11 तिनीहरूले उहाँका कामहरू, उहाँले तिनीहरूलाई प्रकट गर्नुभएको अचम्मका कुराहरूलाई बिर्से ।
12 मिश्र देशमा, सोअनको देशमा तिनीहरूका पुर्खाहरूका दृष्टिमा उहाँले गर्नुभएको चमत्कारिक कुराहरूलाई तिनीहरूले बिर्से ।
13 उहाँले समुद्रलाई दुई भाग पार्नुभयो र तिनीहरूलाई त्यसको पारिपट्टि लानुभयो । उहाँले पानीलाई पर्खालहरूझैं खडा गर्नुभयो ।
14 दिनको समयमा बादलले र रातभरि आगोको प्रकाशले उहाँले तिनीहरूलाई डोर्याउनुभयो ।
15 उहाँले उजाडस्थानको चट्टा चिर्नुभयो र समुद्रको गहिराइ भर्न प्रशस्त हुने पानी उहाँले तिनीहरूलाई दिनुभयो ।
16 चट्टानबाट उहाँले खोलाहरू बगाउनुभयो र पानीलाई नदीहरूझैं बगाउनुभयो ।
17 तापनि तिनीहरूले उजाड-स्थानमा सर्वोच्चको विरुद्धमा विद्रोह गरेर उहाँको विरुद्धमा पाप गरिरहे ।
18 आफ्नो भोक मेटाउनलाई खाना मागेर आफ्ना हृदयहरूले तिनीहरूले परमेश्वरलाई चुनौति दिए ।
19 तिनीहरू परमेश्वरको विरुद्धमा बोले । तिनीहरूले भने, “परमेश्वरले हामीलाई उजाड-स्थानमा साँच्चै नै खाना खुवाउन सक्नुहुन्छ र?
20 हेर, उहाँले चट्टानलाई प्रहार गर्नुहुँदा, पानी निस्कियो र नदीहरू बगे । तर के उहाँले रोटी पनि दिन सक्नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूलाई मासु दिनुहुनेछ ?”
21 जब परमप्रभुले यो सुन्नुभयो, तब उहाँ रिसाउनुभयो । त्यसैले उहाँको आगो याकूबको विरुद्ध दन्क्यो र उहाँको रिसले इस्राएललाई आक्रमण गर्यो,
22 किनभने तिनीहरूले परमेश्वरमा विश्वास गरेनन् र उहाँको उद्धारमा भरोसा गरेनन् ।
23 तापनि उहाँले माथिका आकाशलाई आज्ञा गर्नुभयो र आकाशका ढोकाहरू खोल्नुभयो ।
24 तिनीहरूलाई खानलाई उहाँले मन्न बर्साउनुभयो, र उहाँले तिनीहरूलाई स्वर्गको अन्न दिनुभयो ।
25 मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए । तिनीहरूलाई उहाँले प्रशस्त गरी खाना पठाउनुभयो ।
26 उहाँले आकाशमा पूर्वी बतास चलाउनुभयो र दक्षिणी बतासलाई आफ्नो शक्तिले उहाँले डोर्याउनुभयो ।
27 धूलोझैं उहाँले तिनीहरूमाथि मासु, समुद्रको बालुवाझैं चराहरू बर्साउनुभयो ।
28 तिनीहरूका शिविरको बिचमा, तिनीहरूका पालहरूको चारैतिर ती झरे ।
29 त्यसैले तिनीहरूले खाए र अघाए । तिनीहरूले जे लालसा गरे सो उहाँले तिनीहरूलाई दिनुभयो ।
30 तर तिनीहरू अझै अघाएका थिएनन् । तिनीहरूको खाना अझै तिनीहरूको मुखमै थियो ।
31 तब परमेश्वरको क्रोध तिनीहरूमाथि पर्यो र तिमध्येका बलियाहरूलाई मार्यो । उहाँले इस्राएलका जवानहरूलाई तल झार्नुभयो ।
32 यति हुँदा पनि, तिनीहरूले निरन्तर पाप गरे र उहाँका अचम्मका कामहरूमा विश्वास गरेनन् ।
33 यसकारण परमेश्वरले तिनीहरूका दिनहरू घटाउनुभयो । तिनीहरूका वर्षहरू त्रासले भरिएका थिए ।