2 जब पावल र बारनाबासको तिनीहरूसँग विरोध र विवाद भयो तब यस प्रश्नलाई लिएर पावल, बारनाबास र अरू केही मानिस यरूशलेममा प्रेरित र एल्डरहरूकहाँ जानुपर्छ भनी भाइहरूले निर्णय गरे ।
3 त्यसकारण उनीहरू मण्डलीद्वारा पठाइए अनि फोनिसिया र सामरिया भएर गए र गैरयहूदीहरू विश्वासमा आएका कुरा घोषणा गरे । उनीहरूले सबै दाजुभाइहरूमा ठुलो आनन्द ल्याए ।
4 जब उनीहरू यरूशलेममा आए, उनीहरूलाई मण्डली, प्रेरितहरू र एल्डरहरूद्वारा स्वागत गरियो, र यसरी उनीहरूसँग परमेश्वरले गर्नुभएका सबै कामहरूको प्रतिवेदन उनीहरूलाई सुनाए ।
5 फरिसी दलबाट विश्वास गरेका केही मानिसहरू उठे र भने, “तिनीहरूलाई खतना गर्न र मोशाको व्यवस्था पालन गर्न आज्ञा दिनु आवश्यक छ ।”
6 त्यसैले यस विषयमा विचार गर्न प्रेरितहरू र एल्डरहरू भेला भए ।
7 धेरै छलफलपछि, पत्रुस उठे र तिनीहरूलाई भने, “भाइहरू, केही समय अगाडि परमेश्वरले तपाईंहरूको माझमा गर्नुभएको एउटा छनौट तपाईंहरूलाई थाहै छ कि मेरो मुखद्वारा गैरयहूदीहरूले सुसमाचारको वचन सुन्न सकून् र विश्वास गरून् ।
8 मानिसहरूका हृदय जान्नुहुने परमेश्वरले हामीलाई जस्तै तिनीहरूलाई पवित्र आत्मा दिएर तिनीहरूलाई गवाही दिनुहुन्छ ।
9 विश्वासद्वारा तिनीहरूका हृदय शुद्ध गर्नुभएर उहाँले हामीहरू र तिनीहरूका बिचमा कुनै भेदभाव गर्नुभएन ।
10 अब यसकारण हाम्रा पिताहरूले र हामीहरूले बोक्न नसकेको जुवा चेलाहरूको घाँटीमा राख्नैपर्छ भनी तपाईंहरू किन परमेश्वरको परीक्षा गर्नुहुन्छ ?