98 तपाईंका आज्ञाहरूले मलाई आफ्ना शत्रुहरूभन्दा बुद्धिमान् बनाउँछन्, किनकि तपाईंका आज्ञाहरू सधैं मसँग छन् ।
99 मेरा शिक्षकहरूभन्दा मसँग धेरै सुझबुझ छ, किनकि तपाईंको करारका आदेशहरूमा नै म ध्यान गर्छु ।
100 मभन्दा पाकाहरूभन्दा धेरै म बुझ्छु । मैले तपाईंका सुझावहरू पालन गरेको हुनाले नै यसो भएको हो ।
101 हरेक खराब मार्गबाट मैले आफ्ना खुट्टाहरूलाई पछि राखेको छु ताकि म तपाईंको वचन पालन गर्न सकूँ ।
102 तपाईंका धार्मिक आदेशहरूबाट फर्केको छैन, किनकि तपाईंले मलाई सिकाउनुभएको छ ।
103 तपाईंका वचनहरू मेरो जिब्रोमा कति स्वदिला छन् । हो, मेरो मुखमा महभन्दा पनि गुलिया छन्!
104 तपाईंका सुझावहरूद्वारा म विवेक पाउँछु, यसकारण हरेक झुटो मार्गलाई म घृणा गर्छु ।
105 तपाईंका वचन मेरा पाउको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो ।
106 मैले शपथ खाएको छु र पक्का गरेको छु, ताकि म तपाईंका धार्मिक आदेशहरू पालन गर्नेछु
107 म धेरै कष्टमा परेको छु । हे परमप्रभु, मलाई जीवित राख्नुहोस्, जस्तो तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गर्नुभएको छ ।
108 हे परमप्रभु, मेरो मुखको स्वेच्छा बलि ग्रहण गर्नुहोस् र मलाई तपाईंका धार्मिक आदेशहरू सिकाउनुहोस् ।
109 मेरो जीवन सधैं मेरो हातमा छ, तापनि म तपाईंको व्यवस्था बिर्सिन्न ।
110 दुष्टहरूले मेरो निम्ति पासो थापेका छन्, तर म तपाईंका सुझावहरूबाट टाढा गएको छैन ।
111 तपाईंका करारका आदेशहरूलाई सदासर्वदा म आफ्नो पैतृक अंशको रूपमा दाबी गर्छु, किनकि ति मेरो हृदयको आनन्द हुन् ।
112 सदासर्वदा अन्त्यसम्म नै मेरो हृदय तपाईंका विधिहरू पालन गर्न समर्पित छ ।
113 दोहोरो मन भएकाहरूलाई म घृणा गर्छु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्छु ।
114 तपाईं मेरो लुक्ने ठाउँ र ढाल हुनुहुन्छ । तपाईंको वचनमा म आसा गर्छु ।
115 हे दुष्ट काम गर्नेहरू हो, मबाट टाढा होओ, ताकि म आफ्नो परमेश्वरका आज्ञाहरू पालन गर्न सकूँ ।
116 मलाई तपाईंको वचनद्वारा सम्हाल्नुहोस् ताकि म जिउन सकूँ र मेरो आसामा लज्जित हुनु नपरोस् ।
117 मलाई सहायता गर्नुहोस् र म सुरक्षित हुनेछु । म सधैं तपाईंका विधिहरूमा ध्यान गर्नेछु ।
118 तपाईंका विधिहरूबाट टाढा जानेहरू सबैलाई तपाईंले इन्कार गर्नुहुन्छ, किनकि ती मानिसहरू छली र अविश्वासनीय छन् ।
119 तपाईंले दुष्टहरूलाई फोहोरझैं हटाउनुहुनेछ । यसकारण म तपाईंका गहन आज्ञाहरूलाई प्रेम गर्छु ।
120 तपाईंको भयले मेरो शरीर थरथर हुन्छ र तपाईंका धार्मिक आदेशहरूको डर मलाई हुन्छ ।