्छ ।
44 (नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूले पद ४४ र ४६ बाट यस वाक्यांशलाई हटाएको छ) “जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन ।”
45 यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा त लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ ।
46 (४४ पदको टिप्पणीलाई हेर्नुहोस् ।)
47 यदि तिम्रा आँखाले तिमीलाई ठेस खान लगाउँछ भने, यसलाई निकालेर फालिदेऊ । दुईवटा आँखा लिएर नरकमा फालिनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु नै असल हुन्छ ।
मर्कूस 9 in पवित्र बाइबल