1 हे परमेश्वर, मेरो प्रार्थनामा कान थाप्नुहोस् । मेरो बिन्तीबाट आफूलाई नलुकाउनुहोस् ।
2 मलाई ध्यान दिनुहोस् र मलाई जवाफ दिनुहोस् । मेरो कष्टमा मलाई विश्रम हुँदैन ।
3 मेरा शत्रुहरूका आवाजको कारणले, दुष्टहरूका थिचोमिचोका कारणले । किनकि तिनीहरूले ममाथि कष्ट ल्याउँछन् र रिसमा मलाई सताउँछन् ।
4 मेरो हृदय मभित्र काम्छ र मृत्युका त्रासहरू ममाथि परेका छन् ।
5 डर र कम्पन ममाथि आइपरेको छ र त्रासले मलाई व्याकुल बनाएको छ ।
6 मैले भनें, “मसित ढुकुरका जस्ता पखेटाहरू भए त! तब म उडेर जाने र विश्रम लिने थिएँ ।
7 हेर्नुहोस्, तब म टाढा जाने थिएँ । म उजाड-स्थानमा बस्ने थिएँ । सेला
8 आँधी र हुरीबाट बच्न हतार गरेर म शरणस्थाणमा जाने थिएँ ।”
9 हे परमप्रभु, तिनीहरूलाई भस्म पार्नुहोस् । तिनीहरूको भाषा खल्बल्याउनुहोस् ! किनकि मैले सहरमा हिंसा र कलह देखेको छु ।
10 दिनरात तिनीहरू पर्खालहरूमा चढेर घुम्छन् । अधर्म र हानि यसको माझमा छन् ।
11 यसको बिचमा दुष्टता छ । थिचोमिचो र छलले यसका गल्लीहरूलाई छोड्दैनन् ।
12 किनकि मलाई हप्काउने शत्रु थिएन, तब म त्यो सहनेथिएँ । न त मेरो विरुद्ध उठ्ने मलाई घृणा गर्ने व्यक्ति नै थियो, तब म त्यसबाट लुक्नेथिएँ ।
13 तर यो त त्यही, म समानको मानिस, मेरो मित्र र मेरो घनिष्ठ साथी थियो ।
14 हामीले एकसाथ मीठो सङ्गति गर्थ्यौं । भीडको साथमा हामी परमेश्वरको भवनमा जान्थ्यौं ।