Text copied!
Bibles in Nepali (individual language)

प्रेरित 17:7-31 in Nepali (individual language)

Help us?

प्रेरित 17:7-31 in पवित्र बाइबल

7 यासोनले स्वागत गरेका यी मानिसहरूले कैसरको आदेश विपरित काम गर्छन् र भन्छन्, “येशू भन्‍ने अर्को एकजना राजा पनि छन् ।”
8 यी कुराहरू सुनेर मानिसहरूका भिड र सहरका हाकिमहरू आत्तिए ।
9 तिनीहरूले यासोन र अरू भाइहरूबाट जरिवानाको रकम लिइसकेपछि उनीहरूलाई जान दिए ।
10 त्यही रात भाइहरूले पावल र सिलासलाई बेरियामा पठाइदिए । त्यहाँ आइपुगेपछि उनीहरू यहूदीहरूको सभाघरमा पसे ।
11 थेसलोनिकेमा भएका मानिसहरूभन्दा यहाँका मानिसहरू असल थिए किनभने यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्‍त्रबाट जाँच्दै खुल्ला रूपमा परमेश्‍वरको वचनलाई ग्रहण गर्थे ।
12 यसकारण तिनीहरूमध्ये केही प्रभावशाली ग्रीक स्‍त्रीहरू लगायत धेरै पुरुषहरूले प्रभुमा विश्‍वास गरे ।
13 तर जब पावलले परमेश्‍वरको वचन बेरियामा पनि घोषणा गर्दैछन् भनी थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तिनीहरू त्यहाँ गएर भिडहरूलाई उक्साए र खलबल मच्‍चाउन लगाए ।
14 त्यसपछि भाइहरूले पावललाई तुरुन्तै समुद्रतिर पठाइदिए, तर सिलास र तिमोथी त्यहीँ बसे ।
15 पावललाई डोर्‍याइरहेका मानिसहरूले उनलाई एथेन्स सहरसम्म लगे । पावललाई त्यहाँ छोडेर फर्कंदा पावलले तिनीहरूसँग सिलास र तिमोथीलाई जति सक्दो छिट्टो उनीकहाँ आउनू भन्‍ने निर्देशन दिएर पठाए ।
16 पावलले सिलास र तिमोथीलाई एथेन्समा पर्खंदै गर्दा, त्यो सहर मूर्ती नै मूर्तीले भरिएको देखेर उनको आत्मा उनीभित्र वेचैन भयो ।
17 यसैकारण उनले यहूदीहरू र परमेश्‍वरको आराधना गर्नेहरूसँग सभाघरहरूमा र बजारमा दिनहुँ भेटिने मानिसहरूसँग पनि यसको बारेमा बहस गरे ।
18 तर त्यहाँ कतिजना एपिक्युरी र स्तोइकी दार्शनिकहरूसँग पनि उनको विवाद भयो । र केहीले यसो भने, “यो बकबकेले के भन्‍न खोज्दैछ ?” अरूहरूले भने, “ऊ त विदेशी देवताहरूको प्रचारक जस्तो देखिन्छ ।” किनभने उनले येशू र उहाँको पुनरुत्थानको बारेमा प्रचार गर्दै थिए ।
19 तिनीहरूले पावललाई अरिओपागसमा ल्याए, र उनलाई सोधे, “के हामी तपाईंले बताइरहनुभएको नयाँ शिक्षाको बारेमा जान्‍न सक्छौँ ?
20 किनभने तपाईंले केही अनौठा कुराहरू हाम्रो कानमा ल्याउँदै हुनुहुन्छ । त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्‍न चाहन्छौँ ।”
21 (अब सबै एथेन्सबासीहरू र त्यहाँ बस्‍ने परदेशीहरूले अरूलाई नयाँ कुराहरू बताउने र नयाँ कुराहरूको बारेमा सुन्‍ने बाहेक अन्य केही कुरामा समय बिताउँदैनथे । )
22 त्यसैले पावल अरिओपागसको बिचमा उभिए र यसो भने, “एथेन्सबासी हो, तपाईंहरू हरेक क्षेत्रमा धार्मिक हुनुहुन्छ भन्‍ने कुरा मैले देखेँ ।
23 किनिक यहाँ हिँड्दै गर्दा मैले तपाईंहरूले पुज्‍ने वस्तुहरू देखेँ । मैले यस्तो एउटा वेदी पनि देखेँ, जसमा ʻअज्ञात ईश्‍वरका निम्तिʼ भन्‍ने कुँदिएको थियो । यसकारण जसलाई तपाईंहरूले नजानिकन पुज्‍नुहुन्छ, तिनै ईश्‍वरको बारेमा म तपाईंहरूलाई बताउँछु ।
24 परमेश्‍वर जसले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको कारण उहाँ मानिसका हातहरूले बनाएका मन्दिरहरूमा बस्‍नुहुन्‍न ।
25 न त उहाँलाई केही कुराको खाँचो परेजस्तै मानिसका हातद्वारा सेवा गरिनुपर्छ, किनकि उहाँले नै मानिसहरूलाई जीवन, सास र सबै थोक दिनुहुन्छ ।
26 उहाँले एउटा मानिसबाट पृथ्वीमा रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू र तिनीहरू बस्‍ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो ।
27 यसैकारण उनीहरूले तिनै परमेश्‍वरलाई खोजून् र सायद तिनीहरूले उहाँलाई खोजेर पाउनेछन् । वास्तवमा उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न ।
28 किनकि हामी उहाँमा नै जिउँछौँ र हिँडडुल गर्छौं र उहाँमै हाम्रो अस्तित्व छ, जसरी तपाईंहरूका आफ्नै कविहरूले भनेका छन्: ʻकिनकि हामीहरू पनि उहाँकै सन्तान हौँ ।ʼ
29 यसकारण हामी परमेश्‍वरका सन्तान भएका हुनाले परमेश्‍वरलाई मानिसको कला वा विचारअनुसार सुन वा चाँदी वा ढुङ्गाबाट खोपेर बनाइएको चीज हो भनी ठान्‍नु हुँदैन ।
30 यसकारण परमेश्‍वरले पहिलेको अज्ञानताको समयलाई ध्यान दिनुभएन, तर अहिले परमेश्‍वरले सबै ठाउँका सारा मानिसहरूलाई आफ्नो पापको पश्‍चात्ताप गर्ने आज्ञा गर्नुहुन्छ ।
31 किनभने उहाँले एक दिन निश्‍चित गर्नुभएको छ, जुन दिन आफूले चुन्‍नु भएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई यी मानिसको बारेमा प्रमाण दिनुभएको छ ।”
प्रेरित 17 in पवित्र बाइबल