Text copied!
Bibles in Nepali (individual language)

प्रेरित 10:23-48 in Nepali (individual language)

Help us?

प्रेरित 10:23-48 in पवित्र बाइबल

23 त्यसैले, पत्रुसले तिनीहरूलाई भित्र आई तिनी र तिनका मानिसहरूसित बस्‍न निमन्‍त्रणा दिए । भोलिपल्‍ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए । योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे ।
24 अर्को दिन तिनीहरू कैसरिया आइपुगे । कर्नेलियसले तिनीहरूको प्रतीक्षा गर्दै थिए । तिनले आफ्ना नातेदारहरूसाथै घनिष्‍ठ मित्रहरूलाई पनि बोलाएका थिए ।
25 पत्रुस भित्र पसेपछि कर्नेलियसले तिनलाई स्वागत गरे र तिनको सम्मान गर्दै तिनले दण्डवत् गरे ।
26 तर पत्रुसले तिनलाई उठाएर भने, “उठ्नुहोस् । म आफैँ पनि केवल मानिस हुँ ।”
27 पत्रुस तिनीसित बातचित गरिरहँदा तिनी भित्र प्रवेश गरे र धेरै मानिसहरू जम्मा भएका देखे ।
28 पत्रुसले तिनीहरूलाई भने, “तपाईंहरूलाई थाहा छ कि एउटा यहूदीले अर्को जातिका मानिसहरूसित सङ्गत गर्नु वा तिनीहरूलाई भेटघाट गर्नु अनुचित कार्य हो । तर मैले कुनै पनि मानिसलाई अशुद्ध वा अपवित्र भन्‍नु हुँदैन भनी परमेश्‍वरले मलाई देखाउनुभएको छ ।
29 त्यसकारण, मलाई बोलाइँदा म गनगन नगरीकन आएँ । तपाईंहरूले मलाई किन बोलाउनुभएको ?”
30 कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा दिउँसो तिन बजे प्रार्थना गरिरहँदा सेतो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए ।
31 तिनले भने, ‘हे कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानको सम्झना गर्नुभएको छ ।
32 त्यसैले, कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् जुन समुद्रको छेउमा पर्छ ।’
33 त्यसैले, तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं गनगन नगरीकन आइदिनुभयो । अब परमप्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्‍न हामी सबै यहाँ परमेश्‍वरको उपस्थितिमा छौँ ।”
34 तब पत्रुसले आफ्नो मुख खोलेर भनेः “साँच्‍चै म जान्दछु कि परमेश्‍वरले कसैको पक्षपात गर्नुहुन्‍न ।
35 बरु, हरेक जातिमा उहाँको आराधना गर्ने र धार्मिक कामहरू गर्ने व्यक्ति उहाँको अगि स्वीकारयोग्य हुन्छ ।
36 परमेश्‍वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै छ । उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्‍टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो ।
37 यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्मापश्‍चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ ।
38 ती घटनाहरू नासरतका येशूको बारेमा हुन् जसलाई परमेश्‍वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभएको थियो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्‍वर उहाँसित हुनुहुन्थ्यो ।
39 यहूदीहरूको देश र यरूशलेम दुवैमा उहाँले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौँ । यही येशूलाई तिनीहरूले काठमा झुण्ड्याएर मारे ।
40 परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र प्रकट गराउनुभयो,
41 सबैकहाँ होइन तर परमेश्‍वरले पहिले नै छान्‍नुभएका साक्षीहरूकहाँ । हामी नै ती साक्षीहरू हौँ जसले उहाँ मृतकहरूबाट बौरी उठ्नुभएपछि उहाँसँगै खायौँ र पियौँ ।
42 परमेश्‍वरले उहाँलाई नै जिउँदा र मरेकाहरूको न्यायकर्ता हुन चुन्‍नुभएको छ भनी मानिसहरूलाई प्रचार गर्न र गवाही दिन उहाँले हामीलाई आज्ञा दिनुभयो ।
43 सबै अगमवक्‍ताहरूले उहाँको गवाही दिएका छन् ताकि उहाँमाथि विश्‍वास गर्ने हरेकले उहाँको नाउँद्वारा पापको क्षमा पाओस् ।”
44 पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्‍नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो ।
45 पत्रुससँगै आएका यहूदी विश्‍वासीहरू छक्‍क परे किनकि पवित्र आत्माको वरदान अन्यजातिहरूलाई पनि दिइएको थियो ।
46 किनभने तिनीहरूले यी अन्यजातिहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्‍वरको प्रशंसा गरेका सुने । तब पत्रुसले जवाफ दिए,
47 “हामीले जस्तै पवित्र आत्मा प्राप्‍त गर्ने यी मानिसहरूलाई पानीको बप्‍तिस्मा लिनदेखि कसैले रोक्‍न सक्छ ?”
48 तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिनू भन्‍ने आज्ञा दिए । तिनीहरूले तिनलाई केही दिन तिनीहरूसँगै बस्‍न अनुरोध गरे ।
प्रेरित 10 in पवित्र बाइबल