122 तपाईंको सेवकको भलाइ गर्ने जिम्मा लिनुहोस् । घमण्डीहरूले मलाई थिचोमिचो नगरून् ।
123 तपाईंको उद्धारको निम्ति र तपाईंको धार्मिक वचनको निम्ति म पर्खिंदा मेरा आँखाहरू थकित हुन्छन् ।
124 तपाईंको सेवकलाई आफ्नो करारको विश्वस्तता देखाउनुहोस् र तपाईंका विधिहरू मलाई सिकाउनुहोस् ।
125 म तपाईंको सेवक हुँ । मलाई सुझबुझ दिनुहोस् ताकि तपाईंको करारका आदेशहरू म जान्न सकूँ ।
126 यो परमप्रभुले काम गर्ने समय हो, किनकि मानिसहरूले तपाईंको व्यवस्था भङ्ग गरेका छन् ।
127 साँच्चै, म तपाईंका आज्ञाहरूलाई सुन वा निख्खुर सुनभन्दा धेरै प्रेम गर्छु ।
128 यसकारण, तपाईंका सबै सुझावहरूलाई म सावधान भएर अनुसरण गर्छु र झुटका हरेक मार्गलाई म घृणा गर्छु ।
129 तपाईंका नियमहरू अचम्मका छन् । त्यसैले म तिनलाई पालन गर्छु ।
130 तपाईंका वचनहरूको व्याख्याले ज्योति दिन्छ । यसले तालिम नभएकाहरूलाई सुझबुझ दिन्छ ।
131 म आफ्नो मुख खोल्छु र तिर्खाउँछु, किनकि तपाईंका आज्ञाहरूको उत्कट इच्छा म गर्छु ।
132 तपाईंको नाउँ प्रेम गर्नेहरूलाई तपाईंले सधैं गर्नुभएझैं मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस् ।
133 तपाईंको वचनले मेरा पाइलाहरूलाई बाटो देखाउनुहोस् । कुनै पापले ममाथि राज्य गर्न नदिनुहोस् ।
134 मलाई मानिसको थिचोमिचोबाट बचाउनुहोस् ताकि तपाईंका सुझावहरू म पालन गर्न सकूँ ।
135 तपाईंको सेवकमाथि तपाईंको मुहार चम्काउनुहोस् र मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
136 मेरा आँखाहरूबाट आँसुका बलिन्द्र धारा बग्छन् किनभने मानिसहरूले तपाईंको व्यवस्था पालन गर्दैनन् ।
137 हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ र तपाईंका आदेशहरू निष्पक्ष छन् ।
138 तपाईंले आफ्नो करारका आदेशहरू धार्मिक रूपमा र विश्वस्ततासाथ दिनुभएको छ ।
139 रिसले मलाई नष्ट पारेको छ किनभने मेरा वैरीहरूले तपाईंका वचनहरू बिर्सिन्छन् ।
140 तपाईंका वचनलाई धेरै जाँचिएका छ र तपाईंको सेवकले यसलाई प्रेम गर्छ ।
141 म तुच्छ र घृणित छु, तापनि तपाईंको सुझावहरूलाई म बिर्सिन्न ।
142 तपाईंको न्याय सदासर्वदा ठिक हुन्छ र तपाईंको व्यवस्था भरपर्दो छ ।
143 संकष्ट र क्लेशले मलाई भेट्टाएको भए पनि, तपाईंका आज्ञाहरू अझै मेरो आनन्द नै हुन् ।
144 तपाईंको करारका आदेशहरू सदासर्वदा धार्मिक छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म जीवित रहन सकूँ ।
145 मैले आफ्नो सम्पूर्ण हृदयले पुकारा गरें, “हे परमप्रभु, मलाई जवाफ दिनुहोस् । म तपाईंका विधिहरू पालन गर्नेछु ।
146 म तपाईंलाई पुकारा गर्छु । मलाई बचाउनुहोस् र म तपाईंका करारका आदेशहरू पालन गर्नेछु ।”
147 बिहान झिसमिसे हुनु अगाडि नै म उठ्छु र सहायताको निम्ति पुकारा गर्छु । तपाईंको वचनमा म आसा गर्छु ।
148 रातका पहरहरू बद्लिनुअगि नै मेरा आँखाहरू खुला हुन्छन् ताकि म तपाईंको वचनमा ध्यान गर्न सकूँ ।
149 तपाईंको करारको विश्वस्ततामा मेरो सोर सुन्नुहोस् । हे परमप्रभु, मलाई जीवित राख्नुहोस्, जस्तो तपाईंले आफ्नो धार्मिक आदेशहरूमा प्रतिज्ञा गर्नुभएको छ ।
150 मेरो सतावट गर्नेहरू मेरो नजिक आइरहेका छन्, तर तिनीहरू तपाईंको व्यवस्थाबाट धेरै टाढा छन् ।
151 हे परमप्रभु, तपाईं नजिक हुनुहुन्छ र तपाईंका सबै आज्ञा भरपर्दा छन् ।
152 धेरै अघि नै तपाईंका करारका आदेशहरूबाट मैले सिकें जसलाई सदासर्वदा रहोस् भनेर तपाईंले स्थापित गर्नुभएको थियो ।