12 तिनीहरू सबै जना चकित र जिल्ल परेर तिनीहरूले एकअर्कालाई भने, “यसको तात्पर्य के हो ?”
13 तर अरूले चाहिँ गिज्याए र भने, “तिनीहरू नयाँ मद्यले टन्न भएका छन् ।”
14 तर पत्रुस एघार जनासँगै खडा भएर उच्च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरो कुरा ध्यान दिएर सुन्नुहोस् ।
15 किनभने तपाईंहरूले ठान्नुभएजस्तो यी मानिसहरू मातेका छैनन्, कारण अहिले दिनको तेस्रो प्रहर मात्र भएको छ ।
16 तर अगमवक्ता योएलद्वारा यो कुरा बोलिएको छः
17 ‘परमेश्वर भन्नुहुन्छ, “अन्त्यका दिनहरूमा यस्तो हुनेछ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु, तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्नेछन् ।
18 ती दिनहरूमा मेरा दास र दासीहरूमाथि म मेरो आत्मा खन्याउनेछु र तिनीहरूले अगमवाणी बोल्नेछन् ।
19 म माथि स्वर्गमा अचम्मका कुराहरू र तल पृथ्वीमा रगत, आगो, र धुवाँको मुस्लोका चिन्हहरू देखाउनेछु ।
20 परमप्रभुको महान् र असाधारण दिन आउनअगि सूर्य अँध्यारोमा र चन्द्रमा रगतमा परिणत हुनेछ ।
21 यस्तो हुनेछ कि परमेश्वरको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ ।
22 हे इस्राएलका मानिसहरू हो, यी वचनहरू सुन्नुहोस्∶ परमेश्वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्छ भन्ने कुरा तपाईंहरूलाई थाहै छ ।
23 परमेश्वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो, र तपाईं अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो र मारिनुभयो ।
24 उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन ।
25 किनभने दाऊदले उहाँको बारेमा भनेकाछन्, ‘परमप्रभुलाई मैले सधैँ मेरो मुहार अगाडि देखेँ । उहाँ मेरो दाहिने हात नजिक हुनुहुन्छ, यसकारण म नडगमगाउनु पर्दैन ।
26 यसकारण मेरो हृदय आनन्दित थियो र मेरो जिब्रोले आनन्द मनायो । मेरो शरीरले पनि दृढतामा वास गर्नेछ ।
27 किनभने तपाईंले मेरो प्राणलाई पातालमा त्याग्नुहुनेछैन न त तपाईंले तपाईंका पवित्रजनलाई कुहिन दिनुहुनेछ ।
28 तपाईंले मलाई जीवनका मार्गहरू प्रकट गर्नुभयो । तपाईंले आफ्नो मुहारले मलाई खुसीले भरिपूर्ण बनाउनुहुनेछ ।