3 पावल तिनीहरूसँगै बसे र काम गरे किनकि उनीहरूको पेसा मिल्दथ्यो । तिनीहरूले पाल बनाउँथे ।
4 तब पावल हरेक सबाथ-दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवै समुदायका मानिसहरूसँग बहस गर्न थाले ।
5 तर जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावललाई पवित्र आत्माले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा यहूदीहरूलाई बताउन लगाउनु भयो ।
6 तर जब यहूदीहरूले पावलको विरोध गरे, तब आफ्नो कपडा टकटक्याउँदै पावलले तिनीहरूलाई यसो भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म अन्यजातिहरूकहाँ जानेछु ।”
7 तब उनी त्यो ठाउँ छाडेर तीतस युस्तसको घरमा गए जसले परमेश्वरको आराधना गर्दथे । उनको घर सभाघरको छेउमा पर्दथ्यो ।
8 सभाघरका अगुवा क्रिस्पस र तिनका सारा परिवारले प्रभुमा विश्वास गरे । पावलका कुरा सुन्ने कोरिन्थका धेरै मानिसहरूले विश्वास गरे र बप्तिस्मा लिए ।
9 राति दर्शनमा प्रभुले पावललाई भन्नुभयो, “नडराऊ, तर बोल र चुप नलाग ।
10 किनकि म तिमीसँग छु र तिमीलाई कसैले हानि गर्न सक्नेछैन किनकि यस सहरमा मेरा थुप्रै मानिसहरू छन् ।”
11 त्यस ठाउँमा पावल एक वर्ष छ महिनासम्म बसे र तिनीहरूका बिचमा परमेश्वरको वचन सिकाए ।
12 तर जब गालियो अखैयाका शासक बने तब यहूदीहरू एक भई पावलको विरुद्धमा उठे र फैसला गर्न पावललाई न्याय आसनको सामु ल्याए ।
13 तिनीहरूले भने, “यस मानिसले व्यवस्थाको विपरित परमेश्वरको आराधना गर्न लगाउँछ ।”
14 तर जब पावलले बोल्नै लागेका थिए, गालियोले यहूदीहरूलाई भने, “तिमी यहूदीहरू; यदि यो कुनै गल्ति वा अपराधको विषय भएको भए यस विषयमा तिमीहरूसँग बोल्नु तर्कपूर्ण नै हुने थियो ।
15 तर यी शब्दहरू र नाउँहरू त तिमीहरूका आफ्नै व्यवस्थासँग सम्बन्धित विषयमा भएकाले तिमीहरू आफैँ मिलाऊ । यी विषयहरूमा म न्याय गर्न चाहन्नँ ।”