Text copied!
Bibles in Nepali (individual language)

मर्कूस 8:6-26 in Nepali (individual language)

Help us?

मर्कूस 8:6-26 in पवित्र बाइबल

6 उहाँले भिडलाई भुइँमा बस्‍न आज्ञा दिनुभयो । उहाँले ती सातवटा रोटी लिनुभयो; धन्यवाद दिनुभयो; तिनलाई भाँच्‍नुभयो । उहाँले मानिसहरूका अगाडि राखून् भनी ती उहाँका चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगाडि राखिदिए ।
7 तिनीहरूसँग थोरै स-साना माछा पनि थिए । त्यसको लागि धन्यवाद दिनुभएपछि उहाँले त्यो पनि बाँडिदिन चेलाहरूलाई आज्ञा गर्नुभयो ।
8 तिनीहरूले खाए र अघाए । अनि तिनीहरूले खाएर उब्रेका सात टोकरी रोटीका टुक्रा-टाक्रीहरू बटुले ।
9 त्यहाँ लगभग चार हजार जना पुरुष थिए । येशूले तिनीहरूलाई पठाउनुभयो ।
10 त्यसपछि तुरुन्तै उहाँ चेलाहरूसँग डुङ्गामा चढ्नुभयो र दलमनुथाको क्षेत्रमा जानुभयो ।
11 तब फरिसीहरू आए, र उहाँसँग वादविवाद गर्न थाले । तिनीहरूले उहाँको जाँच गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे ।
12 उहाँले आत्मामा सुस्केर हाल्‍नुभयो र भन्‍नुभयो, “यो पुस्ताले किन चिन्हको खोजी गर्छ ? साँचो साँचो म तिमीहरूलाई भन्दछु, यो पुस्तालाई कुनै चिन्ह दिइनेछैन ।”
13 त्यसपछि उहाँले तिनीहरूलाई छोड्नुभयो, फेरि डुङ्गामा चढ्नुभयो र तालको अर्को भागतिर जानुभयो ।
14 अहिले चेलाहरूले तिनीहरूसँग रोटी ल्याउन बिर्सेका थिए । तिनीहरूसँग डुङ्गामा एउटाभन्दा बढी रोटी थिएन ।
15 उहाँले तिनीहरूलाई चेतावनी दिनुभयो, र भन्‍नुभयो, “फरिसी र हेरोदको खमिरदेखि सचेत रहो र होसियार बस ।”
16 चेलाहरूले एक आपसमा बहस गरे, “हामीसँग रोटी नभएकोले हो ।”
17 येशू यसप्रति सजग हुनुहुन्थ्यो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ ? के तिमीहरू अझै महसुस गर्दैनौ ? के तिमीहरू बुझ्दैनौ ? तिमीहरूका हृदय यति बोधो भएका छन् ?
18 तिमीहरूसँग आँखा छन्, के तिमीहरू देख्दैनौ ? तिमीहरूसँग कान छन्, के तिमीहरू सुन्दैनौ ? के तिमीहरूले सम्झदैनौ ?
19 जब मैले पाँच हजारका सामु पाँच वटा रोटी भाँच्दा रोटीका कति टोकरी टुक्राहरू तिमीहरूले बटुलेका थियौ ?” तिनीहरूले उहाँलाई भने, “बाह्र टोकरी ।”
20 “अनि जब मैले चार हजारका बिचमा सातवटा रोटी भाँच्दा कति टोकरी तिमीहरूले बटुल्यौ ?” तिनीहरूले उहाँलाई भने, “सात टोकरी ।”
21 उहाँले भन्‍नुभयो, “के तिमीहरू अझै पनि बुझ्दैनौ ?”
22 उहाँहरू बेथसेदामा आउनुभयो । त्यहाँ मानिसहरूले एउटा दृष्‍टिविहीन मानिसलाई उहाँकहाँ ल्याए र त्यसलाई छोइदिनुहोस् भनी येशूसँग बिन्ती गरे ।
23 येशूले त्यस दृष्‍टिविहीनलाई हातमा समाउनुभयो, र गाउँबाहिर लैजानुभयो । जब उहाँले त्यसको आँखामा थुक्‍नुभयो, र त्यसमाथि आफ्नो हात राख्‍नुभयो, उहाँले त्यसलाई सोध्‍नुभयो, “के तिमीले कुनै कुरा देख्छौ ?”
24 त्यसले हेर्‍यो र भन्यो, “म मानिसहरू रुखहरूजस्तै हिँडेको देख्‍छु ।”
25 उहाँले फेरि आफ्नो हात त्यसका आँखामा राख्‍नुभयो, र त्यस मानिसले त्यसका आँखा खोल्यो अनि त्यसको दृष्‍टि पुनः प्राप्‍त भयो र त्यसले सबै थोक स्पष्‍टसँग देख्यो ।
26 येशूले त्यसलाई त्यसको घर पठाउनुभयो र भन्‍नुभयो, “त्यस सहरमा नपस ।”
मर्कूस 8 in पवित्र बाइबल